नेपाल कसरी दलीयकरण हुँदै छ ?
"नाम टानको, चुनाव दलको"
  • राजेन्द्रमान डङ्गोल –

अप्रत्याशित रूपमा आइदियो नतिजा । हुन त निर्वाचनको परिणामजस्तो कुरा प्रत्याशित नै कहाँ हुन्छ र ! मान्छेको जीवनमा प्रत्याशित लाग्ने कतिपय कुराहरू कहिलेकाहीँ अप्रत्याशित भइदिँदो रहेछ । त्यस्तै सावित भयो, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ‘टान’ निर्वाचन ०७६ को मत परिणाम पनि । प्रजातान्त्रिक अभ्यास थियो त्यो । तर विडम्बना– उम्मेदवारहरूले त जिते किन्तु व्यवसायीहरूले जितेको आभास भएन मलाई ।

०७६ भाद्र २० गते । पर्यटनबाटै देशको मुहार फेर्न सकिनछ भन्ने अठोट बोकेको टानको ४१औँ वार्षिक साधारण सभा र निर्वाचनको दिन । टानको इतिहास र यसको सुदूर भविष्य जोड्ने दिन । व्यावसायिक हक, हित र सह–अस्तित्वका खातिर संगठनले परिलक्षित गरेका लक्ष्यहरू हासिल गर्नका नयाँ उत्साह र उमङ्गका पाइलाहरू उठान गर्ने शुभ मुहूर्त । त्यसैले पनि साधारण सभाभन्दा त्यो दिन हुने निर्वाचनको परिणाम कस्तो आउला भन्ने खुल्दुली थियो मलाई, अन्य व्यवसायीहरूलाई जस्तै ।

बिहान घरबाट निस्कँदा रोकिएको थिएन, रातिदेखि परिरहेको अविरल झरी । सोच्दै थिएँ– ‘पानी पर्नु आफैँमा शुभ संकेत हो । त्यो शुभ संकेत ककसका लागि होला ? आज विजयको माला पहिरने सौभाग्य ककसले पाउलान् ?’ कस्तो हुटहुटी हो यो ! बेवास्ता नगरिरहन पनि मनले मान्दै नमान्ने ।

नौ बजे कार्यक्रमस्थल होटल सोल्टी क्राउन प्लाजा पुग्दा प्रवर्षणको प्रत्यावर्तन भइसकेको थियो । एकछिन अघिसम्म धुम्मिएको छ्याङ्ङ आकाश खुल्दै गयो । पाँच तारे होटलको वातावरण आफैँमा शरद ऋतुझैँ लाग्ने । जग्मगाउँदो वातावरण । ठीक त्यति नै बेला मलाई याद आयो– कुनै जमानामा टानका लागि बन्द हुन्थ्यो सोल्टीको ढोका । टानले समयमा बिल भुक्तानी गर्न नसक्दा राजधानीका अरू होटलहरूमा हल पाउन पनि मुस्किल परेको तीतो यथार्थ मेरो मानसपटलमा अझै ताजा छ । मैले कामना गरेँ– ‘टानको अहिलेको साखलाई हामीले जोगाइ राख्न सकौँ ।’ यद्यपि वर्तमान टान फेरि आर्थिक संकटमा पुगिसकेको छ ।

निर्वाचनको मैदानमा उभिएका दुवै समूहका उम्मेदवारहरूको समूहिक तस्बिर अङ्कित छुट्टाछुट्टै ब्यानरहरू टाँगिएका थिए, सभास्थल बाहिर । गलामा स्वयंको नाम र उम्मेदवारीको परिचय खुल्ने फोटोसहितको कार्ड झुन्ड्याएर पङ्क्तिबद्ध भई उभिइरहेका थिए, दुवै पक्षका उम्मेदवारहरू । र, साथमा उभिएका थिए युवतीहरू, मतदाताका हातहातमा पर्चा पत्र थमाउँदै । मतदाताहरूलाई आकर्षण गर्ने कायदा दुवै पक्षले कस्तो जानेका ! युवतीका ठाउँमा युवकहरू किन भएनन् ? नारीलाई प्रयोग मात्र किन गर्छ हाम्रो समाजले ? प्रश्नहरू मनमा त उब्जिए तर मुखबाट बाहिरिएनन् ।

