पर्यटनमन्त्री भट्टराईद्वारा जम्नदिनको अवसरमा बालकलाई सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङका बालक समिर राईलाई आर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् । भट्टराईले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान  गरेका हुन् ।

सहयोग रकम समीर राईका अविभावकसम्म पुग्ने गरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका अध्यक्ष चित्रगुप्ता साँवा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

समिरका आमाबुबा दृष्टिविहीन छन् । समिर आफैँले समेत राम्रोसँग आँखा देख्दैनन् । कक्षा नर्सरीमा अध्ययनरत समिरलाई सदरमुकाम फुङलिङस्थित नवज्योति बोर्डिङ स्कूलले निःशुल्क रुपमा पढाउँदै आएको बताइएको छ ।

मन्त्री भट्टराईले गत वर्ष जन्म दिनका अवसरमा पाथीभरा याङवरक गाउँपालिकाका दुई दलित विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेका थिए ।