७४ वर्षीय महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

एजेन्सी । भारतमा एक ७४ वर्षीया महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छन् । भारतको हैदरावदमा आन्ध्र प्रदेशकी ७४ वर्षीया मंगायम्मा रावले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।

७४ वर्षीया श्रीमतीले जुम्ल्याहा सन्तानलाई जन्म दिएपछि श्रीमान वाइ राजा राव र उनको परिवार निकै खुसी भएको छ । विवाहको ५४ वर्षसम्म बच्चा नभएपछि दुवै जनाले अनेक उपायको खोजी गरेका थिए ।

लामो समयको प्रतिक्षापछि अन्त्यमा आइवीएफको सहायता लिन उनीहरु हैदरावाद पुगे । दुवैजनाले अघिल्लो वर्ष आइवीएफ विशेषज्ञको सहायताका लागि सम्पर्क गरे ।

त्यसै आधारमा बिहीबार दुवै जनाका लागि एकैसाथ दुई जुम्ल्याहा बच्चा प्राप्त भएको हो । इन विट्रो फर्टिलाइजेशन आइवीएफ प्रकृयाबाट गर्भ धारण गरिएको चिकित्सकले बताएका छन् ।

चिकित्सक उमाशंकरले चार चिकित्सकको सहायतामा सिजेरियन अपरेशनको सहायतामा बच्चा बाहिर निकालिएको बताएका छन् । आमा र बच्चा तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाई छ ।