खुलेको आकाशजस्तै देखिन्थे उम्मेदवारहरू । मतदाताहरूसित हात जोडेर मत माग्दै थिए उनीहरू । चुनाव जित्नेमा विश्वस्त थिए उनीहरू सबैसबै । विश्वस्त नहुन् पनि किन ! दुई दिन अघिमात्र भएको उम्मेदवार परिचयात्मक कार्यक्रममा हजार–हजार जनाको उपस्थिति भएपछि । मत गणना नहुन्जेल त सबैले जित्छन् । त्यसपछि मात्र हो हारजित हुने ।

०००

‘नमस्कार ! म फलानो समूहबाट फलानो पदको उम्मेदवार । हजुर त मेरै मान्छे हो नि । भोट त मैले नै पाउँछु नि ।’ यस्तैयस्तै आवाज प्रस्फुटन भइरहेको थियो, सबै उम्मेदवारका मुखारविन्दबाट । कति मिठो बोली उम्मेदवारहरूको ! यस्तै बोलीवचन चुनाव जितिसकेपछि पनि सुन्न पाइएला त ? सभाहलतर्फ लम्कँदै गर्दा सोध्दै थिएँ म आफैँलाई ।

उनीहरूको सामु पुग्दा विनीत भएर आ–आफ्नै पक्षमा मतको याचना गरे मसित । तैपनि एक भोट भए पनि पाइहालिन्छ कि भन्ने आस हुँदो हो । तिनलाई के थाहा म मतदाता हो कि होइन भनेर ।

उम्मेदवारहरू चिनेका थोरै; नचिनेका धेरै । नमस्ते गरे, चिनेकाले र नचिनेकाले पनि । यतिसम्म कि चुनावअघि काहीँकतै भेट हुँदा औपचारिकता निर्वाह गर्न नजान्नेले पनि रामै्रसित निर्वाह गरे । दुवै समूहका चौँतीस उम्मेदवारमध्ये चौध जनालाई चिन्थेँ म ।

नचिनेकाहरूको त कुरै छाडौँ, मैले चिनेका ती चौध जनामा पनि कतिले मलाई चिन्दथे भन्ने कुरामै म अनभिज्ञ थिएँ । जे होस्, ऐन मौकामा नमस्ते खान पाउनु पनि कम गर्वको कुरा हुँदो रहेनछ । मैले थाहा पाएँ– मतको शक्ति त यस्तो पो हुँदो रहेछ !

व्यवसायीहरूको सघन उपस्थितिले सभाहल अगाडिको स्वागत कक्ष खचाखच भइसकेको थियो । एकातिर सभाहल आउजाउ गर्नेको ताँती र अर्कोतिर परिचय पत्र लिनेहरूको धुइरो । परिचय–पत्र त उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्दा नै दिनुपर्थ्यो  वा टानले पहिले नै एजेन्सीहरूमा पुर्याइदिनुपर्थ्यो । कस्तो अचम्म ! टानजस्तो संयन्त्र भएको संस्थाको सदस्यले परिचय–पत्रका लागि लाइनमा उभिनुपर्ने । त्यो पनि साधारण सभाको दिनमा । व्यवस्थापन कमजोरी प्रस्ट देखिन्थ्यो, निवर्तमान हुन लागेको कार्यसमितिको । मेरो मनले भन्दै थियो– ‘अघिल्लो निर्वाचनमा व्यवस्थापन सम्बन्धी ज्ञान भएकालाई व्यवसायीले चिनेनछन् । यसपाली कम्तीमा यस्तो नहोस् ।’

