काभ्रेमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु

काभ्रे,

जिल्लाका सबै नागरिकहरुले स्वास्थ्य सेवामा सहज पहुँच राख्ने गरी स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीलाई पहिलो सदस्यता प्रदान गरी बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

दोश्रो सदस्यता पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले प्राप्त गर्नु भएको छ भने तेश्रो सदस्यता मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले प्राप्त गर्नु भएको छ । चौथो सदस्यता बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले प्राप्त गर्नु भयो । सदस्यता शुभारम्भ कार्यक्रममा पाँचौ नम्वरको सदस्यता बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालले प्राप्त गर्नु भयो । नेपाल सरकारले सबै नागरिकहरुको स्वास्थ्यमा पहुँच पुर्याउने उदेश्यले पहिलो चरणमा बीमा मार्फत अभियान शुरु गरेको हो ।

स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने काभ्रे ४८ औं जिल्ला हो । गुणस्तरीय स्वास्थ्य सेवामा प्रभाव पार्ने, आर्थिक जोखिम न्यूनिकरण गर्ने, नागरिक प्रति उत्तरदायित्व बहन गर्ने उदेश्यले उक्त कार्यक्रम शुरु गरिएको हो । नेपालमा ५१ लाख ५० हजार नागरिकले बीमा कार्यक्रममा भाग लिएका छन् भने दोश्रो वर्षको नविकरणमा ७५ प्रतिशतको मात्रै सहभागिता रहेको छ । ६ लाख घर परिवार सहभागि भएको उक्त कार्यक्रममा ५ जना सदस्य बराबर एक परिवारका रुपले बार्षिक ३५ सय रुपैया तोकिएको छ ।

प्रति परिवार ५ जना भन्दा बढी सदस्य भए प्रति थप सदस्यको ७ सयका दरले रकम तिर्नु पर्नेछ । बीमा गरे पछि बहिरङ्ग, अन्तरंङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरु उपलब्ध हुनेछन् भने ५ जनासम्मको परिवारले आवश्यक पर्दा बार्षिक १ लाख सम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउनेछन् । ५ जना भन्दा धेरै सदस्य भएको हकमा प्रति सदस्य २० हजारका दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउनेछ ।
नेपाल समाचारपत्रबाट

काभ्रेमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु