रुपन्देही-३ मा खाण र बोहोराः अघिल्लो निर्वाचनमा सहयात्री, अहिले प्रतिस्पर्धी

रुपन्देही-३ मा खाण र बोहोराः अघिल्लो निर्वाचनमा सहयात्री, अहिले प्रतिस्पर्धी


गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र राप्रपाका नेता दीपक बोहोरा अघिल्लो आमनिर्वाचनमा सहयात्री थिए । २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहोरा कांग्रेसको समर्थनमा चुनाव लडेका थिए । त्यसबेला बोहोरालाई जिताउन हलो चिन्हमा मत माग्दै हिँडेका गृहमन्त्री खाण अहिले भने उनैका प्रतिस्पर्धी छन् । सत्ता गठबन्धनबाट खाण र एमाले-राप्रपा–जसपाबाट बोहोराबीच तीव्र प्रतिस्पर्धा छ ।

२०७४ मा आफू समानुपातिकमा बसेर खाणले प्रत्यक्ष निर्वाचन लडेका बोहोराका लागि भोट मागेका थिए । तर त्यो बेला बोहोराले जितेनन्, एमालेका  घनश्याम भुसाल विजयी भए । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उनै खाण बोहोराविरुद्ध उभिएका छन् ।  

बोहोराको पञ्चायती पृष्ठभूमि मण्डले मात्रै होइन मण्डलेको नाइके हो भन्ने बुझाई कांग्रेस, कम्युनिष्ट कार्यकर्तामा छ । बोहोरामाथि रुपन्देहीको सुरजपुरा (हालको देवदह नगरपालिका) मा कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोईरालादेखि, सुशील कोइराला, शैलजा आचार्य, शेरबहादुर देउवा र रामचन्द्र पौडेलसम्मलाई एकै चिहान बनाउने प्रयत्न गरेको आरोपसमेत कांग्रेसमा छ ।

२०७४ को चुनावमा खाणले बोहोरालाई जिताउन सकेनन् । तर, यसपटक उनै बोहोरालाई हराए मात्रै खाणले चुनाव जित्नेछन् । पञ्चायत कालमा चारपटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका ७२ वर्षका बोहाेराले यसपटकको चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् । बोहोरा एमाले र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा चुनावी मैदानमा उत्रिएका छन् । खाण भने सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी (लोसपा) का साझा उम्मेदवार छन् । 

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही १ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका बोहोरा २०७० को दोस्राे संविधानसभा निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका थिए ।

बोहाेरा २०७४ मा रुपन्देही ३ मा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए । वाम गठबन्धनका उम्मेदवार भुसाल ३२ हजार ८६६ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसको समर्थन पाएका बोहोराले २७ हजार ४२२ मत पाएका थिए । त्यतिवेला राप्रपा विभाजित थियो । वर्गाकारभित्र हलो चिह्न लिएर त्यही क्षेत्रमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ मत ल्याएका थिए ।

अहिले राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टीप्रति आकर्षण बढेको र विगतभन्दा पार्टीको मत बढेको राप्रपाको दाबी छ । यो क्षेत्रमा गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतअनुसार राप्रपा कांग्रेस र एमालेपछिको तेस्रो शक्ति हो । अर्थात् नेपाली कांग्रेससँग ३४ हजार १५३ मत, एमालेसँग २९ हजार ४८ मत, राप्रपासँग १३ हजार ३९७ मत, जसपासँग ६ हजार १८३, माओवादी केन्द्रसँग दुई हजार ८८१, लोसपासँग दुई हजार १७४ र एकीकृत समाजवादीसँग ९७७ मत छ ।

यो मतका आधारमा हेर्ने हो भने सत्ता गठबन्धनमा रहेका दलको मत ४० हजार १६७ पुग्छ भने एमाले नेतृत्वको एमाले-राप्रपा-जसपा गठबन्धनको मत ४८ हजार ६ सय २८ हुन्छ । यस आधारमा खाण बोहाेराभन्दा ६ हजार ४६१ मतले पछाडि देखिन्छन् ।

रुपन्देहीमा कांग्रेसभित्रै दुई समूहको विवाद छ । लामो समयदेखि खाण समूहको दबाब झेलिरहेका शेखर समूह उनीविरुद्ध जानसक्ने राप्रपाको बुझाई छ । पार्टीको महाधिवेशनमा भएको शेखर समूहका कार्यकर्तामाथिको भौतिक आक्रमण भएकाले पनि त्यसको बदला लिन आफूलाई सहयोग गर्नेमा राप्रपा आशावादी छ ।

निर्वाचन आयोगका अनुसार क्षेत्र नम्बर ३ (१) मा ६५ हजार ५१३ र ३ (२) मा ६७ हजार २७८ गरी जम्मा एक लाख ३२ हजार ७९१ मतदाता छन् ।

Logo