पर्यावरणको आँखाबाट सुम्निमा उपन्यास

किरात र आर्य समुदायको अन्तरक्रियामा आधारित विपी कोइरालाको सुम्निमा फ्रायडवादी उपन्यासको रूपमा जति चर्चित छ विवादित पनि उस्तै छ । यसका अन्तिम हरफहरूले पूर्वका किरात समुदायलाई निकै नै चिढ्याएको छ भने कतिले यसलाई सांस्कृतिक विविधता र बेमेलका बीचमा सहमतिको खोजीको रूपमा लिएका छन् । यी दुवै समुदायबीच देउता, आमा र धर्मलाई हेर्ने दृष्टिकोण समेत फरक छ, जसलाई सर्वमान्य भनेर हामी भ्रममा जिइरहेका छौँ । सुम्निमाले भौतिकवाद र अध्यात्मवादबीचको बहस र बेमेलतालाई सहानुभूतिले होइन समानुभूतिले सन्तुलनमा ल्याउन सकिन्छ भनेर स्पष्ट मार्गदर्शन दिएको छ, जुन आजको नेपाली समाजमा अभाव देखिएको छ । यसभित्रका प्रेम र जातीय मुद्दाहरूलाई थाती राखेर एक प्राकृतिक स्रोत व्यवस्थापनको विद्यार्थीको नाताले यो लेखमा सुम्निमालाई पर्यावरणीय चस्माबाट चर्चा गर्न खोजेको छु ।

सुम्निमाले परिस्थितिकीय प्रणालीको संरक्षण र व्यवस्थापनलाई उत्तिकै रूपमा उजागर गरेको छ । जलवायु परिवर्तनसँग जुधेको वर्तमान पुस्ताले हाम्रा संस्कृति र परम्पराले प्रकृतिलाई कसरी हेरेको छ र कहाँनिर सुधार गर्नुपर्ने भन्ने औँल्याएको छ । हामीले धर्म र तपस्याको आडमा जतिसुकै शक्तिप्राप्तिको बिगुल फुके पनि भौगोलिक अवस्थिति र प्राकृतिक अवस्था नै मानव अस्तित्वको निर्णायक हो । मानिस बाँच्नका लागि उसको आदर्श र ज्ञानले मात्र पुग्दैन जीवन जिउने कला पनि हुन पर्दछ, जसको लागि व्यावहारिक पक्ष अत्यावश्यक छ भन्ने स्पष्ट सन्देश सुम्निमाले दिएको छ । चार्ल्स डार्विनले उत्पत्तिको सिद्धान्तमा उल्लेख गरे झैं जीवको बाँच्ने क्षमता कुनै पनि प्राणीको बल र ताकतमा भन्दा पनि बदलिँदो परिस्थितिमा कसरी आफूलाई अनुकूलन गर्नसक्छ भन्नेमा भर पर्दछ । त्यसैले तप, यज्ञ र राजाको सैनिक बलमा त्यो आदिवासी भूमिमा जंगल मासेर स्थापित हुन खोजेको त्यो तपस्वी ब्राह्मण परिवार अन्ततः प्रकृतिमा नै विलीन हुन पुग्दछ ।

यो विशाल व्रह्माण्डमा हरेक आकार र प्रकारका जीवजन्तुहरू छन् । तिनीहरूको आ–आफ्नै विशिष्टता रहेका छन्, जुन विविधताले एकअर्काको महत्वलाई अझ प्रगाढ पारिरहेको हुन्छ । एक मात्र प्राणीको उपस्थिति र अनुपस्थितिमा परिस्थितिकीय प्रणालीको संरचना बदलिन्छ । संरचनासँगै प्रणाली कार्य र प्रक्रियामा प्रभाव पार्दछ जसले पर्यावरणीय सेवाहरूको उत्पादन र प्रवाहलाई खलल पुर्याउँछ । यी सेवाहरूले आम्दानी बढाउन र प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न मदत गर्दछ । यही भाव सोमदत्त रुखमा चिरविर गर्दै खेलिरहेको फिस्टे चरालाई हेर्दै प्रकट गर्छ । तिनीहरूको अनुपस्थितिमा हुने शून्यताको कल्पना गर्न थाल्छ ।

