वसन्तपुरको चिया पसल
  • विशालदत्त भट्ट- 

पढाइ र होम सिकनेसले मन व्याकुल थियो । प्लस टु सकेका साथीहरू काठमाडौंमै भए पनि सम्पर्कभन्दा बाहिर । सम्पर्कमै भएकाहरू पनि आआफ्नो उद्देश्यमा लागिपरेका थिए । यस्तो लाग्यो, म मात्रै खाली छु । फुस्रो कपाल, कानमा सेतो इअरफोन, मुखमा मास्क र कालो लेदरको ज्याकेट लगाएर सोह्रखुट्टे हुँदै वसन्तपुरतिर लागेँ । ।

आकाशमा कालो बादल मडारिँदै पूरै उपत्यकालाई ढाकेको थियो । बाहिर निक्लने मान्छेहरू पानी पर्ने अनुमानका साथ छाता लिएर निक्लने गर्थे । मेलम्चीको पानी आउने कुरा भएकाले बाटोमा पाइप बिछ्याउने कामलाई तीव्रता दिइएको थियो । पानी नभएको सहरमा मानिस छाता बोकेर हिँड्नुपर्ने अनौठो दृश्य थियो । ती मानिस हतारमा थिए । एकअर्कालाई हेर्ने फुर्सद समेत थिएन ।

केही समयमै म वसन्तपुर पुगेँ र सधैं जाने गरेको बिगबेल नामक क्याफेमै गएँ । अरुबेला म आउँदा सधैं साथीहरू हुन्थे तर आज एक्लो थिएँ, नितान्त एक्लो । क्याफे खचाखच थियो । एउटा कुनाको टेबल रोज्न बाध्य भएँ । हुन पनि मलाई भीडभाड मन पर्न छोडिसकेको थियो । मलाई मानिसहरूको हुल तुच्छ लाग्थ्यो, क्षणिक लाग्थ्यो । सायद कसैसँग आशा गरेअनुरूप सम्बन्ध कायम नभएकोले होला ।
टेबलमा बसेको केही बेरमै सानो भाइ आएर सोध्न लाग्यो, “दाइ के लिनु हुन्छ ?”

मिल्क टी, मैले अर्डर दिएँ ।

मिल्क टी मात्र हो दाइ ?”

अँ भाइ, मिल्क टी मात्रै ल्याऊ अहिले । मैले मलिन आवाजमा उत्तर दिएँ ।

केही बेरमै चिया आइपुग्यो । म चिया पिउँदै मोबाइलमा फेसबुक चलाउँदै थिए । दुई तिहाइ सरकारले ल्याएका विधेयकहरू धमाधम विवादित भएका खबर फेसबुकमा पनि चर्चाको विषय रहेछन् । केही त विधेयक कुन चरीको नाम हो र त्यसले के गर्छ भन्ने थाहा नपाउने किशोरहरू पनि सरकारको विरोध गरिरहेका देखिन्थे ।

फेसबुककको रमाइलो के हो भने यहाँ राजनीति नबुझेकाहरूले पनि राजनीति गर्छन् ।

चुरोटको धुँवाको गन्धले नाकलाई सचेत बनाएपछि मैले मोबाइलबाट टाउको उठाएँ । छेउको टेबलमा एकजना युवती चुरोट पिउदै थिई ।
अवसादले ग्रसित, ऊ बुइँगलतिर हेरेर कफी पिइरहेकी थिई । गर्मी र कफि नजरी एकअर्कामा मिल्दैनन्, त्यस्तै उनको सौन्दर्यमा चुरोटसँगै पोखिएका पीडा मिल्ने देखिएन ।

ध्यान दिएर हेरेँ । कताकता देखे जस्तो लाग्थ्यो तर ठ्याक्कै याद आइरहेको थिएन । ऊ बारम्बार चुरोट मात्रै पिउँथी र आफ्नो पीडालाई चुरोटको धुवाँमार्फत लामो सासले बाहिर फ्याँक्थी ।

