वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु

काठमाडौं,

काठमाडौं उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा शुक्रबारदेखि शुरुआत गरेको छ ।

डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफैं खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिनुभयो । डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ ।

अस्पतालले आकस्मिक र बहिरङ्ग दुवैतर्फ आउने बिरामीको सो रोग परीक्षण हुने व्यवस्था मिलाएको छ । बिरामीको सुविधाका लागि अस्पतालले ५०० रुपैयाँमा कीटद्वारा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । वि.सं २०७५ वैशाख महीनामा धरानमा देखापरेको सो रोग हाल देशका ५० भन्दा बढी जिल्लामा देखा परिसकेको छ । यो रोग मुख्य शहर काठमाडौँ, पोखरा, विराटनगर, धरान, चितवनमा प्रकोपका रुपमा देखा परेको छ ।

एकमात्र सरुवा रोग अस्पताल टेकुमा डेङ्गुको आशङ्कामा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीको सङ्ख्या दैनिकरुपमा अत्यधिक वृद्धि भएको छ । बिहीबार मात्र करीब ४०० को स्वास्थ्य परीक्षण गर्दा १२३ जनामा डेङ्गु रोगको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यरत चार जना चिकित्सकसहित अन्य ११ जना स्वास्थ्यकर्मी स्वयं डेङ्गु रोगको सङ्क्रमण भएका अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिनुभयो । अस्पतालमा डेङ्गु रोगीको उपचार गर्न २४ शैया मात्र रहेको छ । अस्पतालले थप २० शैया थप गर्ने तयारी गर्दैछ ।