जटिल बन्दै डेंगु संक्रमण, मृतकको संख्या ६ पुग्यो

काठमाडौँ,

देशैभरि फैलिरहेको डेंगु संक्रमणका कारण सोमबारसम्म ६ जनाको मृत्यु भइसकेको छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा दुई तथा चितवन, सिन्धुपाल्चोक, डोटी र सुनसरीमा एक एकजनाको मृत्यु भएको हो।

मृत्युको कारणबारे विस्तृत विवरण आउन भने बाँकी रहेको जनाइएको छ। महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार मृत्यु हुनेहरू उमेरले वृद्ध हुनुका साथै उनीहरूमा डेंगु संक्रमण पोजेटिभसँगै कलेजो सम्बन्धी र स्क्रबटाइफस रोग पनि देखिएका छन् । डेंगु एक्लै संक्रमण हुँदा सामान्य व्यक्तिको मृत्यु नहुने र बिरामी आफैं पहिल्यै बहुरोगी, दीर्घरोगी तथा अन्य संक्रमण रहे मृत्यु हुने भएकाले मृत्युको कारणबारे विस्तृत जानकारी आएपछि मात्र यकिन रूपमा भन्न सकिने उनले बताए।

राजधानीका विभिन्न अस्पताल डेंगुका बिरामीले भरिएका छन् । सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना भर्ना भए । साउन यता यो अस्पतालमा मात्र १ हजार ९ जनामा डेंगु संक्रमण प्रमाणित भइसकेको छ । यस अवधिमा उपचारका लागि आएका १७ सय ९८ जनामा डेंगी परीक्षण गरिएको थियो।

दैनिक ३ सय जना भन्दा बढी संख्यामा डेंगुको लक्षणसहितका बिरामी उपचारमा पुगेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए । उपचारमा पुग्नेमा चमती, डल्लु, नरदेवीबाट बढी छन् । यस्तै कालीमाटी, खुसिबुँ, नयाँ बजार, ताहचल, टेकु, भोटेबहाल लगायत स्थानबाट पनि बिरामी पुगेका छन्।
नागरिकबाट