यू-१९ एसिया कपः नेपालको सान्त्वना जित, यूएई १६० रनले पराजित

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपाल विजयी भएको छ । यूएईमाथि १६० रनको फराकिलो जित हात पारेको हो । यसअघि मारियन्स क्रिकेट ग्राउण्ड, श्रीलंकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

नेपालले दिएको २८६ रनको ठूलो लक्ष्य पछ्याउँदै यूएईले ३४.४ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । यूएईका लागि व्रित्य अरविन्दले सर्वाधिक २८ रन बनाए । अन्य ब्याट्सम्यान नेपाली बलरका सामू टिक्न सकेनन् ।

नेपालका लागि सागर ढकालले तीन तथा राशिद खान, पवन सर्राफ र सुर्य तामाङले समान २/२ विकेट लिए । ८ रन जोड्दा नेपालले दुई विकेट गुमाइसकेको थियो । तेस्रो विकेटका लागि खेलेका कप्तान रोहितकुमार पौडेल ६८ रनमा आउट भए । उनले आशिफ शेखसँग ७१ रन तथा चौथो विकेटको लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरेका थिए ।

आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की एक रनमा आउट भए । कुशल मल्ल २२ रनमा आउट भए । आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । सागर ढकाल २ रनमा नटआउट रहे ।

लगातार दुई खेल हारेसँगै समूह चरणबाट बाहिरिएको नेपालका लागि यो जित सान्त्वना मात्र रहेको छ । आफ्नो पहिलो खेलमा श्रीलंकासँग पाँच तथा दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।