राजु गुरुङको टिप्पणी- ‘सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयो’

राजु गुरुङको टिप्पणी- ‘सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयो’


सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । शनिवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।

यसअघि यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए । तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन ।  

पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको बताए । उनले साझा उम्मेदवारलाई आगामी निर्वाचनमा जिताउन पनि मतदाताहरुसँग आग्रह गरे । 

उनले भने, ‘प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को सन्दर्भमा रुपन्देही जिल्लामा चुनावी तालमेलका लागि तय गरिएको गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीबीच भएको सहमतिका बुँदाहरु सार्वजनिक गर्नका लागि यो पत्रकार सम्मेलन आयोजना गरिएको हो । राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको छ । त्यसलाई तदारुकताका साथ कार्यान्वयनमा लैजाने निर्णय भएको छ । रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ साथै क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा र रुपन्देही जिल्ला प्रतिनिधि सभा १,३,४ र ५ मा गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरी सघाउने निर्णय भएको छ ।’

नेता गुरुङले आफ्नो उम्मेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट खारेज गरेको आरोप लगाए । उनले आफ्नो उम्मेदवारी खारेज हुनु भनेको नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको बताए । आगामी निर्वाचनमा थापालाई जिताएर नेकपा एमालेको दादागिरी रोक्ने  उनले बताए । 

उनले भने, ‘जालझेलपूर्ण ढंगबाट, षड्यन्त्रपूर्वक ढंगबाट मेरो उम्मेदवारी खारेज गरिएको छ, तथा हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवारी खारेज गरिएको छ । म फेरि दोहो-याएर भन्न चाहन्छु, नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा हो । यसलाई निस्तेज पार्नका लागि आगामी निर्वाचनमा हामीले हाम्रो साझा उम्मेदवार केशवबहादुर थापालाई साझा उम्मेदवार बनाएका छौँ । केशव सूर्यवंशीलाई जिताएर नेकपा एमालेको जुन खालको दादागिरी छ, जनतालाई पटकपटक ठग्ने कुरा छ, ढाँट्ने जुन शैली छ, त्यसलाई पराजित गर्नका निम्ति खट्नुपर्ने आवश्यकता छ । दाबी बिरोधको समय ३ बजेसम्म तोकिएको थियो, ४ बजेसम्म दाबी बिरोध छैन, साढे ४ बजेपछि आकस्मिक ढंगले एकाएक अप्रत्याशित रुपमा फ्याक्स आउँछ र ६ बजे हामीलाई बोलावट हुन्छ । आज सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनेको छ । हिजो बालुवाटार काण्डमा मुछिएका कुमार रेग्मीको इजलासबाट यो निर्णय भएको छ । ब्ल्याक लिस्टमा भएका १५३ उम्मेदवारहरु छन् । जसमध्ये १५२ जना नै होमिएका छन् ।’
 
नेता गुरुङले कर्जा सूचना केन्द्रको ब्ल्याकलिस्टमा आफ्नो नाम फेला परे जुनकुनै सजाय भोग्न आफू तयार रहेको बताए । 

Logo