प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर निकालियो

प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको छ ।

प्रधानमन्त्री ओली बुधबार बिहानै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमीको टीमले क्याथेटर निकालेका हुन्।

सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा क्याथेटर राखिएको थियो । प्रधानमन्त्रीको मुटुको चाल पनि जाँच गरिएको थियो । ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले ठिक छ’ डा. सायमीले भने,‘उहाँको मुटुको चाल लगायतको अवस्था पनि ठिक छ ।’

यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो। उनी यही २० गते स्वदेश फर्किएका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो ।

*यसअघिको समाचार सच्याइएको छ।