मैले कतै देखेको हुनुपर्छ तर कहाँ भनेर घोत्लिँदै थिएँ, उसको कुर्सी बज्यो । मैले उसतिर आँखा लगाएँ । कफी पिइसकेर उठ्ने तरखरमा कुर्सी बजेको रहेछ । म सतर्क भएँ । सायद उसलाई हेर्न नखोजेर बढी हेरिरहेको थिएँ । उसले चाल पाइहाली ।

बाहिर निक्लँदै गर्दा मेरो टेबलनजिकै आई र क्रस गर्नुअघि भनी, ‘हाई’

मैले थाहै नपाई मेरो मुखले भन्यो, ‘हेल्लो’ ।

‘हजुर पनि आउँनुहँुदो रहेछ त यता ।’

‘अँ, मलाई यहाँको चिया मन्न पर्छ ।’

यति कुरा गर्दा पनि मैले उसलाई चिन्न सकिरहेको थिइन ।

‘मलाई अलि हतार छ, जान्छु है’ भन्दै ऊ बाहिरतिर लागी ।

मलाई प्रसस्त फुर्सद थियो । र, यो फुर्सदमा सोच्ने सामग्री दिएर ऊ बाहिर निस्किएकी थिई । मैले अर्को कप चिया मगाएँ र सोच्न थालेँ, ऊ को हो ? चिया आउँदा पनि थाहा पाउन सकिन, ऊ को हो ? त्यसपछि सोच्नै छाडिदिएँ ।

नजिकैको टेबलमा एक नवविवाहित जोडी थिए । उनीहरू एकअर्कामा निकै सद्भाव र सत्कार प्रकट गर्दै थिए । उनीहरू नवविवाहित हुनुपर्छ भन्ने कुरा उनीहरूको व्यवहारले नै बताइरहेको थियो । त्यसैगरी अर्को टेबलमा भने दुई जना वृद्धहरू गफिँदै थिए । तिनीहरूको गफमा समकालीन राजनीतिको चासो बढी थियो । चिया खाउन्जेलसम्म क्याफेमा नयाँ कुरा केही भएन । अब बस्नुको अर्थ थिएन, त्यसैले बिल तिरेर बाहिरिएँ ।

न्युरोड, जमल हुँदै आफ्नो कोठा तिर लागेँ । गर्मी मौसम सुरु हुन लागेकोले मानिसहरू पातला कपडा किन्ने धाउन्नमा थिए । केही महिनाअघिसम्म पसलमा राखिएका ज्याकेट, स्विटर, टोपीजस्ता कपडा अहिले पसलहरूबाट गायब भएका थिए । मलाई ती हरेक दृश्यले भित्रभित्रै अनौठो प्रकारको आभास गराइरहेको हुन्थ्यो । लैनचौरबाट अगाडि बढ्दै गर्दा सोह्रखुट्टे बस्ने एकजना आत्मीय दाइलाई फोन गरेँ । उनी पनि चियाको निकै सौखिन थिए । त्यसैले पनि हाम्रो खाल सजिलै जमिहाल्थ्यो । हामी चियाको सुरमा क्याफेमा बसेर घण्टौंसम्म गफिन्थ्यौँ । हाम्रो गफ प्रायः जसो राजनीति, स्त्री, चलचित्र र सेक्समा केन्द्रित हुन्थ्यो ।

‘हेलो दाइ कता हुनुहुन्छ ?’

‘म अहिले बानेश्वरतिर छु, तँ कता छस् नि ?’

‘दाइ, म सोह्रखुट्टेतिर आको थिए भेटुम् भनेर नि ।’

‘म बेलुका घर फर्किएपछि कल गर्छु है, अहिले अलि बिजी छु ।’ दाइले फोन राखिदिए ।

म उदास मन लिएर कोठातिर लागेँ । समय बिताउने उचित कुरा केही थिएन । खाटमा पल्टिएँ । पल्टिएको केही बेरमै निदाउन पुगेछु ।
फोनको घन्टीले बिउँझिएँ । बिल्कुलै नयाँ नम्बरबाट आएको थियो फोन ।

‘हेल्लो, को बोल्नुभएको ’ मैले प्रश्न गरेँ । उताबाट केही प्रतिक्रिया आएन ।

मैले पुनः अघिकै प्रश्न दोहो¥याएँ । मलिन स्वरमा उताबाट नारी आवाज आयो, “हजुर विशालजी हो ?”

