एकीकृत समाजवादीकाे घोषणापत्र सार्वजनिकः आत्मनिर्भर अर्थतन्त्रमा जोड

एकीकृत समाजवादीकाे घोषणापत्र सार्वजनिकः आत्मनिर्भर अर्थतन्त्रमा जोड


नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।  

सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताएका छन् । 

कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र बजार व्यवस्थापन गर्ने कुरालाई घोषणा पत्रमा मुख्य प्राथमिकता दिइएको पार्टीमा महासचिव भुसालले बताए । किसानहरुलाई मलको अभाव हुन नदिनका लागि मल कारखानाको स्थापना गर्ने उल्लेख गरिएको छ । त्यसैगरी बाँझो भूमिको उपयोग, कृषि विमाको व्यवस्था, युवा लक्षित कार्यक्रम गर्ने कुरालाई पनि घोषणा पत्रको कार्यक्रममा समावेश गरिएको छ । 

कृषि योग्य जमिनमा सिंचाई पु-याउनका लागि पूर्व–पश्चिम मेघा नहर निर्माण गर्ने प्रतिवद्धता जनाइएको छ । नेपालको पानी नेपालमै भन्ने अवधारणाका साथ सो प्रतिवद्धता पनि घोषणा पत्रका अघि सारिएको महासचिव भुसालले स्पष्ट पारे  । उनले स्थानीय कच्चा पदार्थमा आधारित घरेलु, ग्रामिण, साना तथा मझौंला उद्योग स्थापना र संचालन गर्ने कुरालाई पनि घोषणा पत्रमा समावेश गरिएको बताए ।  

घोषणा पत्रमा कर प्रशासनमा सुधार गर्ने, भौतिक पूर्वाधार र यातायातको एकीकृत योजनावद्ध विकास गर्ने, हवाई सेवाको विकास र विस्तार गर्ने भनिएको छ । त्यसैगरी आयोजनाहरु मर्मतसम्हार गर्नका लागि एउटा एकीकृत युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गरी मर्मत सम्हारका सबै काम एउटै प्रणालीले गर्ने प्रणालीको विकास गर्ने कुरालाई पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । ऊर्जा उत्पादनमा वृद्धिका लागि जलाशाययुक्त बहुउद्देश्यीय जलविद्युत आयोजनाहरुको निर्माणलाई प्राथमिकता दिने योजना अघि सारिएको छ । 

शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउने कुरालाई प्रतिवद्धताको रुपमा अघि सारिएको पनि महासचिव भुसालले बताए । आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने आश्वासन पनि घोषणा पत्रमार्फत् दिइएको छ । मानव संशाधन विकास र विज्ञान प्रविधिको व्यापक प्रयोगमा जोड दिने नीति पनि घोषणा पत्रमा राखिएको छ । रोजगारीको अवसर सृजना गर्नका लागि गाउँ–सहरमा सहकारीको विस्तार गर्ने योजना अघि सारिएको छ । 

श्रमिक, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैगिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको हकहित, उपभोक्ता हित र गरिव तथा विपन्न वर्गको हितमा काम गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको छ ।  जातीय छुवाछुतलगायतका सामाजिक विभेदहरु मेटाउन पहल गर्ने, भ्रष्टाचारमुक्त सरकार, स्वच्छ एवम् पारदर्शी प्रशासन तथा सबल र सक्षम प्रदेश सरकार हुनुपर्नेमा पनि जोड दिने नीति लिइएको महासचिव भुसालले बताए । राष्ट्रिय हित एवम् स्वाभिमानको रक्षा तथा सीमा सुरक्षा र आवागमनको व्यवस्था गर्ने, स्वतन्त्र, असंलग्न, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने कुरा पनि घोषणा पत्रमा राखिएको छ । 

बैदेशिक लगानीका लागि सहज वातावरण निर्माण गर्ने प्रतिवद्धता पनि घोषणा पत्रमा जनाइएको छ ।

Logo