राष्ट्रिय स्वतन्त्र पार्टीले भेट्ला त राष्ट्रपति बनाउन व्यक्ति ?

राष्ट्रिय स्वतन्त्र पार्टीले भेट्ला त राष्ट्रपति बनाउन व्यक्ति ?


पूर्वसञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । 

पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’ को नाम दिएको छ । बिहिबार पार्टी सभापति लामिछानेले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् । आगामी  मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत ठूला दलले सार्वजनिक गरिसकेका छन् । के–के छ त ‘वाचापत्र’ मारु 

राष्ट्रिय स्वतन्त्र पार्टीले १० वर्षदेखि दलमा नरहेको व्यक्ति राष्ट्रपति रहने र राष्ट्रियसभाका अध्यक्ष पदेन उपराष्ट्रपति रहने शासकीय स्वरुपको परिकल्पना गरेको छ । बिहीबार सार्वजनिक वाचापत्रमा कुनै पनि दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक राष्ट्रपति बन्न पाउने व्यवस्था गर्ने स्वतन्त्र पार्टीले उल्लेख गरेको छ । राष्ट्रपति चयनका लागि वडाध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत निर्वाचन मण्डल बनाउने उसले योजना सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकारी प्रमुखको रुपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको परिकल्पना गरेको छ । मुख्यमन्त्रीले फरक लिंगका व्यक्तिलाई उपमुख्यमन्त्री र जिल्ला प्रमुख नियुक्त गर्नेछन् । जिल्ला प्रमुखले प्रदेश मन्त्रिपरिषदको सदस्य भएर काम गर्ने स्वतन्त्र पार्टीको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालको प्रदेश प्रमुख पद र जिल्ला समन्वय समिति खारेज गर्ने घोषणा गरेको छ ।

राष्ट्रियसभा गैरदलीय
पार्टीले ३५ सदस्यीय राष्ट्रिय सभा रहने र यो गैरदलीय हुने परिकल्पना गरेको छ । कम्तीमा ६ वर्ष कुनै पनि दलमा नलागेको व्यक्ति राष्ट्रिय सदस्य हुन पाउनेछन् । वडाध्यक्षदेखि प्रतिनिधिसभा सदस्यसम्म सम्मिलित निर्वाचन मण्डलले राष्ट्रियसभा सदस्य चयन गर्नेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक परिषद खारेज गर्ने र संवैधानिक आयोगहरुमा नियुक्ति सिफारिस गर्ने राष्ट्रियसभाले गर्ने परिकल्पना गरेको छ । राष्ट्रियसभाको बहुमतले सिफारिस गरेको व्यक्ति प्रतिनिधिसभाबाट सुनुवाइ गरी नियुक्ति गर्ने पार्टिको घोषणा छ । अहिलेका समावेशी सम्बन्धी आयोग खारेज गरी अधिकार सम्पन्न राष्ट्रिय समानुपातिक समावेशी प्रवद्र्धन आयोग गठन गर्ने पनि पार्टीले घोषणा गरेको छ ।

चितवनलाई आर्थिक राजधानी

चितवनलाई आर्थिक राजधानी बनाउने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसका लागि चाहिने कानुनी प्रावधान, लगानी, जनशक्ति, उर्जा आदि विभिन्न पक्षलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताएको छ । त्यसका लागि जोनिङ पद्धतिमार्फत चितवन सहरी योजनाको सुरुवात गर्ने, २५० मेगावाटको सौर्य उर्जा प्लान्ट बनाउने, वार्षिक एसिया व्यवसाय कन्फरेन्स गर्ने र नेपालको दोस्रो स्टक मार्केट स्थापना गर्ने पनि पार्टीको घोषणा छ । चितवनमा हरित नारायणी करिडोर निर्माण गर्ने र कर्पोरेट हेडक्वार्टर चितवनमा राख्ने संस्थालाई विशेष सहुलियत दिने घोषणा पनि पार्टीले गरेको छ ।

सातै प्रदेशमा ७५० शैय्याको अन्तर्राष्ट्रिय अस्पताल

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक प्रदेशमा अत्याधुनिक प्रयोगशाला र ७५० शय्याको विशिष्ट विज्ञसहितको अन्तर्राष्ट्रिय अस्पताल रहने घोषणा गरेको छ । त्यस्तै जिल्लामा इन्टरनल मेडिसिन, प्रसुति तथा स्त्रीरोग, एनेस्थेसिया, फिजिसियन, बालरोग, हाडजोर्नी सामान्य शल्यचिकित्सा र मानसिक रोगको विज्ञसहित ५० देखि १०० शय्याको अस्पताल बनाउने पनि घोषणा छ । हाल सञ्चालनमा रहेका र नयाँ एम्बुलेन्सलाई एउटै छातामुनि ल्याई राष्ट्रिय एम्बुलेन्स सेवा स्थापना गर्ने र त्यसमा पहिलो चरणमा ३५ हवाई र ७५३ सडक एम्बुलेन्स थप्ने स्वतन्त्र पार्टीले घोषणा गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १ कक्षाभन्दा मुनि ३ वर्षको अनिवार्य प्रारम्भिक शिक्षा लागू गर्ने घोषणा गरेको छ । त्यस्तै प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था हटाउने र विश्वविद्यालय परिषदद्वारा क्षमता, योग्यता, वरिष्ठता र योगदानका आधारमा कुलपति नियुक्ति गर्ने स्वतन्त्र पार्टीको भनाइ छ । विदेशमा कार्यरत नेपाली मूलका प्राध्यापक र अनुसन्धानकर्तालाई एकल सेमेस्टर वा स्थायी रुपमा नेपाल फर्किने अवसर प्रदान गर्ने पनि उसको घोषणा छ ।विद्यार्थीले भविष्यमा कमाएर तिर्ने गरी नेपालमै स्नातक र उच्च अध्ययन गर्नेका लागि सरकार जमानीमा विना धितो शिक्षा कर्जा दिने घोषणा पनि गरेको छ ।

