बीपी कोइरालाको अप्रकाशित डायरीमा घोत्लँदा
  • महेश पौड्याल –

आफ्नो सम्पूर्ण जीवन नै सार्वजनिक जीवनसँग एकाकार गरेका महामानवको पूर्णनिर्मित स्वरूप सबैले देख्छन् । उनीहरूको चिन्तन, दर्शन, उपलब्धि, दूरदृष्टि, रचना र प्रगति दखिन्छ । अथवा, उनीहरूको जीवनमा यदाकदा सार्वजनिक हार र असफलता देखिन्छ । उनीहरूको साझा व्यक्तित्वका तमाम आयामहरू देखिन्छन् । र, यिनै आयामहरू उनीहरूका अनुयायी र समर्थकका स्मरणमा बसिरहन्छन् । तर उनीहरूलाई महामानव बनाउने ससाना आधारविन्दुहरू हुन्छन्, जो हत्तपत्त सतहमा आउँदैनन् । विरासतबाट आएका, घरपरिवारबाट आएका, निजी सुखदुःखबाट आएका, कठोर तपस्याबाट आएका अथवा अध्ययनबाट आएका ती संस्कारहरू नै ती जग हुन्, जसमा उभिएको एउटा प्रणेता कालान्तरमा महामानव बन्दछ । मानव निर्माणको क्रममा खुड्किला दिने त्यस्ता पाटाहरूको अध्ययन हुनु जरुरी छ । त्यसले जीवनमा अवलम्बन गर्नुपर्ने शैलीको दिशानिर्देश गर्दछ ।

बीपी कोइरालाको जीवनमा पनि यो लागू हुन्छ । उनका अधिचिन्तनहरूको खूब चर्चा हुन्छ देशविदेशमा । उनको प्रजातान्त्रिक समाजवाद, मेलमिलापको नीति, मानोवैज्ञानिक साहित्यिक चिन्तन अथवा सन्तुलित विदेश नीति उनका अधिकांश अध्येता अथवा अनुयायीले स्मरण गरिरहने विषयहरू हुन् । तर उनको निजी जीवनशैली र आचरणको अध्ययन गर्ने र त्यसको अनुशरण गर्ने मान्छे भेटिँदैन ।

यसका दुईवटा कारणहरू छन् । पहिलो, यस्ता महामानवहरूका बारेमा उपलब्ध अधिकांश साहित्यमा निजी जीवनको पाटो छोपिएको हुन्छ । जीवनभर सार्वजनिक सरोकारमै बाँचेकाहरूको सतहमा आउने पाटो पनि त्यही नै हो । र उनीहरू, स्वभावैले निजी सजिलो–अप्ठ्यारोलाई सतहमा आउन पनि दिँदैनन् । त्यसैले, हत्तपत्त उनीहरूको जीवनको निजी पाटो खुलेर आउँदैन । दोस्रो, निजी पाटो भनिसकेपछि एक आम र नश्वर मान्छेमा हुने गुण र दोष सबै एउटा मान्छेको जीवनमा परिलक्षित भएकै हुन्छ । एक महामानवलाई भगवान् बनाइदिने भजनमण्डलीले त्यस्ता दोषका पाटा सतहमा आउनै दिँदैनन् । यी दुवै अवस्थामा सार्वजनिक जीवनमा उच्च पदमा पुगेका मानिसहरूका दोषसहितका निजी पाटा हत्तपत्त खुलेर आउँदैनन् ।

तर बीपी राजनेता मात्रै परेनन् । उनी साहित्यकार पनि परे । त्यो पनि, मनोवैज्ञानिक विषय मनपराउने । उनी आफूलाई निजी र सार्वजनिक व्यक्तित्वका बीच खासै ठूलो अन्तर कहिल्यै पनि लागेन । मान्छेका स्वभावका बारेमा खुलेरै बोल्ने र लेख्ने बीपीलाई लुकाउनुपर्ने पनि केही लागेन । उनले आफ्ना तमाम जर्नल, डायरी र आत्मवृत्तान्तहरूमा आफ्नो राजनैतिक व्यक्तित्वसँगसँगै निजी पाटा पनि उदात्तताका साथ खोलेका छन्, जुन नेपालका अन्य नेताहरूले विरलै गरेका छन् ।

