पाकिस्तानी प्रहरी अधिकारीको खातामा अज्ञात व्यक्तिले गरे १० करोड जम्मा

पाकिस्तानी प्रहरी अधिकारीको खातामा अज्ञात व्यक्तिले गरे १० करोड जम्मा


पाकिस्तानको कराँचीमा एक प्रहरी अधिकारीको बैंक खातामा एक अज्ञात व्यक्तिले दश करोड रुपैयाँ जम्मा गरेको खबरले सामाजिक सञ्जालमा खैलाबैला मच्चाएको छ । 

तलबसहित उनको खातामा थप १० करोड रुपैयाँ जम्मा भएको छ । यो रकम कराँचीको प्रहरी चौकीका अनुसन्धान अधिकारी आमिर गोपाङको खातामा जम्मा गरिएको हो । बैंकबाट फोन आएपछि उनको खातामा १० करोड रुपैयाँ जम्मा भएको बताइएपछि उनलाई यो कुरा थाहा भएको थियो ।

तर, गोपाङले खाताबाट कारोबार गर्न नपाउँदै बैंकले खातामा सिल गरेर रकम झिक्न नदिन उनको एटीएम कार्ड ब्लक गरेको थियो । अब बैंकसँगै कराँची प्रहरीले पनि खातामा यति ठूलो रकम आएकोबारे अनुसन्धान गरिरहेको छ । यो रकम कसरी र कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानको लारकाना र सखरमा पनि यस्तै घटना बाहिर आएका छन् । धेरै प्रहरी अधिकारीको बैंक खातामा ठूलो रकम जम्मा भएको छ । लरकानाका तीन प्रहरी अधिकृतको खातामा पाँच करोड रुपैयाँ जम्मा गरिएको थियो । यही क्रममा सखरका एक प्रहरीको खातामा पनि पाँच करोड आएको थियो । यी घटनामा पनि अनुसन्धान भइरहेको छ ।

Logo