रक्सीले होस गुमाउँदाः २ वर्षदेखि आफूसँगै राखेकी प्रेमिकाको हत्या

झापा । झापाको गौरादह नगरपालिका ६ दामुना बजारका ४५ वर्षीय पुण्य चुँडालको दुई वर्षअघि एक महिलासँग भेट भयो । ती महिलालाई उनले आफुसँगै राखे । अन्दाजी ३५ वर्षीया ती महिलालाई आफुसँगै राख्दा पुण्यले डराई धम्काई गरेका थिए । तर ती महिलाकाे बारेमा उनलाई कुनै जानकारी थिएन् । ज्याला मजदुरी गर्दै आएका उनीहरूको कुन ठाउँमा बस्ने भन्ने पनि यकिन ठेगाना थिएन् । जहाँ रात पर्‍यो त्यही उनीहरूको बास हुन्थ्यो ।

त्यही क्रममा गत शुक्रबार राति रतुवामाई नगरपालिका ६ का हरिबहादुर खड्काको खाली रहेको ग्लावी घरमा बास बसे । रक्सी सेवन गरेर आएका दुवै जनाबीच रातभर झगडा भयो । झगडाकै क्रममा चुँडालले शरीर भरी निलडाम र गहिरो चोट लाग्ने गरी लात्ता र मुक्काले कुटपिट गरे । शनिबार बिहान अचेत अवस्थामा रहेकी ती महिलाको उद्धार गरेर विराटनगरको कोशी अस्पताल लगियो । उपचारकै क्रममा आइतबार राति मृत्यु भयो ।

फरार रहेका चुँडाललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन् । तर प्रहरीलाई सिर्जना पोखरेल र घर झापाको बिर्तामोड हो भनेर चुँडालले बताए पनि नाम र ठेगाना यकिन नभएको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

‘काम गर्ने क्रममा भेट भएपछि दुवै जनासँगै बस्ने सल्लाह गर्‍यौं । दुवै मिलेर मदिरा सेवन गर्ने गरेका थियौं,’ उनलाई उदृत गर्दै डिएस्पी श्रेष्ठले भने, ‘तर उनको नाम र ठेगाना कहाँ हो भन्ने कुरा मलाई थाहा छैन । दुईजनासँगै बस्ने भएपछि केही समय धनुषाको ढल्केबरमा गएर होटलमा भाँडा माझ्ने काम पनि गरे । हामी दुवै जनाको बस्ने ठाउँको यकिन थिएन् । काम गर्ने क्रममा जहाँ पुग्यो त्यहीं बस्थ्यौं ।’ पुण्यले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा भनेका छन् ।

घटना भएको रात कसैले पनि बास नदिएपछि दुवैजना एउटा बाँस झ्याङमा गएर बसेको र महिलामाथि त्यहीँ कुटपिट गरेको खुलेको प्रहरीको भनाइ छ । पुण्य यसअघि पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

चोरी, सार्वजनिक अपराध, महिलामाथिको दुव्यर्वहारलगायतका घटनामा उनी पटक(पटक जेल परेर छुटेको प्रहरीले जनाएको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकै कारण उनलाई गाउँले र घर परिवारले पनि बहिस्कार गरेका थिए । श्रीमतीले पनि छाडेर हिँडेकी थिइन् । बहिस्कारपछि उनी गाउँमा नजाने र बाहिर बाहिरनै बस्दै आएका थिए ।

बाहिर काम गरेर बस्ने क्रममै भेट भएकी महिलालाई विभिन्न प्रलोभनमा पारेर लामो समयदेखि आफुसँगै राखेको र मदिरा सेवनका कारण उत्पन्न विवादपछि हत्या गरेर उनी फरार भएको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका पुण्यविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।