ब्रह्म मुहूर्त के हो ? के छ यसको महत्व ?

ब्रह्म मुहूर्तको महत्वका विषयमा मनुले भनेका छन्–

ब्राह्मे मुहूर्ते बुद्ध्येत धर्मार्थौ चानुचिन्तयेत् । अर्थात् ब्रह्म मुहूर्तमा प्रबुद्ध भएर धर्म र अर्थको चिन्तन गर्नुपर्दछ ।

ब्राह्मे मुहूर्ते या निद्रा सा पुण्यक्षयकारिणी । अर्थात् ब्रह्ममुहूर्तको निद्रासेवन पुण्यको नाश गर्नेवाला हुन्छ ।

आयुर्वेदमा पनि ब्रह्ममुहूर्तमा उठेर दिनचर्या सुरु गर्नुको महत्व प्रतिपादित गरिएको छ ।

वर्णं कीर्तिं मतिं लक्ष्मिं स्वास्थ्यमायुश्च विन्दति । ब्राह्मे मुहूर्ते सञ्जाग्रच्छि«यं वा पङ्कजं यथा ।।– भैषज्यसार
यसको अर्थ हो–ब्रह्म मुहूर्तमा उठ्ने व्यक्ति सौन्दर्य। लक्ष्मी, स्वास्थ्य, आयु आदि वस्तुहरूलाई त्यसरी नै प्राप्त गर्दछ जसरी कमल ।

यस्तैयस्ता कुराहरू सुन्दै आएको हाम्रो समाजले भन्छ– बिहान सबेरै उठ्नुपर्छ । जो बिहान सबेरै उठ्छ उसको स्वास्थ्य राम्रो हुन्छ । यसलाई अनुशरण गर्ने वा नगर्ने स्वविवेकको कुरा हो तर बिहान सबेरै उठ्दा स्वास्थ्यलाभ मिल्छ भन्ने कुरालाई आयुर्वेदले अनुमोदन गरेको छ ।
वर्तमानमा मानिसहरूको जीवनशैली अस्तव्यस्त छ । राती अबेरसम्म बस्ने र बिहान झलमल्ल घाम लागिसक्दा पनि ओछ्यानमै घुरिरहनेहरू बढ्दै छन् । त्यसैगरी कतिपयलाई अनिद्राको समस्या छ । त्यसैले उनीहरूको रात कोल्टे फेर्दाफेर्दै रात गुज्रन्छ, अनि बिहान चाँडै उठ्नै सक्दैनन् ।

मानिसको स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ । सुत्ने र उठ्ने तालिका नियमित हुनुपर्छ । कम्तीमा सात वा आठ घण्टा राम्रोसँग निदाउनुपर्छ । त्यसका लागि बेलुका बेलैमा सुत्नुपर्छ । अनि मात्र बिहान ब्रह्म मुहूर्तमा उठ्न सकिन्छ ।

के हो ब्रह्म मुहूर्त ?

२४ घण्टामा आठ प्रहर र ३० मुहूर्त हुन्छन् । ब्रह्म मुहूर्त रात्रिको चौथो प्रहर अर्थात् बिहानीपख पर्छ । सूर्योदयको अगाडिको प्रहरमा दुई मुर्हुत हुन्छ । त्यसमा पहिलो मुहूर्तलाई ब्रह्म मुहूर्त भनिन्छ भने दोस्रो मुहूर्तलाई विष्णु मुहूर्त भनिन्छ । दिनरातको ३० औं भाग मुहूर्त हुने भएकाले यो अवधि ४८ मिनेटको हुन्छ । यो अवधिमा बिहानीको लाली छाइरहेको हुन्छ तर सूर्य देखिँदैन । हाम्रो घडी अनुसार बिहान ४ः२४ देखि ५ः१२ को समय ब्रह्म मुहूर्त हो ।

ब्रह्म मुहूर्तमा के गर्ने ?

ब्रह्म मुहूर्तमा ४ वटा कार्य गर्नु राम्रो मानिन्छ– सन्ध्या वन्दन, ध्यान, प्रार्थना र अध्ययन । यो समयमा वैदिक रीतिबाट सन्ध्यावन्दन गर्नु अति उत्तम हुन्छ । त्यसपछि आफ्नो इष्टदेवको प्रार्थना गर्नु उपयुक्त हुन्छ । विद्यार्थी वर्गले सन्ध्यावन्दनपछि अध्ययन सुरु गर्नुपर्छ किनभने अध्ययनका लागि यो सर्वोत्तम समय हो । सन्ध्या वन्दन भनेको प्रकृति र ईश्वरप्रति कृतज्ञता प्रकट गर्नु हो । कृतज्ञताले सकारात्मक भावको विकास हुन्छ । यस्तो भावले दिनभरि सक्रिय रहनका लागि ऊर्जाको काम गर्छ । तसर्थ ब्रह्म मुहूर्त प्रार्थना, जपध्यान, योग, अध्ययन, पाठ आदि गर्ने समय हो ।

यो समयमा वातावरण शान्त र निर्मल हुन्छ, सत्वगुणको प्रधानता रहन्छ । मानिसको मस्तिष्क पनि तरोताजा हुन्छ । तसर्थ यस मुहूर्तमा उठ्नाले सौन्दर्य, बल, विद्या, आरोग्य एवं बुद्धि प्राप्त हुन्छ । यो समय ग्रन्थ रचनाका लागि पनि सर्वोत्तम मानिन्छ ।

वैज्ञानिक शोधअनुसार ब्रह्म मुहूर्तमा वायुमण्डल प्रदूषणरहित हुन्छ । यसबेला वायुमण्डलमा अक्सिजन (प्राणवायु)को मात्रा सबैभन्दा अधिक (४१ प्रतिशत) हुन्छ । यसले फोक्सो शुद्ध हुन्छ, शरीरमा पर्याप्त अक्सिजन पुग्ने भएकाले तनमन फुर्तिलो हुन्छ ।

ब्रह्म मुहूर्तमा उठेर प्रातःभ्रमण गर्नाले शरीरमा संजीवनी शक्तिको सञ्चार हुन्छ ।

धन, आयु, आरोग्य एवं प्रज्ञाको चाहना छ भने ब्रह्म मुहूर्तमा उठ्ने बानी बसाल्नुपर्छ ।

ब्रह्म मुहूर्तमा गर्न नहुने कार्य

ब्रह्म मुहूर्तमा नकारात्मक विचार, अनावश्यक बहस, वार्तालाभ, सम्भोग, निद्रा, भोजन आदि गर्नु उपयुक्त मानिँदैन ।