‘हजुर म विशाल बोल्दै छु, हजुर को नि ?’

‘आज दिउँसो बसन्तपुरको रेडबेल क्याफेमा भेटेको थियौँ नि । मलाई अलि हतार भएकाले बोल्नै पाइन ।’

मेरो अलिकता भएको निद्रा भाँडियो र पूरै ध्यान उसमा केन्द्रित हुन पुग्यो ।

म उसको कुराले अनौठो अवस्थामा पुगेँ । उसले राम्रैसँग चिनेजस्तो गरेर कुरा गरिरहेकी थिई । कुरैकुरामा भोलि केही समय फुर्सद भएकाले भेट्न सकिने कुरा गरी । भेट्ने ठाउँ पनि तय भयो, वसन्तपुरको त्यही चिया पसल, समय १० बजे । कुरा जतिसुकै लम्बिए पनि मैले उसको अनुहार र बोलीबाट उसलाई चिन्नै सकिन ।

००००

भोलिपल्ट उसको प्रस्ताव बमोजिम १० बजे म बसन्तपुरको रेडबेल क्याफे पुगेँ । ऊ भने आइपुगेकै थिइन । सायद ऊ आम केटीहरू जस्तै थिई । आफूहरू अरुलाई घन्टौँ कुराउँछन् अनि अरुले दुई मिनेट मात्रै कुरायो भनेचाहिँ खाम्ला झै गर्छन् ।

क्याफेभित्र प्रवेश गरेर हट लेमन अर्डर दिएँ । हट लेमन पिउँदै क्याफेको भित्तामा कोरिएका चित्र हेर्दै थिएँ । चित्र निकै मोहक देखिन्थ्यो । कुनै महान् चित्रकारले कोरेको त्यो महान् चित्रमा एउटा डाँडाबाट झर्ना झरेको र त्यो झर्ना खोलामा परिणत भई एउटा सानो गाउँको नजिक हुँदै बगेको दृश्य थियो । खोलाको किनारमा केही महिलाहरू लुगा धुँदै थिए भने केही महिलाहरू सानो गाग्रीमा पानी बोकेर आफ्नो घरतिर लागिरहेका थिए । हेर्दा सामान्य भए पनि त्यो चित्र निकै सुन्दर र भव्य देखिन्थ्यो ।

केही बेरपछि ऊ आइपुगी र सिधै म बसेको टेबलमा अगाडिपट्टिको खाली कुर्सीमा बसी ।

हजुरलाई कुराएँ है । के गर्नु काठमाडौंको जाम नै यस्तै छ । समयमा कहिलै गन्तव्यमा पुगिँदैन ।

मलाई कुराएकोमा ‘सरी’ त होइन तर सरीजस्तै स्पष्टीकरण दिई ।

‘केही लिन्छौ’ भनेर मैले सोध्न नभ्याउँदै उसले ‘अहिले म केही लिन्न । लिने कुरा मैसँग छ ।’ उसले हाँस्दै ह्यान्ड ब्यागबाट सूर्य चुरोट निकालेर पिउन लागी । “माइन्ड नगर्नुहोला, के गर्नु नराम्रो बानी छ ।’ थोरै अप्ठ्यारो लवजमा ऊ लजाई ।

म केही बोलिन । आखिर म पनि कहाँ नन स्मोकिङ् जोनमा बसेको थिएँ र ?