बालुवाटार काण्डको फाइल खोल्ने

स्वतन्त्र पार्टीले भ्रष्ट्राचार आशंका गरिएका र देशव्यापी विवाद र बहस भएका मुद्दाको फाइल खोल्ने घोषणा गरेको छ । जसमा ललिता निवासको सरकारी जग्गा किनबेच काण्ड, वाइडबडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यती र ओम्नी काण्ड, बेटी पढाउ बेटी बचाउका लागि साइकल खरिद काण्ड, प्रिन्टिङ प्रेस खरिद काण्ड रहेका छन् । त्यस्तै बुढीगण्डकी जलविद्युत आयोजना र अन्य साना ठूला काण्डको फाइल खोल्ने पार्टीको घोषणा छ ।

त्यस्तै स्वतन्त्र पार्टीले विदेश वा स्वदेश जहाँ रहेको भए पनि हाल बसोबास गरिरहेकै ठाउँबाट मतदानको व्यवस्था गर्ने घोषणा गरेको छ ।त्यस्तै राइट टु रिजेक्ट (कसैलाई भोट दिन्न भनी मत दिने अधिकार) र राइट टु रिकल (जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार) को व्यवस्था गर्ने पनि उसको घोषणा छ । राष्टिय निर्वाचनहरुमा विद्युतीय मतदान यन्त्र पयोग गर्ने, प्रत्यक्ष निर्वाचनमा न्युनतम ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्ने पनि स्वतन्त्र पार्टीको घोषणा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २ वर्षभित्र सार्वजनिक कम्पनीहरुको कार्य समितिमा कम्तीमा ३३ प्रतिशत ‘महिला र अन्य’ लिंग अनिवार्य गर्ने, दलित तथा सीमान्तकृत समुदायलाई लक्षित गरी सीपमूलक तथा उद्यम तालिमका लागि १ अर्बको समावेशी तथा समन्याय कोष स्थापना गर्ने घोषणा गरेको छ ।मानव बेचबिखनमा परेका, घरेलु हिंसा पीडित दुव्र्यहरमा परेका एसिड आक्रमण पीडित व्यक्तिको पुनस्थापनाका लागि ५ अर्ब रुपैयाँको करुणा कोष स्थापना गर्ने पनि उसको वाचा छ ।

पाँच वर्षभित्र पेट्रोल गाडी बन्द
राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षभित्र पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनको बिक्री वितरण बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै प्लास्टिकको एकल प्रयोगमा प्रतिबन्ध लगाउने, शहरको नदी तथा खोला किनारमा मनोरञ्जनात्मक हरित करिडोर निर्माण गर्ने उसको घोषणा छ । रास्वपाले नेपालको उत्पादनलाई विश्वमा चिनाउन रातो र चन्द्र सूर्य ब्राण्ड अभियान सुरु गर्ने बताएको छ । यसका लागि पहिलो चरणमा १० अर्ब छुट्याउने घोषणा पनि गरेको छ । वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबारमा शत प्रतिशत आयकर छुट दिने र २० लाख भन्दा कम कारोबार गर्ने उद्यमीले कर प्रणालीमा अद्यावधिक लेखापरीक्षण नगरी स्वघोषणा गरे पुग्ने व्यवस्था गर्ने पनि राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा उल्लेख छ ।

विदेशबाट फर्केका नेपालीका लागि वित्तीय संस्थाहरुले लगानीयोग्य रकमको ५ प्रतिशत छुट्याउनुपर्ने, र विदेशमा रहेका नेपालीका लागि प्रारम्भिक शेयरको १५ प्रतिशत अनिवार्य छुट्याउने व्यवस्था गर्ने पनि पार्टीको घोषणा छ । पाँच वर्षभित्र पर्यटन क्षेत्रबाट वार्षिक ३ खर्ब आम्दानी गर्ने लक्ष्य राखेको छ, जुन कोरोना महामारीअघिको आम्दानीको ५ गुणा हो । त्यसका लागि नेपाल प्रवेश गर्ने प्रक्रिया सहज र सस्तो बनाउने, हरेक दूतावासमा ‘पर्यटन विङ’ राख्ने, ५ अर्ब रुपैयाँको साहसिक पर्यटन विकास कोष बनाउने घोषणा गरेको छ ।

नेपाल वायु सेवा निगमलाई ५ वर्षभित्र विश्वबजारमा स्थापित गराएर वार्षिक ५० अर्ब रुपैयाँ कमाउन सक्ने बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख मेट्रिक टन क्षमताको रासायनिक मल कारखाना स्थापना गर्ने पनि घोषणा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका सबै वडामा खेलमैदान र पार्क निर्माण गर्ने, डन्डिबियो, गुच्चा, खोपी, पिटुजस्ता खेलको अन्तर्राष्ट्रियकरण गर्न अध्ययन र अभ्यास गर्ने पनि घोषणा गरेको छ । जसको सामाजिक सञ्जालभरी तिव्र आलोचना भइरहेको छ । 
 

Logo