मातृका संग्रौला: नाफाको जिन्दगी, नाकबाट मुरली

संस्कृतमा एउटा श्लोक छ–

अमन्त्रं अक्षरं नास्ति नास्तिमूलमनौषधम् ।
अयोग्य पुरुषः नास्ति योजकस्तत्र दुर्लभ ।।

अर्थात् मन्त्र नभएको अक्षर छैन, औषधि नभएको वनस्पति छैन अनि कुनै पुरुष (महिला पनि) पनि अयोग्य छैन । छ केवल योजक वा त्यसलाई चिन्नसक्ने व्यक्तिको खाँचो ।

हुन पनि हरेक मान्छेसँग कुनै न कुनै प्रतिभा हुन्छ । कतिले आफ्नो प्रतिभा पहिल्याएर त्यसको सदुपयोग गर्छन् भने कतिले जीवनभर आफूमा भएको प्रतिभा चिन्दैनन् र कस्तुरीले आफ्नै सुगन्ध खोजेर भौंतारिए झैँ भौतारिइरहन्छन् ।

केही मानिसमा अलौकिक प्रतिभा हुन्छन् भने कतिपयमा बहुमुखी प्रतिभा हुन्छन् । यस्तै बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन् मातृकाप्रसाद संग्रौला । जो नाकले मुरली बजाउने भएका कारण चिनिएका छन् । उनी नाकले नै अनेकअनेक भाकामा मुरली बजाउँछन् । त्यस बाहेक मुखले हार्मोनियम बजाउने कला पनि छ उनीसँग ।

पूर्वी नेपालमा हुने अधिकांश सांस्कृतिक कार्यक्रममा संग्रौलाको खोजी हुन्छ । उनको प्रतिभाले धेरैलाई अचम्मित तुल्याउँछ । यति हुँदाहुँदै पनि प्रतिभाअनुसार चर्चा नपाएका व्यक्तित्व हुन् संग्रौला ।

बहुमुखी प्रतिभा

संग्रौला भन्छन्– मानिसका सबै अंगले काम पाइरहेको तर नाकले श्वास फेर्नेभन्दा अरू काम गरेको नदेखेपछि मैले मुरली बजाउन थालेको हुँ । भजन, स्वागत गीत एवं नाकले मुरली बजाएर दर्शकश्रोतालाई लठ्याउने क्षमताले युक्त संग्रौला उपस्थित भएपछि कार्यक्रमको रौनक नै बढ्छ । मुरली वादनका अतिरिक्त लेखन, वाद्यवादन, भजनकीर्तन एवं नृत्यमा पारंगत छन् संग्रौला । उनलाई गीतसंगीत र कलाकारिताको विशेष ज्ञान छ ।

संग्रौलाका साहित्यिक एवं गैरसाहित्यिक कृतिहरू प्रकाशित छन् । प्रभु सत्भक्तलोक भजनमाला (भजन सङ्ग्रह), देवी दर्शन भक्ति भजन सङ्ग्रह, चौतारीमा यात्री (उपन्यास), अमूल्य मानव जीवन (छन्द कविता सङ्ग्रह) र मेहन्तको मुठी साँचेर ढिकुटी (निबन्ध सङ्ग्रह) उनका प्रकाशित कृति हुन् ।

त्यसैगरी संग्रौलाले हालसम्म ७ वटा एल्बम बजारमा ल्याइसकेका छन् । आनन्द लहरी, राधे राधे कृष्ण प्रभु, विछोडको पीडा, तन मन वचन उनका केही सांगीतीक एल्बम हुन् । प्रायःजसो उनी भजन र पीडाका गीत गाउने र लेख्ने गर्छन् ।

गीत रचना गर्ने, गाउने र लेखने प्रतिभासँगै संग्रौलासँग भएको अर्को अचम्मको प्रतिभा हो थरीथरीका बाजा बजाउने । संग्रौलालाई १ दर्जनभन्दा बढी बाजा बजाउन आउँछ । उनी बिनायो, मेलोडिका, हार्मोनियम, मुर्चुङ्गा, सारङ्गी र सहनाई गज्जबले बजाउँछन् । बाजा बजाउने मात्र होइन, उनलाई ती बाजाहरु बनाउन पनि आउँछ । उनी आफैले सारङ्गी, बाँसुरी, मुरली लगायतका बाजाहरू बनाएका छन् ।

जीवनयात्रा

वि.सं. २०२५ साल जेठ १५ गते पाँचथरको सुभाङ्गमा जन्मेका संग्रौला अहिले झापामा बस्छन् । संग्रौला पेसाले नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिसियन हुन् । व्यस्त जीवनका बाबजुद पनि संग्रौला विभिन्न सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन जान्छन् । संगीतप्रति निकै लगाव भएका कारण त्यसका लागि समय निकाल्छन् । कार्यालय समयमा जिम्मेवारी सम्हाल्नु बाहेक उनको खाली समय साहित्य र संगीत साधनामा बित्छ, त्यो पनि नयाँनयाँ प्रयोगसहित ।

संग्रौलाले आफ्नै घरमा प्रतिष्ठान खोलेका छन् । जसको नाम मातृकला साहित्य प्रतिष्ठान रहेको छ । प्रतिष्ठानको कार्यालयभित्र संग्रौलाले आफ्ना कृतिहरू, आफूले पाएका पुरस्कारहरू र लगभग डेढ दर्जनभन्दा बढी बाजाहरू राखेका छन् । त्यसैगरी उनले प्रतिष्ठानको कार्यालयभित्रै संगीत कक्षा पनि सञ्चालन गर्ने गरेका छन् ।

