दल दर्ता प्रक्रिया पूरा गर्ने नेकपा निर्णय
file photo

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने निर्वाचनको लागि दल दर्ता गराउने निर्णय गरेको हो ।

निर्वाचन आयोगमा दर्ता भएको दलहरुको रेकर्डमा नेपाल कम्युनिष्ट पार्टी भन्ने दल नरहेकोले दल दर्ता गराउनुपर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी कोष्ठभित्र नेकपा लेखिने गरी निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले निर्वाचनमा भाग लिएको छैन ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पछि दल दर्ता गराउनु परेको हो । बैठकले दल दर्तासम्बन्धी सम्पूर्ण काम गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको बैठकपछि प्रवक्त्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

निवाचन आयोगले उपनिर्वाचनको लागि नयाँ दलहरुको लागि भदौ मसान्तको समय तोक्दै सूचना प्रकाशित गरिसकेको छ । यस्तै बैठकमा पार्टी एकताका बाँकी काम अगाडि बढाउने विषयमा सामान्य छलफल भए पनि कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो ।