एमालेसँग मात्र देश बनाउने भिजन छ, जनताले बहुमत दिनुपर्छ -अध्यक्ष ओली

एमालेसँग मात्र देश बनाउने भिजन छ, जनताले बहुमत दिनुपर्छ -अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन् । चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको दाबी गरेका हुन् । 

‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो । फागुन ३ गतेसम्म सरकार बन्न दिइएन ।निर्वाचन आयोगबाट परिणाम राष्ट्रपति कार्यालय पुग्न अढाई महिना लाग्यो । अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्याऔं । तर त्यो टिकाउ भएन । जनताका काम गर्न व्यवधान कसले गरेको छ ? सबैले थाहा पाएका छन्,’ उनले भने ।

अध्यक्ष ओलीले एमाले फोड्न मध्यरातिसम्म संसद् बैठक राखेर अध्यादेश जारी गरिएको आरोप लगाए । एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पु-याई नयाँ पार्टी गठन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गरे ।

‘एमालेसँग मात्र देश बनाउने भिजन छ । काम गर्ने क्षमता छ । एमालेको सुदृढ बहुमतविना देशको विकास हुँदैन । सुशासन र विकासको बाटोमा एमालेले लैजान्छ । त्यसैले एमालेलाई बहुमत दिन आवश्यक छ । एमालेले जारी गरेको घोषणापत्र जनता अल्मल्याउन होइन, विकास गर्नका लागि हो । विकासका निम्ति प्रतिबद्ध छौं,’ उनले भने ।

अन्य दलका सरकारले देशको विकास नहुने उनले दाबी गरे । प्रशासनिक झन्झट र व्यवधान हटाउन पनि बहुमतको सरकार चाहिने अध्यक्ष ओलीले बताए ।

Logo