यू–१९ एसिया कपः नेपालको पहिलो हार, श्रीलंका ५ विकेटले विजयी

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । शुक्रबार आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको हो ।

१६० रनको लक्ष्य पाएको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । श्रीलंकाको जितका लागि कामिल मिशराले ५५, अहान विक्रमासिंहले ३० रन र अविस्का थरिन्दुले अविजित २५ रन बनाए ।

नेपालका लागि राशिद खानले दुई विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, पवन सर्राफ र सागर ढकालले समान १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । नेपालले ९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

खेल रोकिनुअघि आशिफ शेख सात रन र पवन सर्राफ चार रनमा आउट भएका थिए । वर्षाका कारण खेल ४२ ओभरमा छोट्याएपछि खेल पुनः सुरु भएको थियो ।

नेपालका लागि रित गौतमले ५४, कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए । रोहितपछि हरिबहादुर चौहान १२ रनमा आउट भए भने भीम सार्की एक रनमा एल्बीडब्लुमा परी आउट भए । रासिद खान भने १५ रनमा अविजित रहे । नेपालले अब आफ्नो दोस्रो खेलमा आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।