‘हजुरले मलाई अझैसम्म पनि चिन्नु भएन जस्तो छ नि ?’ उसले चुरोट सल्काउँदै प्रश्न गरी ।
मैले केही उत्तर दिन सकिन ।

‘नचिनेको मान्छेले जहाँ बोलायो उपस्थित भइदिने ? यस्तो त अलि भएन नि महाशय ।’ उसले अलि ठट्यौली पारामा भनी ।

‘नचिनेको होइन, ठ्याक्कै याद नआएको मात्रै हो ।’ मैले हाँस्दै भनेँ ।

‘मैले पनि हजुर पढेको स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी हुँ । हजुर ग्रिन हाउसको क्याप्टेन हुनुहुन्थ्यो । म पनि हजुरकै हाउसमा थिएँ ।’ उसले चुरोटको धुवाँ लामो गरी बाहिर फ्याँक्दै भनी ।

हलुका याद आएको हो कि जस्तो लाग्यो तर अझसम्म पनि ठ्म्याउनै सकिनँ ।

‘नाम के भन्यौ ?’

‘सन्ध्या हो । ये नाम तो सुना ही होगा ?’ उसको ठट्टा मलाई रमाइलो लाग्यो ।

म गलल्ल हाँसेँ, ऊ पनि हाँसी ।

‘सन्ध्या पौडेल । चिन्नु भो ?’

‘अँ, बल्ल चिनेँ, यस्तो परिवर्तन भइसकेकी रहेछौ, कसरी चिन्नु त !’ मैले हाँस्दै भनेँ ।

के गर्नु महाशय, सहरको हावाले छोएपछि सबै यस्तै हो ।

अब मलाई अघिभन्दा केही सहज महसुस भयो । केहीबेर हामीबीच मौनता छायो । यो सन्नाटामा एउटा सुन्दर चेहेरा मेरो मस्तिष्कले ठ्याम्मै समायो । मैले उसलाई राम्रैसँग सम्झिएँ । ऊ हाम्रो विद्यालयकी सबैभन्दा शालीन र ज्ञानी विद्यार्थी मानिन्थी । हामी सिनियर भए पनि उसको चर्चा हाम्रो कक्षासम्म आइपुग्दथ्यो ।

‘तिमी त निकै माथि पुग्छौ भन्ने हल्ला थियो, तिमी डाक्टर इन्जिनियर वा यस्तै समाजले उच्च मान्ने पेशामा हुनेछौ भन्ने चर्चा थियो ।’ मैले उसको नजिक कुर्सी सार्दै भनेँ, ‘के गर्दै छौ आजकल ?

मेरो कुरा सुनेर उसले मुख अँध्यारो बनाई । अन्तिम चुरोटको कस तानेपछि उसले भने, ‘म के भएँ होला अन्दाज गर्न सक्नुहुन्छ ?’
मलाई उत्सुकता जाग्यो । मैले उसका कुरा सुनाउन अनुराध गरेँ ।

‘मेरा ब्यथाहरू लामा छन र पीडादायी पनि । कहाँ हजुरहरूले आशा गरेको भविष्यको डाक्टर कहाँ अहिलेकी सन्ध्या ।’
उसले चुरोटलाई निर्ममतापूर्वक स्ट्रेमा किचिपिची पारी ।

मैले पूरै वृत्तान्त हजुरलाई सुनाएपछि हजुरले मलाई घृणा गर्नु हुनेछ । मप्रतिको हजुरको दृष्टिकोणमा परिवर्तन आउन सक्छ । लौ मैले हजुरलाई मेरो वृत्तान्त सुनाएँ रे, के गर्नुहुन्छ ? मलाई के फाइदा हुन्छ ? केही त हुन सक्दैन ।” ऊ निकै उत्तेजित देखिई ।

‘तिमीले सुनाएका वृत्तान्त म लेख्नेछु । त्यसले भविष्यमा केही राम्रो काम पक्कै गर्ला ।’ मैले भनेँ ।

