#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32130722982513744399923704210
नेपाल678044361741449954

बालविवाह: पहिले अभिभावकले अहिले आफै

समाज बदलिएसँगै बालविवाह गर्ने तरिका पनि फेरिएको सरोकारवालाहरुले बताएका छन् । विगतमा अभिभावकको करकापले बालविवाह हुने गरे पनि पछिल्लो समय भने बालवालिकाहरु आफै बालविवाह गर्न प्रेरित भइरहेको उनीहरुको भनाई छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सिआइएन) र सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)ले आयोजना गरेको बालविवाह अन्त्यका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार बबिता वस्नेतले प्रविधिको दुरुपयोगले बालविवाहलाई प्रोत्साहन मिलिरहेको बताइन् । वस्नेतले भनिन्, “पहिले विभिन्न बहानामा आमाबुबाले छोराछोरीको विवाह गरि दिन्थे, अचेल छोराछोरी आफै विवाह गरि जाने समस्या बढ्दो छ ।” विगतमा अभिभावकले आफ्नो विवाह गरिदेलान् भनेर छोराछोरीले चिन्ता लिने गरेपनि अचेल छोरीछोरीले आफै विवाह गर्लान् कि भनेर आमाबुबाले चिन्ता लिने गरेको बताउँदै उनले भनिन् “विगतमा आमाबुबाले विवाह गरि देलान् कि भनेर छोराछोरीहरुले चिन्ता लिन्थे, अचेल छोराछोरी भागेर विवाह गर्लान् कि भनेर आमाबुबाले चिन्ता लिन थालेका छन् ।”

पछिल्लो समय बढ्दो बालविवाहको प्रमुख कारण फोन र सामाजिक सञ्जाल भएको वस्नेतको बुझाई छ । त्यसैले पनि बढ्दो बालविवाह रोक्न प्रविधिको दुरुपयोग रोक्नुपर्ने उनको भनाई छ । सञ्चारमाध्यमले प्रसारण गर्ने सामाग्रीले सकारात्मक सन्देश दिनुपर्ने भन्दै वस्नेतले भनिन्, “सञ्चारमाध्यमले भाषा, शैली र शब्द छनौट गर्दा संवेदनशिलता अपनाउँनु पर्छ ।”

सिआइएनका समाचार प्रमुख गोविन्द खड्का भने प्रविधिकै सदुपयोग गरी बालविवाह रोक्न सकिने बताउँछन् । “हामीले फोन र फेसबुकले गर्दा बालविवाह बढ्यो भनिरहेका छौ तर त्यसको सदुपयोग गरी बालविवाह न्यूनिकरण पनि त गर्न सकिन्छ नि ।” उनले भने । त्यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ । बालविवाह न्यूनिकरणलाई प्राथमिकतामा राखेर सामाचार सामाग्रीहरु प्रस्तुत गर्न सके त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने उनको बुझाई छ ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का अध्यक्ष सुवास खतिवडा भने सामाजिक कुरितीहरु हटाउँन बलियो कानून बनेपनि त्यसको जानकारी नागरिकस्तरमा पुग्न नसक्दा समस्या न्यूनिकरण हुन नसकेको बताउँछन् । उनले भने, “कानून त बन्यो तर त्यसको जानकारी नागरिकस्तरमा पुगेन त्यसकारण समस्या निराकरण हुन सकेन ।” उनले बालविवाहलगायतका सामाजिक कुरितीहरु हटाउँन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै हरेक पत्रकार र सञ्चारमाध्यमले सामाजिक दायित्व निर्वाह गर्नुपर्ने औल्याए ।

विश्वमा बालविवाह बढी हुने देशहरुको सूचीमा नेपाल अग्रपंक्तिमा रहेको विभिन्न अध्ययनले देखाएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालका मविन घलेले बढी बालविवाह हुने देशहरुको सूचिमा नेपाल तेस्रोस्थानमा रहेको बताए । उनलेले विभिन्न बहानामा नेपालमा बालविवाह बढीरहेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी ढंगले कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले बालविवाह निर्मूल पार्न स्थानीय निकाय, सञ्चारमाध्यम र प्रशासनले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा सहभागि अन्य वक्ताहरुले विज्ञापन निर्माता, चलचित्र निर्माता तथा सञ्चारमाध्यमहरुले आफ्नो सिर्जनामा बाल मनोविज्ञान र सामाजिक कुरितीलाई पनि पनि ख्याल राख्नुपर्ने धारणा राखे । बालविवाह लगायतका सामाजिक कुरितीहरु ग्रामिनस्तरमा हुने भएकाले विज्ञापन, समाचार र चलचित्र निर्माण गर्दा उनीहरुले बुझ्ने भाषामा सामाग्री प्रस्तुत गर्नेपर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा सहभागि विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुले बालविवाह न्यूनीकरणका लागि कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित समाचारहरु