०००

भित्र सभाहलमा साधारण सभा चल्दै थियो । प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुँदै थियो तर वार्षिक साधारण सभाको चासो थिएन धेरैलाई । निर्वतमान हुन लागेको कार्य समितिले दुई वर्षमा मारेको छलाङ ताजै थियो । आर्थिक प्रगतिको त भो कुरै नगरौँ ! सोचेँ– ‘मलाई पनि किन बस्नु पर्यो र हलभित्र ।’ म पनि के कम ! निस्केँ बाहिर ।

चुनावी मैदानमा उत्रेका थिए काँग्रेसका दुई खेमा एकातिर र नेकपा अर्कोतिर । चटारो थियो उम्मेदवारहरूलाई, वर्षामासको किसानलाईझैँ । भ्याइनभ्याइ थियो उनीहरूलाई, मतदातासित हात जोडेर अन्तिम पटक मत माग्न । एकजना सदस्यका उम्मेदवारले मसित आएर भन्दै थिए, “चुनाव लड्ने काम ठीक होइन रहेछ । नमस्ते पनि कति मात्रै गर्नु । भोट चाहिँ दिने हो कि होइनन् ।”

‘नमस्ते’ भोटकै लागि मात्र गरिन्छ र ? मलाई सोध्न मन थियो ।

तर, सोधिन ।

उम्मेदवारहरूजस्तै चापाचाप थिए, चुनाव लडाउनेहरू अर्थात् उम्मेदवारहरूलाई दलका टिकट दिलाइदिनेहरू । यथार्थमा यो निर्वाचन व्यवसायीहरूको कहाँ नै थियो र ! प्रतिस्पर्धा विचरा उम्मेदवारहरूको बीचमा कहाँ नै थियो र ! थियो त चुनाव लडाउनेहरूको बीचमा । फगत उनीहरूकै अस्तित्वको लडाइँ थियो, निर्वाचन नामको त्यो निर्वाचन ।

टानमा टानको निर्वाचन हुन छाडेको त युग बितिसक्यो, एकादेशको कथाजस्तै । प्रतिस्पर्धा त वामपन्थी र प्रजातान्त्रिकको बीचमा पो हुनेगथ्र्यो । पछि थपिए, लोकतान्त्रिक र नयाँ शक्ति भनिनेहरू । नयाँ शक्ति चाहिँ अहिले समाजवादी भएका रे ! हो, यो चुनाव उनीहरूकै पनि थियो । अस्तित्वको यो लडाइँमा उनीहरू पनि सामेल थिए, महाभारतमा कृष्णको भूमिकामा जस्तै । बरु शकुनिहरूको दुःख छैन; वामपन्थी र प्रजातान्त्रिकभित्रै कति छन् कति ।

०००

एकातिर टानका खेलाडीहरू एउटा मतदातालाई तानेर एउटा कुनामा लान्छन् । कान फुक्छन् । फेरि अर्कोलाई अर्को कुनामा लान्छन् र त्यसै गर्छन् । मतदाताहरू मुन्टो हल्लाएर फर्कन्छन् । अर्कोतिर समर्थकहरू आ–आफ्नै किसिमका व्याख्या र विश्लेषण गर्दै, लख काट्दै । उनीहरूलाई पनि फुर्सद कहाँ थियो र । आखिर कुतूहल न हो ! सबैजना आ–आफ्नै तालगाँठीमा थिए । एउटा कुनामा बसेर पढ्दै थिएँ म सबैलाई । हेर्न लायक थिए, तमाम दृश्यहरू ।

टहलिँदै थिएँ म, सोल्टी परिसरमा । सकसक यथावत थियो मनभित्र ।

‘ओहो डङ्गोलजी के छ खबर ?’ एकजना पर्यटनका समकालीन अग्रज टुप्लुक्किए । तीस वर्षदेखिको संगत भए पनि धेरै लामो अन्तरालपछि जम्काभेट हुँदा झण्डैले नचिनेको । चालीसको दशकमै फुलिसकेको केसलाई कालो बनाएपछि चिनिहाल्न कठिन हुने नै भो । मनलाई तन्नेरी राखिरहनु पर्ने उनी कपाललाई किन सेतो देख्न/देखाउन चाहन्थे र !