उसले कफी मगाई र कुरा सुरु गरी ।

‘तपाईंलाई थाहा छ कि छैन, म त्यो बेला स्कुलमा पढ्न गाउँबाट तपाईंको सानो सहरमा पढ्न आएकी थिएँ । निम्न मध्यम वर्गीय परिवार भए पनि बुबा मेरो पढाइ निकै माथि जाओस् र डाक्टरसम्म बनोस् भन्ने चाहनुहुन्थ्यो । यही कारण पढ्न सहर पठाउनु भएको थियो । पढाइ राम्रो भएकाले सबै शिक्षक र गाउँका पढेलेखेका मानिस बुबालाई मेरो बारेमा राम्रो कुरा सुनाउनुहुन्थ्यो । यही कारण पनि उहाँले मप्रति धेरै भरोसा गर्नुभएको थियो । बहिनीको पढाइ राम्रो होस् भनेर उहाँले मसँगै काठमाडौं पठाउनुभएको थियो ।’

कफी आउने बित्तिकै वेटरको हातबाटै खोजेजस्तो गरेर सुरुप्प पारी ।

मेरो एसएलसी पनि राम्रै भयो । डिस्टिङ्सन पाएका कारण बुबाआमा औधी खुसी हुनुभयो । अझ भन्नुपर्दा बुबाको प्रतिष्ठा समाजमा अझै चुलियो । छोरीलाई राम्रो संस्कार दिएकोमा चोकचोकमा बुबाको प्रशंसा हुन थालेको थियो ।

म साइन्स पढ्न काठमाडौं आएँ । काठमाडौं भन्नेबित्तिकै मेरो मनमा एउटा सभ्य सहरको परिकल्पना हुन्थ्यो तर त्यस्तो रहेनछ । मैले परिकल्पना गरेको भन्दा निकै भिन्न रहेछ यो सहर । म बिस्तारै यो सहरको रमझममा भुल्न थालेँ । मैले जानीनजानी सुस्तरी यही सहरको वेशभूषा अपनाएँ ।

म सगरमाथा साइन्स कलेज, बालाजुमा भर्ना भएँ । त्यहाँ हामी केही बाहिरका थियौँ, अधिकांश साथीहरू काठमाडौंकै स्थानीय बासिन्दा थिए । तिनीहरूको जीवनशैली लोभलाग्दो देखिन्थ्यो । म तिनीहरूको जीवनशैली देखेर लोभिन थालेँ । तिनीहरूको जस्तै जिन्दगी जिउने रहर पलाउन थाल्यो । बिस्तारै मलाई यो सहर र यहाँको वेशभूषाले तान्न थाल्यो । आफू जन्मीहुर्केको ठाउँ तुच्छ लाग्न थाल्यो । मलाई मेरो जन्म ठाउँका घाँस, दाउरा, मेलापात तुच्छ लाग्न थाल्यो । अझ भन्नुपर्दा मलाई त्यो मेरो गाउँठाउँ भनौँ पुरापुर पश्चिम नेपाल तुच्छ लाग्न थाल्यो । जबजब म त्यो पश्चिमको बारेमा सोच्थेँ तबतब मनमा त्यसप्रति तीव्र घृणा पलाउन थाल्थ्यो । यो काठमाडौंभन्दा निकै पछाडि रहेको पश्चिम मेरो जन्मभूमि हो भन्ने कुराले मलाई हीनताबोध हुन थाल्यो । मलाई यो सहर, यो मान्छेको भीड, यो सहरका मान्छे र केवल यो सहरको जीवनशैली प्रिय लाग्न थाल्यो ।

