डेंगु आतंक: सातै प्रदेशको ५६ जिल्लामा संक्रमण, ६ जनाको मृत्यु

देशका ५६ जिल्लामा फैलिएको डेंगुको प्रकोपबाट अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक-एक जना रहेका छन् ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन १ गतेदेखि भदौ २२ गतेसम्म ३ हजार ८९९ जनामा डेंगुको संक्रमण देखिएको छ । जस अनुसार प्रदेश १ मा ८३१ जना, प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा २०१० जना, गण्डकी प्रदेशमा ८९६ जना, प्रदेश ५ मा ९७ जना, कर्णाली प्रदेशमा ३ जना र सुदुरपश्चिम प्रदेशमा २३ जनामा डेंगुको संक्रमण देखिएको हो । सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या प्रदेश नं. ३ मा देखिएको छ ।

चिकित्सकहरूले भने देशभर करिव ७० हजारभन्दा बढीलाई संक्रमण भएको हुनसक्ने अनुमान गरेका छन् । डेंगु संक्रमितमध्ये १० प्रतिशतमा लाक्षणिक र बाँकी ९० प्रतिशतलाई सामान्य ज्वरो हुने भएकाले समग्रमा ७० हजारको हाराहारीमा संक्रमित भएको आँकलन गरिएको हो । कर्णाली प्रदेशका २ जनालाई समेत डेंगुको संक्रमण देखिएको छ । पोखरामा पनि ५ जना प्रहरी र १० जना स्वास्थ्यकर्मीसहित करिब ५ सय जनामा डेंगुको संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अहिले बिरामीहरूको चाप दिनहुँ  बढिरहेको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । पाण्डेले आफ्नो अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मी डेंगु संक्रमित भई उपचार गराइरहेको बताए ।

अस्पतालले डेंगुका बिरामीका लागि दुईवटा वार्ड नै छुट्ट्याएको छ । सो अस्पतालमा अहिले डेंगुका १३ जिल्लाका ६० बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । देशभरका स्वास्थ्य संस्थाको डेंगुको आशंकामा जचाउँन जानेहरूको संख्या बाक्लो छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न नसकिने बताइसकेका छन् ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको ६ वर्षसम्मको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७०-७१ मा ३ सय ४ जना, वर्ष २०७१-७२ मा १ सय ३४ जना, २०७२-७३ मा १ हजार ५ सय २७ जना, वर्ष २०७३-७४ मा २ हजार १ सय ११ जनामा तथा वर्ष २०७४-७५ मा ८ सय ११ जनालाई डेंगु देखिएको थियो ।

डेंगुबाट सर्वसाधारण मात्रै होइन स्वास्थ्यकर्मी, प्रहरी, सांसददेखि मन्त्री समेत थलिएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?