प्रेतआत्माले जीवित मान्छेहरुलाई दुःख दिँदो रहेछ- प्रचण्ड
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशतावादी शक्ति सल्बलाउन थालेको बताएका छन् ।

पार्टी मुख्यालयमा आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘चिहानबाट भूतप्रेत ल्याउँदैमा त्यो ब्युतिने विज्ञानले मान्दैन तर प्रेतआत्मा आएर जीवित मान्छेहरुलाई दुःख दिने गर्ने रहेछन्,’ उनले भने, ‘कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ ।’

शहिदको बलिदानबाट प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्र उल्टाउन नदिने बताउदै अध्यक्ष प्रचण्डले आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, जनतालाई सकारात्मक परिणाम दिने, जनतालाई अझै राम्रोसँग परिचालन गर्ने, पार्टी एकतालाई बलियो बनाउने, पार्टीको वैचारिक लाइन अनुसार सांगठनिक विधिमा लगेर त्यसलाई बलियो पार्टीको रुपमा स्थापित गर्न जरुरी रहेको जिकिर गरे ।

‘हामीले आजभोलि पार्टी एकता ढिलो भएकोमा चिन्ता र सरकारले प्रभावकारी काम गरोस् भन्ने चिन्ता सुन्छौँ,’ उनले भने, ‘सरकारले राम्रा काम नगरेको होइन, गर्न नखोजिएका होइनन् । तर, जनताको आशा र अपेक्षा अनुसार काम भएनन् भन्ने प्रति हामी पार्टी नेतृत्वको ध्यान गहिरोसँग गएको छ ।’

२०५६ सालमा २०५६ सालमा वाग्लेको हत्यापछि जनयुद्धमा बलिदान दिनेको संख्या बढेको पनि प्रचण्डले स्मरण गरे ।