रवीन्द्र मिश्रले प्रचण्डलाई दिए ‘ज्यानमारा’को संज्ञा, राजाको गाए गुणगान

रवीन्द्र मिश्रले प्रचण्डलाई दिए ‘ज्यानमारा’को संज्ञा, राजाको गाए गुणगान


राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ‘ज्यानमारा’को संज्ञा दिएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले दाहालमाथि माडीमा दिउँसै बसमा बच्चा र बृद्ध जलाएको, मुलुकमा मान्छे मारेर शासन गरेको आरोप लगाएका हुन् । उनले पृथ्वीनारायण शाहको शालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

मुलुकमा राजाको आवश्यक्ता औंल्याउँदै वरिष्ठ उपाध्यक्ष मिश्रले मान्छे मार्न हुने तर राजाले गल्ती नै गर्न नहुने ? भनि पटक पटक प्रश्न समेत गरे । उनले मुलुक भूराजनीतिको भूमरीमा पर्ने उल्लेख  गर्दै त्यसलाई जोगाउन पनि राजा र राजसंस्था मुलुकका लागि अति आवश्यक रहेको जिकीर समेत गरे । 

उनले भने, ‘मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र बृद्ध जलाउनेले त्यहीँबाट चुनाव जित्न हुने । पृथ्वीनारायण शाहको शालिक भत्काउनेले गोेरखामा गएर चुनाव जित्छु भन्न हुने । अनि, यो देशमा राजाले गल्ती गर्न नहुने ? संसारमा गल्ती नै नगर्ने राजा कहाँ छन् ? मलाई देखाउनुस् । राजा मेरो लागि चाहिएको होइन । तर यो देशका लागि राजनीति गर्ने हो भने यो देश जुन प्रकारको भूराजनीतिमा पर्दैछ । पहिला हामी अमेरिका–रुसको शीत युद्धको कुरा गथ्र्यौं । अव त्यो शीत युद्ध सरेर दक्षिण एशीयामा आउँदैछ । दुईतिर चीन र भारत उठेर आउँदैछन् । अनि, त्यसमा पश्चिमा चासो छ । र, नेपाल जहाँ, कुनै क्षयीकृत नभएको संस्था छैन । त्यो भूराजनीतिको भुमरीमा परेको देशलाई जोगाउन राजा र राजसंस्था चाहिन्छ ।’
 
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमेशर राणाले ठूला दलले मुलुकलाई दूर्गतिमा पु¥याएको भन्दै त्यसको विकल्पमा आगामी निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन आम मतदातालाई आग्रह गरे ।  राप्रपाको चुनाव चिन्ह हलो भएको र त्यसले मात्रै मुलुकको भलो गर्ने उनको भनाई थियो । 

पूर्वअध्यक्ष राणाले भने, ‘ठूलो दलको अति भो । यिनीहरुको दूर्भाग्य अव देशले भोग्न नपरोस् भनेर त्यसको तयारी गर्न राप्रपा अगाडि लम्केको छ । अव हलो आयो आयो । अगाडि बढ्यो हलो । हलोले भलो गर्छ गर्छ ।’
 
साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलले मुलुकमा लुटमात्रै मच्चाएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई आम मतदाताले जिताउनुपर्ने बताए । उनले राप्रपा काँग्रेस र कम्युनिष्टहरुलाई चुनौति दिन सक्ने शक्तिको रुपमा आएको दावी समेत गरे । 

Logo