भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कविहीन

भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयान-२ सम्पर्कविहीन भएको छ।

चन्द्र सतहभन्दा २ दशमलव १ किलोमिटर नजिक पुगेपछि चन्द्रयानको पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको हो ।भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) अध्यक्ष के सिभानले चन्द्रयानसँग सम्पर्क टुटेको पुष्टि गर्दै यस बारे सूचनाहरूको विश्लेषण भईरहेको जानकारी दिए ।

भारतको बेङ्लोरस्थित नियन्त्रण कक्षमा बसेका वैज्ञानिकहरु विक्रमको सहज अवतरणको प्रतीक्षा गरिरहँदा यानसँगको सम्पर्क टुटेको हो।भारतीय चन्द्रयान गए राती भारतीय समय अनुसार १ः५५ बजे चन्द्र सतहमा अवतरणको तयारीमा थियो ।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए ।

अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि वैज्ञानिकहरु निरास भएका थिए । विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हतोत्साहित नहुन आग्रह गरेका छन् ।