इन्द्रजात्राका लागि ५ करोडको अक्षयकोष स्थापना

इन्द्रजात्रा सञ्चालनका लागि खर्च अभाव भएपछि सरकारले अक्षयकोष स्थापना गर्ने भएको छ।

कोषमा जम्मा हुने ५ करोड रुपैयाँको ब्याजबाट वर्षेनि जात्रा खर्च व्यवस्था हुने जनाइएको छ । ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ नाम दिइएको उक्त कोषमा नेपाल सरकारले १ करोड ५० लाख, प्रदेश नं ३ सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रूपैयाँ राख्ने जनाइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार आइतबार मन्त्रिपरिषद्बाट निर्णय भएबमोजिम उक्त अक्षय कोष स्थापना हुन लागेको हो।

मन्त्रिपरिषद्को भदौ २२ गतेको बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापनाको निर्णय गरेको थियो । उक्त  कोष सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा एक समिति बनाइने र उक्त समितिले प्रत्येक वर्ष इन्द्रजात्राको खर्च बाँडफाँड गर्ने जनाइएको छ।

इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि बनाउने तयारी सुरु भइसकेको छ ।