‘माननीयज्यू ! मानिस र फोहर एकै स्थानमा रहन सक्छ कि सक्दैन ?’

वरिपरी हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधानमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ । आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ ।

पाँच मिनेटमै टाउको दुखेको अनुभव हुन्छ । हरियो डाँडाबीचको यो गाउँमा बस्नु स्वास्थ्य र वातावरणका लागि चुनौतीपूर्ण छ । देशको राजधानी काठमाडौँले आफू स्वच्छ बन्न यहाँ फोहर पठाउने गरेको १४ वर्ष बितेको छ । तीन वर्षका लागि लैजाने भनिएको सिस्डोलको डम्पिङ साइटमा सरकारले २०६२ जेठ २२ गतेदेखि फोहर फाल्न थालेको थियो ।

सम्झौता गरेको भन्दा ११ वर्ष बढी समय बिते पनि विकल्प तयार भइसकेको छैन । दुई किमी टाढाको बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न शहरी विकास तथा भवन निर्माण विभागले स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण शुरूगरेपनि गति सुस्त रहेको स्थानीयवासीको गुनासो छ । विभागले शिलान्यास कार्यक्रममा नुवाकोटका तीनै तहका जनप्रतिनिधिलाई थाहा नदिएको भन्दै स्थानीयवासी रुष्ट छन् । पारदर्शी रुपमा काम नगरेकाले सिस्डोलकै नियति बञ्चरेडाँडाले पनि भोग्नुपर्ने जनप्रतिनिधिको आशङ्का छ ।

फोहर फाल्न थालेको १४ वर्षमा सिस्डोलमा पहाड नै बनेको छ । फोहरको पहाडमा पहिरो गएर सिस्डोलको सडक बिग्रिएको छ । सडककै कारण यस क्षेत्रका करीब ५०० परिवारका ५० हजार मानिसको आवतजावतमा समस्या भएको छ । फोहरबाट निस्कने तरल पदार्थ (लिच्चड) को सिस्डोलमा कुलो नै बगेको छ ।

लिच्चडबाट तीन वटा पोखरी बनेका छन् । पोखरीमा लामखुट्टे, झिङ्गालगायतका कीटाणु निकै देखिन्छ । राजधानीमा डेङ्गुको सङ्क्रमण फैलिएको समाचार सार्वजनिक भइरहेका बेला यहाँका स्थानीयवासी भयभित छन् । राजधानी नजिकैको यो स्थानबाट अन्य रोगको सङ्क्रमण फैलन सक्ने भए पनि रोकथाममा कुनै निकायको ध्यान नगएको ककनी गाउँपालिका–२ का अध्यक्ष केदार पौडेलले बताए।

सिस्डोल जाने बाटो बिग्रिएको तीन महीना बितिसक्दा पनि काठमाडौँ महानगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान नसकेको उनले बताए। सोमबार प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिस्डोल र बञ्चरेडाँडाको स्थलगत अनुगमन गर्ने भनेपछि आइतबार मात्र अर्को बाटोमा माटो हालेर खाल्डाखुल्डी पुरिएको स्थानीयवासी राजाराम खत्रीले सुनाए ।

वर्षामा बिग्रिएको बाटोमा हालिएको माटोमा समिति सचिवालयको सवारी फसेको थियो । फोहर लैजाने सम्झौता गर्दा गरिएको व्यवस्थाअनुसार महानगरपालिकाले ५० श्यया अस्पताल निर्माण, एक घर एक रोजगार, विद्यालयमा शिक्षक शिक्षिकालगायत जनशक्ति व्यवस्थापन, छात्रवृत्तिको व्यवस्थालगायत बुँदा अझै कार्यान्वयन नभएको गाउँपालिका वडा नं– १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले बताए।

फोहर फाल्ने सम्झौता गर्दा महानगरपालिकाले कोल्पुखोलाको पानी पिउन योग्य हुनेगरी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन । लिच्चडको कुलो सिधँै कोल्पुखोलामा मिसिन्छ । खोलाको पानी प्रदूषित भएपछि घाउ चोट लागेकाले खोला तर्दा रोग लागेर मरेको घटना स्थानीयवासी श्रीराम ढुङ्गानाले समितिको संसदीय टोलीलाई सुनाए।

“महानगरपालिकाले पटक/पटक गरेको सम्झौता कार्यान्वयन नभएकाले बञ्चरेडाँडामा पनि सिस्डोलकै जसरी अव्यवस्थित रुपमा फोहर फाल्न खोजिएको छ, सिस्डोल व्यवस्थित नगरेसम्मका लागि असोज १ गतेदेखि यहाँ काम गरिरहेका सबै यन्त्र काठमाडौँमै फर्काउँदैछौँ”,उनले भने।

स्थानीयवासीले समिति सभापति कल्याणीकुमारी खड्कालाई ज्ञापनपत्र पेश गर्दै समस्या समाधानको पहल गरिदिन समेत माग गरे । संसदीय समूह आउने जानकारी समेत प्रभावित जनता एवं जनप्रतिनिधिलाई नदिइएको भन्दै धुनिबेशी नगरपालिका–१ का अध्यक्ष चन्द्रबहादुर तामाङले गुनासो गरे। कोल्पुखोला वारिपारिका दुई जिल्लाका दुवै स्थानीय तहका गरी चार वडा क्षेत्रमा फैलिएको दुर्गन्ध एवं झिङ्गाका कारण चियाखाजा समेत खान नसकिने गरेको उनले सुनाए।

स्थानीय विश्वास ढुङ्गानाले संसदीय समितिबाट स्थलगत अध्ययनमा पुगेका सांसदहरुलाई प्रश्न गरे, ‘माननीयज्यू मानिस र फोहर एकै स्थानमा रहनसक्छ कि सक्दैन ?’ । काठमाडौँमा मानिस र फोहर एकै स्थानमा रहन नसक्ने यहाँ कसरी राख्न सकिन्छ भन्ने यहाँका स्थानीयवासीको भनाइ छ । यस्तो प्रश्न यस क्षेत्रका अधिकांश मानिसले संसदीय समितिलाई सोधेका थिए ।

स्थानीयवासीको गुनासो सम्बोधन गर्दै सभापति खड्काले फोहर अवरुद्ध भएको सडकमा बिजुलीको पोल ढल्न लाग्दासमेत नउठाएको देखिएको सुनाए । “फोहरको थुप्रोले कोल्पुखोला थुनियो भने यस क्षेत्रमा अझ ठूलो समस्या आउन सक्छ, थोरै जनसङ्ख्या भएको स्थानमा रोग र विपत्तिको समस्या आउन नदिन बेलैमा उपयुक्त कदम चाल्न समितिका तर्फबाट पहल गर्छौं”–उनले भने ।

फोहर लैजाने बेलामा एक गाडी फोहर हालेपछि माटोले पुरेर व्यवस्थापन गर्ने उल्लेख गरिएको थियो । तर अहिले सिस्डोलमा भने मरेका जीवको लादीसमेत दुर्गन्धित अवस्थामा सडकमै फालेको देखिन्छ । गन्ध हटाउन कुनै औषधिजन्य पदार्थ पनि हालिएको छैन ।