नेकपा सचिवालय बैठक भोलि बस्दै, समसामयिक विषयमा छलफल गरिने

नेकपा सचिवालय बैठक भोलि बस्दै, समसामयिक विषयमा छलफल गरिने


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठक भोलि (सोमबार) बस्न लागेको हो । पार्टीभित्र देखिएको विवाद साम्य पार्न भन्दै शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा पौडेल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्यद्वय भीम रावल, सुरेन्द्र पाण्डे, पम्पा भुसाल र जनार्दन शर्मा रहेका छ ।

दुई अध्यक्षको सहमतिमा मात्र कार्यदल गठन गरिएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् । सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीलाई बाइ पास गरी गठन गरिएको कार्यदल आफूहरुलाई मान्य नहुने उनीहरुको चेतावनी छ । कार्यदल गठन गरिएपछि शीर्ष तीन नेताहरुले सचिवालय बैठक बोलाउन माग गरेका थिए । शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका वरिष्ठ नेता खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बस्नुपर्ने माग गरेका हुन् ।

शीर्ष नेताहरुको मागअनुसार सोमबार बिहानका लागि सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । पार्टीभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय बैठक बस्नु पर्ने उनीहरूको तर्क छ ।

गत साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन । साउन ३ गतेको बैठकमा आगामी मंसिरमा अर्लि महाधिवेशन गर्न प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई अर्का कार्यकारी अध्यक्ष प्रचण्डले सकारात्मक रुपमा लिएका थिए । पछि भने प्रचण्डले मंसिरमै अर्लि महाधिवेशन गर्न सम्भव नभएकाले आफू त्यस्को पक्षमा नरहेको अभिव्यक्ति दिएका थिए । साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेका थिए । पछि ओली पक्षको सहभागिता बिना नै बैठक सञ्चालन गरिएको थियो । बैठकले स्थगित स्थायी कमिटी बैठकको मिति तय गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो ।

१३ गतेको बैठकमा २९ जना स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागि भएका थिए । एकलौटी रुपमा बैठक स्थगित गर्ने ओली पक्षको निर्णय विधि सम्मत नभएको ठहर समेत बैठकले गरेको थियो । जुन बैठकलाई दाहाल–नेपाल पक्षका नेता तथा कार्यकर्ताहरुले बहुमत स्थायी कमिटी सदस्यको बैठक भन्दै आएका छन् भने ओली पक्षका नेता तथा कार्यकर्ताले खुमलटार, बालुवाटार र कोटेश्वरमा बस्ने जस्तै कोठे बैठकको संज्ञा दिँदै आएका छन् ।

गत शुक्रबार दुई अध्यक्षको सहमतिमा कार्यदल गठन भएपछि नेकपा विवाद साम्य हुने अपेक्षा गरिएको छ । नव गठित कार्यदलको पहिलो दिनको बैठक शनिबार बसेको थियो । पहिलो दिनको बैठकमा अनौपचारिक छलफल भएको थियो । कार्यदलको दोस्रो दिनको बैठक आज पनि बसेको छ ।

Logo