अझ परिस्थितिकीय प्रणालीमा खाद्य शृंखलाको स्पष्ट रूपमा व्याख्या गरिएको छ । बिरुवाहरूले आफ्नो खाना आफैंले उत्पादन गर्ने भएकाले यिनीहरूलाई खाद्य शृंखलामा प्राथमिक उत्पादक भनिन्छ । बिरुवालाई शाकाहारी जनावरले खान्छन्, शाकाहारीलाई साना मांसाहारी र साना मांसाहारीलाई ठूला मांसाहारी जनावारले खान्छन् । जब जनावरहरू मर्दछन्, माटोमा मिसिन्छन् तिनले बिरुवाहरूको वृद्धिको लागि आवश्यक पोषक तत्व प्रवाह गर्दछन् । यो खाद्य शृंखलामा माथिल्लो तहका जनावरहरूको संख्या तल्लो तहका भन्दा कम हुन्छ, जसले सन्तुलन कायम गर्दछ । यही कुरा अनपढ किराती बालाले बाजले परेवा झम्टँदै गर्दा बाजलाई धपाएर परेवाको ज्यान बचाई धर्म गरेको ठान्ने धर्मग्रन्थको अध्ययन र तपस्याले सर्वज्ञानी भएका सोमदत्तलाई सम्झाउँछिन् ।

सुम्निमा भन्छिन् – ‘सोमदत्त तिमीले परेवाको ज्यान त बचायौ तर बाजको ज्यान ? तिम्रा शिवि राजाले त यो बुझेका रहेछन्, बाजले पनि बाँच्नुपर्छ त्यसैले त परेवा बराबरको आफ्नो मासु दिए । तर यो बुझेनन् कि शिविले कतिवटा परेवा बचाउन सक्छन् । बाजले परेवा खानु प्रकृतिको नियम हो । यसलाई बिथोल्न नखोज ।’ साँच्चै, एक जनावरले अर्कोलाई आहारा बनाउनु प्रकृतिको नियम हो । वन्यजन्तु व्यवस्थापन पनि यही सिद्धान्तमा आधारित छ, त्यसैले त बाघको संरक्षणको लागि घाँसे मैदान व्यवस्थापन गरिन्छ । हो, बाघले घास खाँदैन, तर घाँसे मैदानको उचित व्यवस्थापनले मृगहरूको संख्या वृद्धि हुन्छ जुन बाघको आहारा हो । यदि यसलाई पाप र धर्मको हिसाबले हेरियो भने खाद्य शृंखलाको माथिल्लो तहमा रहेका बाज र बाघजस्ता प्राणीहरूको अनुपस्थितिमा परिस्थितिकीय प्रणाली असन्तुलित हुने थियो । त्यसैले सुम्निमा थप्छिन्– ‘बाजले परेवा खानु हिंसा होइन, यो त प्रकृतिको नियम हो । हिंसा त शिकार गर्ने तिम्रा राजाले गर्छन् । जनावर हिंस्रक होइनन् तर प्रकृतिको नियम खलल गर्न खोज्नेहरू हिंस्रक हुन् ।’

सायद प्रकृतिको यही नियमलाई आत्मसात् गर्न नसक्दा कहिले धर्म, कहिले हिंसा अनि कहिले आर्थिक उपार्जनको लागि हामी कतै न कतै प्रकृतिको नियमलाई उल्लंघन गरिरहेछौँ । पाप र धर्म सर्वमान्य नभै आफ्ना रीतिथिति र परिस्थितिमा निर्भर रहन्छ । हरेक प्राणीको आफ्नै अस्तित्व रहेको शाश्वत सत्यलाई कदापि बिर्सिन हुँदैन । प्रकृतिले दिएअनुसार नै उनीहरूले आफ्नो भूमिका निर्वाह गरिरहेछन्, त्यसैले त्यहाँ हिंसा र अहिंसा भन्ने सवाल आउँदैन । प्रकृति त्यति अज्ञानी छैन कि उसले यो पृथ्वीमा भूमिका विहीन प्राणीको सृष्टि गरेको होस्, जसले प्रकृतिको सन्तुलनलाई खलल पुर्याओस् । प्रकृतिमा खलल पुर्याउँछ त केवल मानवको क्रियाकलापले, जसले धर्मप्राप्ति र क्षणिक लाभको लागि प्रकृतिको संरचना र प्रक्रियालाई नजरअन्दाज गर्छ ।