ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्छुः ऊर्जामन्त्री भुसाल

ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्छुः ऊर्जामन्त्री भुसाल


ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्ने बताएकी छन् । 

सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेकी मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने बताएकी हुन् । बुधवार ललितपुर क्षेत्र नं. ३ को वाम–लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रमा बोल्दै उनले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने पनि उल्लेख गरिन् । 

मन्त्री भुसालले हस्तकला केन्द्रहरूको स्तरोन्नति गर्ने, पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने बताइन् । त्यस्तै स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनःनिर्माण, संरक्षण र उपयोग गरिने पनि उनले बताइन्  ।  
 
मन्त्री भुसालले निर्माणाधीन वागमती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गरिन् । उनले विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने बताइन् । अध्ययन सम्पन्न भएका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने उनको भनाई छ । 

उनले आफ्नो घोषणापत्रमा स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग/स्थानीय स्रोतको सामुदायिकीकरण गरिने, स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनकोे प्रवद्र्धन गरिने, जनसहभागितामुलक सरसफाई तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने र कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिंचाईको व्यवस्था, कृषि उपजको व्यवस्थित संकलन तथा बजारीकरण गरिने कुरा पनि समेटेकी छन् ।  
 
मन्त्री भुसालले हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता गरिन् । त्यस्तै महिला हिंसाको उन्मूलन र हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका हुने विषय पनि समेटेकी छन् । उनले ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने, क्लव र समूहलाई सवल तुल्याई परिचालन गर्ने पनि बताइन् । 

त्यसैगरी शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण गर्ने, ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता गर्ने तथा ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवद्र्धन गर्ने उनले उल्लेख गरेकी छन् । 

Logo