निर्वाचनमा मत माग्न जाने नेताहरुलाई विप्लव नेतृत्वकाे नेकपाले गाउँ-गाउँबाट लखेट्ने !

निर्वाचनमा मत माग्न जाने नेताहरुलाई विप्लव नेतृत्वकाे नेकपाले गाउँ-गाउँबाट लखेट्ने !


विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका छन् । 

मंगलवार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका हुन् । उनले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरुलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको बताए । उनले आफ्नो पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएको भन्दै भ्रष्टाचार गर्ने तर लोकतन्त्रवादी हुँ भन्दै जनताकोमा मत माग्न जाने नेताहरुलाई गाउँ–गाउँबाट लखेट्ने बताए । 

उनले भने– ‘चुनावको बारेमा यहाँ धेरै भन्नुपर्दैन । यो चुनाव नौटंकी हो । पाँच वर्ष भ्रष्टाचार र कमिसन, राष्ट्रघात र जनघात गरेर सर्वाङ्ग भएका तत्वहरुलाई फेरि सुनपानी छर्ने हो यहाँ । केही नयाँ ल्याएर केही पुरानालाई सुनपानी छर्ने हो । अब तिनीहरु जितेर आएभने के गर्छन् भन्दा अहिलेको भन्दा डरलाग्दो जनबिरोधी हर्कत गर्छन् । राष्ट्र बिरोधी हर्कत गर्छन् । त्यसो भएको हुनाले यो चुनावलाई आगामी दिनमा नेपाल कम्युनिष्ट पार्टीले सशक्त रुपले खारेज गरेर जाने नीति अगाडी सारेका छौँ । काठमाडौंमा बस्ने राष्ट्रघात, जनघात गर्ने, मानव बेचबिखन गर्ने अपराध गर्ने, भ्रष्टाचार र कमिसनको खेल गर्ने, अहिले जनताको बीचमा हामी सबभन्दा बढी लोकतन्त्रबादी नेता हुँ भनेर जाने तत्वहरुलाई एकपटक गाउँ गाउँबाट खेद्ने कार्यनीति अहिले महाधिवेशनले अगाडी सारेको कार्यनीति हो । एकपटक हामी जनसंघर्ष गर्छौं ।’
 
प्रवक्ता प्रकाण्डले दलहरुले घोषणापत्रमा नेताहरुको सम्पतीको छानबिन गर्ने कुरा राखेका उल्लेख गर्दै दुधको साँचि बिरालो भएको टिप्पणी गरे । सबैभन्दा बढी भ्रष्टले सम्पती छानबिन गर्ने कुरा गर्नु जनतालाई मुर्ख बनाउनु भएको उनको भनाई छ । 

उनले भने– ‘यो देशमा राजनीति गर्नेहरुले, व्यवसायीहरुले जति पैसा जम्मा पारेका छन् अथवा तिनी धनि भएका छन् । तिनको स्वामित्वमा पैसा छ । त्यो सबै छानबिन गर्ने भन्दैथे हिजो केही पार्टीका घोषणापत्र सार्वजनिक हुँदा । यो त दुधको साँचि बिरालो भयो । जो सबभन्दा बढी भ्रष्ट र सबभन्दा बढी यो देशको सम्पती कुम्ल्याएर बसेका छन् उनी मान्छेले सम्पती छानबिन गर्ने भन्छन् । जनतालाई मुर्ख बनाउने । श्रम गर्नु छैन । उत्पादन गर्नु छैन । जनतालाई लुटेको छ । अनि विदेशीहरुबाट भिख मागेको छ, खाएको छ । यस्तो स्थिति देशमा छ ।’
 
प्रवक्ता प्रकाण्डले पार्टीका केन्द्रदेखि गाउँ कमिटी सम्मका नेताले हरेक दुई महिनामा एक पटक भौतिक श्रम गर्ने र उक्त श्रमबाट प्राप्त रकम केन्द्रमा पठाउनुपर्नेल नीति पार्टीको रहेको उल्लेख गरे । त्यस्तै शहीद तथा बेपत्ता परिवारका सेवाका लागि ५ लाखको केन्द्रिय कोष खडा गरिने पनि जानकारी दिए । उनले पार्टीका नेता, कार्यकर्ताले परम्परादेखि चल्दै आएका पुराना जातिहरुको अन्त्य गरी नयाँ मानव जातिको निर्माण गर्न साम्यवादी जाति निर्माण गर्ने र हरेकले नामका पछाडी सी लेख्ने निर्णय भएको पनि बताए । 

Logo