साँढे तीन हजार हुम्लीले लिए सीमा पास

हुम्ला,

छिमेकी मित्रराष्ट्र चीनमा काम गर्न जानका लागि तीन हजार ५०० हुम्लीले सीमा पास बनाएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका खुलेपछि कामको खोजीका लागि वैशाखदेखि उनीहरुले नयाँ सीमा पास नवीकरण गरेको जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।

यो नाका हिमपातका कारण वर्षमा छ महीना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि बन्द भई जेठदेखि पुनः हिल्सा नाका खुल्छ । अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरु दैनिक सीमा पास लिन आउने गरेको सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

छिमेकी राष्ट्र चीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् । जिल्लाका अन्य सर्केगाड गाउँपालिका र नाम्खा गाउँपालिकाका युवाले पनि जिल्ला प्रशासनबाट सीमा पास बढी बनाएका सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।

हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रुपमा त्यसतर्फ जाने गरेको सिमकोट गाउँपालिका–२ निवासी उपेश भण्डारीले जानकारी दिनुभयो । हिल्सा नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा रोजगारीका लागि यहाँका युवा जाने गरेका छन् । केही समय अगाडि चिनियाँ सरकारले हुम्ली कामदारको सीमा पास खोसेर फिर्ता पठाएको थियो । तर पछि चीनको ताक्लाकोटमा तीस किलोमिटरभन्दा टाढा जान नदिने सहमतिमा हुम्ली कामदारले काम गरिरहेको ताक्लाकोटमा पुगेका भण्डारीले जानकारी दिनुभयो । हुम्लाका नागरीकले बर्सेनि यसरी नै रोजगारीका लागि चीनको ताक्लाकोटमा कामदारका रुपमा जाने गर्छन् ।

हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा १०० देखि १८० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका उजिर बोहराले जानकारी दिनुभयो । कामदारका रूपमा बर्खायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई हुम्लीले मनग्य आम्दानी गर्दै आएका छन् । हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रुपैयाँ कमाउने गर्छन् ।

ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मुख्य स्थलका रूपमा परिचित हुँदै आएको छ । हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन् । हुम्लाबाट जडीबुटी, काठ, हस्तकलाका सामग्री चीनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ भने नेपालीले दैनिक उपभोग्यको सामान, लत्ताकपडा, निर्माणसम्बन्धी सामग्री आयात गर्ने गरेका छन् ।

हुम्लीले मैदा, खाद्यपदार्थ लगायतका सामग्री मनग्य आयात गर्दै आएका छन् । धेरै पहिले कमाईका लागि भारत जाने गरेका हुम्लीका लागि केही वर्षअगाडि देखि चीन प्रमुख आयस्रोत स्थल बन्दै गएको छ । गत वर्ष ताक्लाकोटमा काम गरेबापत प्रतिव्यक्ति १०० देखि २५० चिनियाँ युवान दिएपछि यस वर्ष कामका लागि ताक्लाकोट जाने बेरोजगार हुम्लीको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।
रासस