प्रधानमन्त्री कप क्रिकेटः प्रदेश -१ र एपिएफकाे सानदार जित

प्रधानमन्त्री कप क्रिकेटः प्रदेश -१ र एपिएफकाे सानदार जित


अंकित सुवेदीको शतकको सहयोगमा मंगलवार प्रदेश -१ ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा वागमती प्रदेशमाथि ६९ रनको जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ दिएको ३ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा वागमती प्रदेश २ सय ३५ रनमा समेटिएको थियो । 

जवाफी ब्याटिङ गरेको वागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो । वागमतीका लागि नन्दन यादवले ४८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडेका थिए । ओपनर इशान पाण्डेले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७ र दुर्गेश थापाले २६ र रामनरेश गिरीले अविजित २८ रनबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् । 

वागमतीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश १ का लागि सार्वन यादवले सर्वाधिक ३ तथा दीपक जोशी, फिर्दोस अनसारी र कप्तान सिद्धान्त लोहनीले २–२ विकेट लिए । लव कामतको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेट गुमाएर ३ सय ४ रन जोड्न सफल भएको थियो । शतकीय पारी खेलेका अंकितले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित १ सय १० रनको व्यक्तिगत स्कोर बनाए । कप्तान सिद्धान्तले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ३ चौका र ८ छक्कासहित ७२ रनको अर्धशतकीय इनिङ खेल्दा विवेक मेहेताले ३० रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । 

प्रदेश १ को विकेट निकाल्दा वागमतीका रामनरेश गिरीले सर्वाधिक ५ विकेट आफ्नो नाममा लेखाए । इसान पाण्डे, प्रतिश जिसी, सूर्य तामाङ र नन्दन यादवले १/१ विकेट हात पारे ।

जितसँगै समूह बी को प्रदेश १ ले दोस्रो खेलबाट पहिलो जित निकालेको छ । दुई खेलबाट स्पष्ट जित निकालेको पुलिस ४ अंकका तालिकाको शीर्ष रहँदा प्रदेश -१ २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत मंगलवार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लवले सुदूरपश्चिम प्रदेशमाथि १० विकेटको फराकिलो जित निकालेको छ । खेलमा भुवन कार्कीको ४ विकेटको शानदार बलिङबाट एपिएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा भुवन कार्कीको कसिलो बलिङका कारण सुदूरपश्चिम प्रदेश २७ ओभरमा समेटिएको थियो । सुदूरपश्चिमले २७ ओभर खेल्दा सबै विकेट गुमाएर मात्र ६७ रन जोडेको थियो । 

६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपिएफले ११.२ ओभरमा बिना विकेट पूरा गरेको थियो । एपिएफका लागि ओपनरद्वय प्रदिप ऐरी र आशिफ शेखले अविजित क्रमश २५ र ४२ रन जोड्दै जित निश्चित गरेका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि कप्तान तथा विकेटकिपर राजु रिजालले सर्वाधिक २५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

कसिलो बलिङ गरेको एपिएफका लागि भुवन कार्कीका अलावा कमल ऐरी र मौसम ढकालले समान २/२ विकेट हात पार्दा किशोर महतो र अमर रौटेलाले १/१ विकेट निकाले ।

प्रतियोगितामा बुधवार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी तथा मुलपानी मैदानमा वागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । 
 

Skip This
Logo