#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32454698988496751197323954229
नेपाल693014531843750411

बिरामीको मृत्युपछि अस्पतालमा घेराउ र नाराबाजी

भक्तपुर,

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा शनिबार बिरामीको मृत्यु भएपछि अस्पताल दिनभर तनाबग्रस्त बनेको छ ।

बिहीबार भर्ना भई शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकेको सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारको क्रममा शनिबार मृत्यु भएपछि आईसियूमा कार्यरत नर्सहरुको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल घेराउ गरी नाराबाजी गरेका छन् ।

नाराबाजी, घेराउ गर्ने क्रममा पीडित पक्षले अस्पताल तोडफोड गर्न खोजेपछि राती ७ बजे पीडित पक्ष र प्रहरीबीच झडप भएको छ । अस्पतालभित्रै पीडित पक्षले नाराबाजी गरेर तोडफोड गर्न खोजेपछि सामान्य बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ । बाबुको मृत्युपछि बिरामी भई सोही अस्पतालको आकस्मिक कक्षमा उपचारमा रहेका मृतक कोइरालाका छोरा सागरले हिजो सफल शल्यक्रिया भई स्वास्थ्य अवस्थामा सुधार भइसकेको अवस्थामा नर्सहरुको लापर्वाहीले बाबुको ज्यान गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजो अप्रेशन गरी एउटा मिर्गौला झिकेर सफल उपचार भएको थियो, तर सघन उपचार कक्षका नर्सहरुले आलो घाउ भएको मेरो बुबालाई एक्लै हिडाएर शौचालय पठाएछन्, त्यसपछि शौचालयमै लडेर घाइते भएको आधा घण्टामा डाक्टरले मृत्यु भयो भने, यो सरासर नर्सको लापर्वाही हो ।”

नर्समाथि छानबिन गरी कारवाही गर्नुपर्ने, आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने उहाँले माग गर्नुभयो । मृतकका छोरा सागरले आफूहरुको माग पूरा नभएसम्म बाबुको शव नउठाउने बताउनुभयो ।

मृतककी बुहारी सावित्री कोइरालाले दुईवटा छोरा, बुहारी सघन उपचार कक्ष बाहिर कुरेर बसेपनि अप्ठ्यारो पर्दा खबर नगरी एक्कासी लडेर घाइते भएको खबर गर्न आएको बताउँदै शौचालय जाँदा नर्सले नलगे छोरालाई बोलाउनुपर्नेमा त्यसो नगर्दा ज्यान गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अप्रेशन भएको बिरामीलाई पाइप राख्नुपर्ने हो तर नर्सले पाइप झिकेर पिसाब फेर्न शौचालय पठाए, कमजोर बिरामी शौचालयमा लड्ने अस्पताल र नर्सको लापरवाही नभए कसको हुन्छ ?” मृतकका आफन्त शर्मिला ठकुरीले शल्यक्रिया सफल भएर चिया र केही झोल पदार्थ खाएर हासेर गफ गरेको र भोलि डिस्चार्ज गरेर घर पठाउने भनेको बिरामी अस्पतालको लापरवाहीले ज्यान गएपनि अस्पतालले आफ्नो कमजोरी नस्वीकारेको बताउनुभयो ।

उल्टै अस्पतालले राति ७ बजेसम्म पनि प्रहरी तैनाथ गरेर पीडित माथि नै दमन गर्न खोजेको बताउँदै उहाँले क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव नउठाउने बताउनुभयो । यता अस्पतालका मेडिकल डाईरेक्टर प्रा डा राकेश वर्माले अस्पताल र नर्सको कुनै कमजोरी नभएको दाबी गर्दै शौचालय गएका बिरामीलाई एक्कासी हृदयघात भएकाले ज्यान गएको बताउनुभयो ।
अस्पताल र मृतक पक्षबीच राति ७ बजेसम्म भएको वार्ता असफल भएपछि आफन्तले अस्पताल घेराउ गरी नाराबाजी गरेका छन् । रातिसम्म अस्पताल तनाबग्रस्त बनेको छ ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार