रूस बिना खाद्यान्न सम्झौता जारी राख्नु ‘जोखिमयुक्त’

रूस बिना खाद्यान्न सम्झौता जारी राख्नु ‘जोखिमयुक्त’


सामुद्रिक सुरक्षा करिडोरमार्फत महत्वपूर्ण युक्रेनी खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौताबाट पछि हटेपछि रूसले सोमबार आफ्नो सहभागिता बिना सम्झौता कार्यान्वयन जारी राख्नु ‘जोखिमयुक्त’ हुने बताएको छ ।

“रूसले यी क्षेत्रहरूमा नेभिगेसनको सुरक्षाको ग्यारेन्टी गर्न असम्भव  हुने बारेमा कुरा गरिरहेको अवस्थामा, यस्तो सम्झौता सम्भव छैन ।” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने । यसले फरक स्वरूप लिन्छ र यो धेरै जोखिमपूर्ण हुनसक्छ । 

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युक्रेनसँग भइरहेको खाद्यान्न सम्झौतामा आइतबार रूसले आफ्नो सहभागितालाई स्थगन गरेको थियो । 

रूस र युक्रेनबीच युद्ध चर्किरहेका बेला शनिबार क्रिमियामा युक्रेनी ड्रोन आक्रमण भएपछि रूसले उक्त सम्झौता अनिश्चितकालका लागि स्थगन गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि रूसी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले एक ट्वीटमा भनेका छन्, “रूसी सैन्य जहाजमाथि युक्रेनी ड्रोन आक्रमणको प्रयासपछि खाद्यान्न सम्झौता सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुनिश्चितता गरिएको छ ।”

संयुक्त राष्ट्रसङ्घ र टर्कीसँग रूस र युक्रेनबीच भएको खाद्यान्न सम्झौताले ‘ब्ल्याक सी’का  तीन वटा बन्दरगाहमा अड्किएका दुई करोड २० लाख युक्रेनी खाद्यान्न निर्यातका लागि मार्ग प्रशस्त गरेको छ । भोकमरीको आसन्न खतराको सामना गरिरहेका विश्वका गरिब राष्ट्रका लाखौं मानिसहरूले यो अति आवश्यक मात्रामा खाद्यान्न बजारमा पुग्ने र खाद्यान्नको मूल्य फेरि एकपटक किफायती हुन सक्ने समाचार सुनेर राहतको सास फेरेका समय रूसको यो निर्णय आएको थियो । 

युक्रेन र रूस दुवै विश्वमा खाद्यान्नको सबैभन्दा ठूलो निर्यातकर्ता हुन् । नाकाबन्दीका कारण विश्वभर खाद्यान्नको मूल्य बढेको छ । रूस र युक्रेनबीच खाद्यान्नलाई निर्यात गर्ने सम्बनधमा भएको यो सम्झौता अर्को महिनादेखि सकिँदै छ । -एएफपी

Logo