‘तपाईं पनि भोट हाल्न आउनु भएको ?’ मैलै ठट्टयौलो पाराको प्रश्नले घोचेँ उनलाई ।

‘आफू त ट्रेकिङ व्यवसायी भए पो भोट हाल्नु ! रमाइलो हेर्न आएको । यसपाली कालेले पनि उम्मदवारी दिएको छ रे नि ! माहोल उसैको पक्षमा छ भन्छन् । जित्ला त ? के लाग्छ तिमीलाई ?’

उम्मेदवार भएका साथीलाई मनोबल बढाउन आएका उनी । सायद उनलाई टानको राजनीति थाहा थिएन । एउटाको माहोल राम्रो हुँदैमा सबैलाई कहाँ हुन्छ र ।

मैले भनेँ, ‘खोइ ! के पो होला । कसैको विचार, व्यवहार र क्षमताले जित्दैन यहाँ । यहाँको वास्तविकता त अर्कै छ, तपाईंको कपालजस्तै । तपाईंको कपाल अहिले जति कालो छ त्यति नै सेतो छ होइन र ! यही हो टानको वास्तविकता ।’

उनको कुतूहल मेटाइदिएँ मैले ।

दुईदेखि छ बजेसम्मै चल्यो, मतदान कार्यक्रम । त्यतिखेरसम्म कसैले हारेका थिएनन् । मत गणनापछि सुरु भयो हार र जित । सबैले त कसरी जित्थे र ! केही हार्दै गए, कोही जित्दै । अन्ततः चौँतीसमध्ये सत्रले मात्र जिते । दुवै पक्षका लगभग आधाले जिते, आधाले हारे । त्यो आधा जितमा दुवै पक्ष खुसी थिएनन् । आधा–आधा त एक हुनु पर्ने हो तर त्यस्तो आभास भएन मलाई ।

कति शक्तिशाली हुँदोरहेछ मत भन्ने कुरा ! जीत र हार छुट्याई दियो । मतादेशलाई स्विकार्नै पर्यो ।

सोचेको जस्तो हुँदोरहेछ र मत परिणाम । आफूलाई आउँछ भनेको भोट आउदो रहेनछ । बरू नगर्नेको चाहिँ आउँदो रहेछ । त्यसैले अप्रत्याशित बनाइदिँदो रहेछ परिणामलाई र रोचक पनि । मतदाता उम्मेदवारहरूको वशमा नहुँदो रहेछ । मतदाता स्वतन्त्र हुन्छ भनेको यही रहेछ । यस्तै देखाइदियो मत परिणामले । राजनीति भनेको पनि त यही हो । आखिर गोप्य मतदान न हो !

प्रमुख निर्वाचन अधिकृतले अन्तिम परिणाम सुनाउँदै गर्दा मेरो मनमा लागिरहेको थियो– ‘यो जितहारले नेकपा र काँग्रेसभित्र फेरि कस्तो कलह जन्माउने हो, चुनावी नायकहरूका बीचमा ! फेरिको कुन पात्र खलनायक साबित हुने हो !’

आखिर यस्तो परिणामलाई स्विकार्नुपर्ने रहेछ त यसैमा किन सहमत हुन सकेनन् ? कसैले हार्नु त पर्दैनथ्यो । समय र शक्तिको बर्बाद त भयो नै; ठूलै धनराशीको पनि । निर्वाचनको यो परिणामबाट कदाचित् पाठ सिक्लान् त व्यवसायीहरूले ? भोलिपल्ट बिहान चारबजे होटल सोल्टीबाट घर फर्कंदै गर्दा यस्तैयस्तै कुराहरू पर्गेल्दै थियो, मेरो मनले ।