सडक नाटक: वसन्तपुरमा युवतीमाथि ‘एसिड अट्याक’ ! (फोटोफिचर)

गत भदौ २० गते वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड प्रहार भयो । वीरगञ्ज–१३ श्रीपुरका १५ वर्षीया मुस्कानको अनुहार, हात र शरीरका केही भाग एसिडले जलेका छन् । अहिले उनको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरमा उपचार भइरहेको छ ।

एसिड प्रहार गर्ने  वडा नं २ निवासी समसाद मियाँ र बाराको फेटाफुलवरीया घर भई हाल छपकैयामा बस्दै आएका मजिद आलम अहिले प्रहरी नियन्त्रणमा छन् । घटनाको विषयमा सडकदेखि सदनसम्म विरोध प्रदर्शनहरु भइरहेका छन्।

प्रतिनिधिसभाको गत आईतबारको बैठकमा बोल्दै सांसद सांसद जुली कुमारी महतो, सांसद पार्वता डिसी चौधरीलगायतले पीडकलाई कडा कारवाही गर्न माग गरे ।

त्यस्तै पीडितलाई न्यायको माग गर्दै ‘निर्मलाहरु बचाउ अभियान’ ले वसन्तपुरमा सडक नाटक आयोजना गर्यो ।  नाटकमा  एसिडपीडित युवतीको पीडा प्रस्तुत गरिएको थियो।

अभियानकी संयोजक भावना राउतले एसिड आक्रमणकारीलाई कारबबाहीको लागि सरकारलाई दवाव दिन कार्यक्रम आयोजना गरिएको बताइन् ।

नाटकको दृश्यलाई  केन्द्रबिन्दुकर्मी दिवाकर विष्टले क्यामेरामा कैद गरेका छन् ।