राजनीति अस्थिरताकै कारण सुशासन हुन नसक्दा भ्रष्टाचारले सीमा नाघेको छ : प्रकाशमान सिंह

राजनीति अस्थिरताकै कारण सुशासन हुन नसक्दा भ्रष्टाचारले सीमा नाघेको छ : प्रकाशमान सिंह


सत्ता गठबन्धनबाट काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार  प्रकाशमान सिंहले राजनीति अस्थिरताकै कारण सुशासन हुन नसकेको भन्दै भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । काठमाडौंस्थित बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदातासितको भेटघाटको क्रममा उनले मुलुकमा राजनीतिक अस्थिरताका कारण आम नेपालीको जीवन स्तरमा परिवर्तन आउन नसकेको बताएका हुन् । 

अबको निर्वाचनले मुलुकलाई राजनैतिक स्थायित्व प्रधान गर्ने भएकाले  यसतर्फ गम्भीरताका साथ सोच्न समेत मतदातालाई सिंहले आग्रह गरे । ''अवसर पाउँदा कसले के गरिरहेको छ ?  कुन राजनीति दल के गरिरहेको छ ? कुन नेता के गर्दैछन् ?  यी सब को लेखाजोखा गर्नुपर्छ  । यसलाई हेरेर मतदान गर्दा विवेकपूर्ण निर्णय लिनुपर्छ,'' उनले भने ।

नागरिकको चाहाना अनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचारको अन्त्य र विधिको शासन कायम गराउन  कांग्रेसलाई मत दिन उनले आग्रह गरे । नेता सिंहले शिक्षा र रोजगारी सुनिश्चितताका लागि आफूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे  । संकटमा मुलुकलाई निकास र जनताको  विकासको चाहना काँग्रेस मात्रै पुरा गर्न सक्ने उनको दाबी छ ।

नेपाली कांग्रेसका नेता सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको  सरकार बन्ने पनि बताएका छन् । 

 

Logo