त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज बेल्ट सेवा शुभारम्भ
File Photo

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरु भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिदै जाने बताएका हुन् ।

काठमाडौँ लगायत देशभित्रका सबै विमानस्थलमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम लागू हुने जानकारी गराउँदै भट्टराईले सरकार नागरिकलाई सेवा सुविधा दिन तत्पर रहेको बताए । उनका अनुसार अब देशका आन्तरिक विमानस्थलहरूमा भौतिक संरचना एवं सेवा विस्तार गर्दै लगिनेछ ।

आजबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यसअघि यात्रु ओसार्ने गाडीको पछाडि झुन्ड्याएको कन्टेनरमा सामान ल्याइन्थ्यो । वायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउँथे । अबबाट यस्तो झन्झट हटेको छ ।