मेरा दिनहरू बिस्तारै समान्य बन्दै गइरहेका थिए । मेरो मन पनि सहरको विलासितामा मुग्ध हुँदै थियो । म पनि एउटा सहरिया युवतीजस्तै जीवन बिताउन लालायित हुन थालेँ । त्यसपछि म पनि आम सहरिया युवतीले जस्तै बार जान थालेँ । नाइट क्लबहरू जान थालेँ । आफ्नो औकात बिर्सिएर अन्तै मन डुलाउन थालेँ । कुर्ता सुरुवाल सबै त्यागेर वान पिस र छोटो स्कर्टमा सजिन थालेँ । कसैलाई आफ्नो परिचय दिँदा आफू पश्चिमेली चेली हुँ भन्न समेत लाज लाग्न थाल्यो । ममा एकाएक आएको आमूल परिवर्तनले गर्दा मलाई कसैले झट्टै चिन्न पनि सक्दैनथे ।
बा आमाले गरेका दुःख र कष्ट मैले मनन गर्न सकिन । चाहेर पनि उहाँहरूको परिश्रम मैले सम्झिन सकिन । बुबाको मलाई मेडिकल लाइन पढाउने सपना समेत मैले बिर्सिसकेको थिएँ । बुबाको त्यो च्यात्तिएको गोल्ड स्टार जुत्ता, त्यो पुरानो मैलो दौरा सुरुवाल, आमाको त्यो फुटेका कुर्कुच्चा, त्यो ठेला परेको हात, ती सबैकुरा बिर्सिसकेको थिएँ ।

आमा दैनिकजसो फोन गरिरहनुहुन्थ्यो म भने सक्दो छोटो संवादमै कुरा टुङ्ग्याइदिन्थेँ । आमा सोच्नुहुन्थ्यो, छोरी पढाइमा व्यस्त छे तर यथार्थमा कुरा अर्कै थियो । आमासँग कुरा गर्दा मलाई निकै हीनताबोध हुने भएकाले उहाँसँग बोल्दा सकभर छोटो कुरा हुन्थ्यो ।

त्यसताका मेरो दिनहरू मोजमस्तीमा बितिरहेका हुन्थे । लाग्थ्यो जिन्दगीको भरपुर मजा म लिइरहेकी छु । म दुध, दही र मोही खानेलाई ती सबै मन पर्न छोडिसकेको थियो । मेरो बियर, ह्विस्की र वाइनजस्ता कुराहरूप्रति मोह बढ्दो थियो । उस्तै उस्तै साथीहरूको संगतले मलाई ती कुराहरूमा लाग्न त्यत्ति गाह्रो भएन । सुरुसुरुमा त निकै औडाहा हुन्थ्यो तर बिस्तारै ती कुराहरूमा बानी पर्दै गयो ।

मैले आफू एक दुर्गम गाउँकी युवती थिएँ भन्ने कुरा बिर्सिसकेकी थिएँ । मेरो वास्तविकता गाउँले र पश्चिम नेपाली परिवेशको भए पनि मबाट यी पहिचान सबै हराइसकेका थिए । म त्यस्तो समाजमा पुगेँ जहाँ सपना देख्न वञ्चित थियो । सपना देख्नु पाप सरह थियो । अझ आफ्नो सामथ्र्यभन्दा बाहिरको सपना देख्नु त कहाली लाग्दो कष्टको सिकार हुनु जस्तै थियो । सपना देखेपछि त्यसलाई पूरा गर्नुपर्ने भएकाले सापना देख्नु अभिशाप थियो । सपनालाई पूरा गर्नसक्ने अवस्था कसैमा थिएन । त्यसैले मैले मेडिकल लाइन पढ्ने सपना साँच्न छोडिसकेको थिएँ ।
बिस्तारै म सामाजिक सञ्जालतिर छाउन थालेँ । गाउँकी एउटी सोझी केटी सहरको रमझममा फसेर छोटा कपडामा सजिन थालेँ । विभिन्न पोजमा अर्धनग्न तस्बिर लिन्थेँ । प्रायःजसो स्कर्ट, छोटो जिन्स र स्लिभलेसमा सजिएकी हुन्थँे । सजिएकी पनि के भन्नु, अड्काएकी हुन्थें । दुनियाँले मलाई कपडामा सजिँदा पनि नाङ्गो देखिरहेको हुँदो हो । गाउँमा हुँदा पुरै खुट्टा ढाकेर हिँड्ने म, सहरमा आफ्ना सेतो तिघ्रा देखाएर निर्धक्कसँग हिँड्ने सामथ्र्यमा जुटेको थिएँ । गाउँमा हुँदा घुँडाभन्दा माथिको कपडा लगाएको कहिलै थाहा छैन, तर यहाँ भने मेरा वस्त्र नै तिघ्रासम्म पुगेर टुङ्गिन्थे । मलाई सबैमाझ आकर्षित हुनु थियो त वस्त्र के चिज थियो ? आइपरेको खण्डमा म जे पनि गर्नसक्छु भन्ने मनोबल थियो, जुन केवल एउटा मूर्खताको मात रहेछ । बाटोमा हिँड्दै गर्दा उरन्ठेउला केटाहरू मेरो तिघ्राका निला नसातिर आँखा गाड्दै सिट्ठी फुक्ने र सुइसेला काढ्ने गर्थे । म भने निर्लज्ज भएर हिँड्थेँ । मैले लगाउने वस्त्रहरूबाट मेरा स्याउका दानाजस्ता स्तनका आकार स्पस्टसँग देखिन्थे । बाटोमा हिँड्दै गर्दा अधिकांशको नजर त्यहीँ पुग्थ्यो तर मलाई अलिकता पनि संकोच लाग्दैनथ्यो, उल्टै आफू आकर्षक भएँ भन्ने लाग्थ्यो ।
अहिले आएर म कति गलत रहेछु थाहा भएको छ, पश्चात्ताप भइरहेछ । मेरा ती दिनहरूका क्रियाकलाप सम्झँदा भित्रभित्रै आफैलाई ग्लानि हुन्छ । त्यतिबेला बैँसको मातमा म पूरा एकोहोरो भएकी थिएँ, हो म साँच्चिकै एकोहोरो भएकी थिएँ ।