संग्रौलाकी श्रीमती सीतादेवी संग्रौला पनि उत्तिकै प्रतिभाशाली छिन्, उनी गाउँघरमा नृत्य र भजन सिकाउँछिन् । संग्रौला अहिले एउटा म्यूजिक भिडियोको सुटिङ्गमा व्यस्त छन् । संग्रौलाले बताएअनुसार उनका दुईवटा नयाँ गीत छिटै नै सार्वजानिक हँुदै छ । र, त्यससँगै उनको नयाँ उपन्यास चौतारीको यात्रा र त्यही कथावस्तु समेटिएको महाकाव्य ‘दुःखी देवी’ पनि प्रकाशोन्मुख छ ।

संग्रौलाको स्वाध्ययन राम्रो छ । उनी धेरै हदसम्म प्रयोगवादी पनि छन् । उनले आफ्ना हरेक कृतिको जोडी बाँधिदिएका छन् । ‘कृति त अरूले पनि निकालेका छन् तर हरेक कृतिको जोडी बाँध्ने कामचाहिँ अरूले गरेजस्तो लाग्दैन ।’ संग्रौला सुनाउँछन् । अझ नौलो कुरा के छ भने उनले आफ्ना हरेक कृतिको जोडी मात्र बाँधिदिएका छैनन्, एक कृतिको त चिना पनि तयार पारेका छन् । मिहिनेतका मुठी, साँचो ढिकुटी नामको उनको निबन्ध कृतिको चिना पनि उनले बजारमा ल्याए । आफूमा ज्योतिषीय ज्ञान नभएकाले पुस्तकको चिना भने ज्ञानेन्द्र खरेललाई लेखाएका उनले बताए । उनको निबन्ध संग्रहको चिना पनि पुस्तकाकारमै छ ।

संग्रौला आफ्नो जीवन नाफामा बाँचिरहेको बताउँछन् । भएको के रहेछ भने उनी एकपटक होइन, तीन तीन पटकसम्म कहिले करेन्ट लाग्ने त कहिले गाडी दुर्घटनामा परेका रहेछन् र मरणासन्न अवस्थामा पुगेका रहेछन् । उनी सुनाउँछन्– ‘दिन आएको रहेछ, तीन पटक मरेको ठानिएको मान्छे पनि बाँचेर जीवन जिइरहेको छु ।’ २०४७ सालमा ट्रान्सफर्मर पड्कँदा त उनी यति घाइते भए कि परिवारले माया नै मारिसकेको थियो । तर काठमाडौंमा लगेर ६ महिनासम्म उपचार गरेपछि उनी काममा फर्कन सफल भए ।

संग्रौला सवारी चालक पनि हुन् । इलामको किटेनी भन्ने स्थानमा गाडी चलाउँदै गरेका बेला गाडी बल्ड्याङ् खाएर झाडीमा पुग्यो, निकाल्न क्रेन नै चाहियो । त्यस बेला पनि उनी २ साता थला परे । त्यस्तै २०४९ सालमा काठमाडौंको ग्वार्कोमा विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर खेतमा पछारिएका उनलाई ओछ्यानबाट उठ्न एकसाता लाग्यो । यसरी उनी पटक पटक मृत्युको मुखबाट उम्केर आए ।

प्रेरणा स्रोत

बुबाको ढ्याङ्ग्रो र आमाको संगिनीका कारण पहाडमा उनको परिवार चाँपाबोटे संग्रौला भनेर चिनिएको थियो । उनको बुबाको नाम धनपति भए पनि धनले कहिल्यै साथ दिएन । बाबु ढ्याङ्ग्र्रो ठोकेर धामी बस्थे । सानैदेखि उनलाई बाबुले ढ्याङ्ग्र्रो ठोकेको र फलाकेको हेर्न खुब रहर लाग्थ्यो । बाबुकै नक्कल गर्दागर्दै उनले पनि उसैगरी ढ्याङ्ग्र्रो ठटाउन सिके । त्यसैगरी आमाले गाउँघरमा संगीनीमा हालेको भाका टपक्कै टिपे । ‘ढ्याङ्गोको संगीत र आमाको संगीनीले मलाई उहिल्यै तानेको थियो क्या’ ख्याउटे ज्यानका मातृका जोसका साथ सुनाउँछन्–‘त्यही मोह अहिले मेरो नशा भएको छ ।’

निष्कर्ष

वर्षौंदेखि मौलिक बाजा र गीतहरूको प्रचार प्रसार गरिरहे पनि सरकारबाट अपेक्षा गरेजस्तो साथ र सहयोग नपाएको संग्रौलाको गुनासो छ । हामीले आफ्नो मौलिक बाजा र गीतलाई बिर्सियौँ भन्ने हाम्रो कलासंस्कृतिमाथि खतरा आइपर्छ भन्ने उनको बुझाइ छ । आफ्नो कलासंस्कृति बचाइराख्न र विश्वसामु यसलाई चिनाउन सरकारले विभिन्न खालका सांस्कृतिक कार्यक्रम निरन्तर रूपमा आयोजना गर्नुपर्ने संग्रौलाको सुझाव छ ।

संग्रौलाले जीवनमा अनेकौं आरोहअवरोह झेलेका छन्, संघर्ष गरेर हरेक चुनौतीलाई पन्छाएका छन् र आजको सम्मानित अवस्थामा आइपुगेका छन् । उनी आफूलाई कर्मठ एवं प्रयोगशील कर्मजीवी भन्न रुचाउँछन् । उनी भन्छन्–‘म पटक पटक मृत्युको मुखमा पुगेर फर्किएको मान्छे हुँ । मलाई यो जीवन नाफाको हो भन्ने लाग्छ, त्यसैले जति सकिन्छ राम्रो काम गरेर जीवन बिताउने प्रयासमा छु ।’