एनओसी निर्वाचन २८ भदौमा हुने

काठमाडौं,

नेपाल ओलम्पिक किमिटीको साधारण सभा तथा निर्वाचन २८ भदौमा हुने भएको छ । सर्वोच्च अदालतले २२ भदौमा एनओसीको निर्वाचनका लागि बैधानिक बाटो खोलिदिएको थियो ।

अन्तर्राष्ट्रिय ओलीम्पक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियासँगको परामर्शपछि एनओसीको निर्वाचनको नयाँ मिति तय भएको निर्वाचन समितिले जनाएको छ । आइओसी र ओसिएका पर्वेक्षकको उपस्थितिमा निर्वाचन हुने बताइएको छ । २८ भदौमा विहान ८ बजे साधारणसभाको निर्वाचन हुने समितिले बताएको छ । निर्वाचन समितिका संयोजक लोकभक्त राणा रहेका छन् भने सदस्यहरुमा सुरेन्द्रबहादुर थापा र राधिका खतिवडा छन् ।

यस अघि २० भदौमा एनओसीको निर्वाचनको मिति तोकिएको भए पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएका कारण स्थगित गरिएको थियो । एनओसीले १८ भदौमा निर्वाचन स्थगित गरेको सुचना दिएको थियो ।

२२ भदौमा सर्वोच्च अदालतको डिभिजन बेन्चमा छलफल भई १७ भदौमा निर्वाचन सम्बन्धी कार्य अगाडी नबढाई यथास्थितिमा राख्नु भनि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिइराख्नु पर्ने आवश्यकता नरहेको भनी निर्णय भएपछि निर्वाचनका लागि कानुनी बाटो खुलेको थियो ।
राजधानीबाट