अब मदिरा सेवन गर्नेलाई १० हजार जरिवाना

जाजरकोट,
मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरु गरेको छ । नगरपालिकाभित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्री वितरण गर्नेलाई १० हजार जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ ।

एकै व्यक्तिले पटक–पटक मदिरा सेवन तथा बिक्री गरेमा दुबैलाई जरिवाना हुने कार्यविधिमा उल्लेख छ । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई पहिलो पटक एक हजार ,धेरै पटक गरेमा पाँच हजार जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ ।

मदिरा बिक्री वितरणलाई सहयोग गर्नेलाई समेत जरिवाना गरिने भएको छ । इजाजत नलिएर मदिरा बिक्री वितरण गरेमा पहिलोपटक तीन हजार र पटक–पटक गरेमा पाँच हजारका दरले कारवाही गरिने बताइएको छ । अठार वर्ष नपुगेको व्यक्तिले मदिरा सेवन तथा बिक्री गरेमा दुई हजारदेखि पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले सेवन गरेमा सर्वसाधारण भन्दा दोब्बर जरिवाना गरिने भएको छ । मदिरा सेवन तथा बिक्री वितरण गरेको सूचना दिनलाई बिगो अर्थात सजायको १० प्रतिशत रकम बढाएर पुरस्कार दिइने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै मदिरा बिक्री वितरण गर्ने इजाजत लिएको व्यक्तिले बिक्री गरेको परिणाम, लिने व्यक्तिको नाम समय र मिति उल्लेख गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । अहिले कार्यविधिमाथि स्थानीयवासीको सल्लाह सुझाव लिने काम भएको उहाँले बताउनुभयो ।

नगरपालिकाले नगरका सबै ठाउँमा सो कार्यविधि लिएर स्थानीयवासीको सल्लाह, सुझाव लिने काम चलिरहेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । नगरपालिकाभित्र भएका सबै अनुमति नलिएका मदिरा पसलले अनुमति लिएर मात्र काम गर्न आग्रह गरिएको छ ।

नगरपालिकाले बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र सेवनका लागि समय खुल्ला गरेको थियो । मदिरा सेवन गर्नेबाट जरिवाना गरिएको रकम सामाजिक कार्यमा लगाइनेसमेत बताइएको छ ।
रासस