खुला सीमा बन्द गर्दै सुरक्षाको लागि सेना राख्न प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेकपा सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्नुपर्ने प्रस्ताव गरेकी छन् । भारतसँगको खुला सीमा बन्द गर्दै सुरक्षाको लागि नेपाली सेना राख्नुपर्ने प्रस्ताव गरेकी हुन् ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था नभए पनि सीमा बन्द गरी आवागमनमा निगरानी गर्नुपर्ने बताइन् ।

‘भारतीय सीमा सुरक्षा बलले जबरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ सांसद भुसालको भनाई थियो, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’

भारतीय किसानले नभइ सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गरिन् । खुला सीमा नाकाका कारण अपराध बढेको भन्दै सांसद भुसालले यस्तो प्रस्ताव गरेकी हुन् ।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देबेन्द्रराज कँडेलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाइन् ।

उनले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

खुला सीमा बन्द गर्दै सुरक्षाको लागि सेना राख्न प्रस्ताव