मैले अपनाएको कुबाटोबारे गाउँसम्म पनि खबर पुगिछाड्यो । सामान्य कुरालाई तोडमोड गरेर आकार दिने त्यो समाजले मेरो कुरालाई के सजिलै छोड्थ्यो ? मेरा कुराहरू निकै बढाइचढाइका साथ आमाबुबासम्म पनि पुग्यो । आफ्नो सन्तानको बारेमा त्यस्तो घिनलाग्दो खबर सुन्दा पत्यार लाग्ने कुरै भएन । तर पनि उहाँहरू पत्याउन विवश हुनुभयो । आफ्नो भविष्यको सहारा भनिएकी छोरीको त्यस्तो हालत सुन्दा बुबाआमामा के बित्यो होला ?

बुबाले त त्यसै दिन फोन गरेर भन्नुभयो, ‘तैंले हाम्रो छोरी हुने हक गुमाइसकिस् । आजबाट तँ हाम्रो लागि मरेसरह हो ।’

आमा भने बेला मौकामा फोन गरिरहनुहुन्छ र भक्कानिँदै भन्नुहुन्छ, ‘नानी, तेरो बुबालाई म सम्झाउँला, आफ्नो ख्याल राख्नू । गल्ती सबैबाट हुन्छ । गल्तीलाई सच्चयाएर अगाडि बढ्नाले नै जीवन सार्थक बन्न पुग्छ ।’

आमाको त्यो वचन सुन्दा झन कहालीलाग्दो पीडाले मन भरिएर आउँथ्यो । सोच्दासोच्दै आत्महत्या गर्ने सोच नआएको पनि होइन तर सजिलै त्यतातिर कदम चाल्ने आँट आएन ।

मैले अलिक ढिलै भए पनि आफ्नो गल्तीहरू मनन गरेँ । सबैकुरा त्यागेर म पुरानै जिन्दगीमा फर्किएँ । पढाइलाई निरन्तरता दिन थालेँ ।

बेलाबेलामा पीडा अलि बढी भयो भने चुरोट पिउँछु र मनभित्रका पीडालाई धुवाँसरि हावामा उडाउँछु ।

यति भनेर उसले फेरि आफ्नो ह्यान्ड ब्यागबाट चुरोटको बट्टा निकालेर एक खिल्ली चुरोट सल्काई र भनी, ‘बुबाको मनले मानेर मेरो एकचोटिको भुललाई माफ गर्दिनुभयो भने म यो चुरोटको लत पनि त्याग्न तयार छु ।’