डेंगुको उपचारपछि मन्त्री खनाल घर फिर्ता, वामदेवलाई डेंगु देखिएन

काठमाडौं,

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गुको उपचारपछि घर फर्कनु भएको छ । रोगबाट सङ्क्रमित भई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउनु भएका उहाँ सोमबार घर फर्कनु भएको अस्पतालका बजार तथा व्यापार विकास विभागका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो ।

उहाँले मन्त्री खनालको सफल उपचार गरेपछि घर फर्काइएको बताउनुभयो । मन्त्री खनाललाई गत भदौ १७ गते एक्कासि ज्वरो आएपछि उपचारका लागि पुल्चोकस्थित निदान अस्पताल जानुभएको थियो । उपचारका क्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको थियो ।

टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो । सरुवा रोग अस्पतालमा शैयाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार भएको थियो । उहाँको उपचार डा विनय रेग्मीसहितको टोलीले गरेको थियो ।

वामदेवलाई देखिएन डेंगु

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेङ्गु नभएको पुष्टि गरिएको छ । उहाँका स्वकीय सचिव दीपक टमट्टाले रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण नभएको र रुघाखोकीको कारणले आराम गरिरहेको जानकारी गराउनुभयो ।

यसअघि बाँकेका प्रदेश सांसद आइपी खरेललाई डेङ्गुको सङ्क्रमण देखिएको थियो । उहाँ टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि घर फर्किसक्नु भएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको उच्च जोखिम देखिएको छ ।