बीपीको निजी जीवनका धेरै सूक्ष्म पाटाहरू खुलाउने एउटा डायरी भर्खरै फेला परको छ । अङ्ग्रेजी भाषामा लेखिएको यो डायरी पारिवारिक स्रोतबाट मसम्म आइपुग्यो, र मैले यसलाई नेपालीकरण गरेँ । यसलाई अध्ययन र अनुवाद गरिरहँदा मेरो मनमा आएको भावतरङ् मैले यस आलेखमा पोखेको हुँ ।

डायरीमा सन् १९५१ देखि ५६ सम्ममा विभिन्न मोडहरूको उल्लेख छ । भनिएको छ, यो डायरी यसअघि कहिल्यै पनि सतहमा आएको थिएन । बीपीका अन्य निजात्मक लेखनमा नआएका कतिपय सूक्ष्म कुरा यस डायरीमा आएका छन् ।

डायरीमा विषयहरू सिलसिलेवार छैनन्, वास्तविक जीवनमा जस्तै । प्रसङ्गहरू फेरिइरहेका छन्, र मनस्थिति पनि । यसले नेपाली राजनीतिमा अस्थिरता र अनिश्चितता पहिल्यैदेखिको रोग रहेछ भन्ने कुरा प्रस्ट हुन्छ ।

डायरीले नेपाली राजनीतिभित्र निहित अनिश्चितता र अस्थिरताको कारणसम्म पुग्न आम पाठकलाई सहयोग गर्छ । ती कारणहरूको भासमा बीपी आफैँ पनि परे, र अनेक प्रयासका बाबजूद उनी विफल भए । त्यसैले, बीपीको व्यक्तित्व एक सफल प्रशासकको कहिल्यै पनि बन्न सकेन । उनको व्यक्तित्व भनेको सधैँ एक कुशल चिन्तक र द्रष्टाको नै बन्न पुग्यो । यो स्थिति कसरी बन्यो ? त्यसको साक्षी हो बीपीको यो डायरी ।
पहिले केही उनको निजी जीवनबारे सोचौँ । बीपी कोइरालालाई व्यक्तिगत र वैचारिक उचाइ दिने संघर्ष, अध्ययन, सङ्गत र संस्कार यस डायरीभित्र प्रस्टै देख्न सकिन्छ । डायरीलाई साक्ष्य मान्ने हो भने बीपीको निजी जीवन पीडा र गरिबीको चपेटमा चेपिएको थियो, र जीवनभर यस कहरको ताप उनले बेहोरिरहे । सधैँ आफ्नो पीडा लुकाउने र देशकै पीडामा चिन्तनशील रहने बीपीलाई यी निजी पीडाले तर कहिल्यै पनि बाटो छेकेनन् । आफ्ना र परिवारका आवश्यकता बिर्सेर उनी राष्ट्रयज्ञमा आफैँ समिधा बनेर जलिरहे, र देशमा उज्यालो र ऊर्जाको संचार गरिरहे । बस, परिवारमा उनले एउटा समझदारी बनाएका थिए— राष्ट्रिय जीवनका अगाडि निजी समस्यालाई बाधाको रूपमा अगाडि आउन कहिल्यै नदिने । आफूमा मात्रै होइन, बीपीले यो संस्कार आफ्नी श्रीमती र छोराछोरीहरूलाई पनि सिकाए ।

सन् २००८ देखि २०१३ सम्मको यस डायरीमा बीपीको जीवनका धेरै पक्षहरू समेटिएको छ । वि.सं. २००७ सालको आन्दोलनपछिको करिब आधा दशकको समयमा महत्वाकांक्षी क्रान्तिले किन गति दिन सकेन, त्यसको जवाफ यस डायरीभित्र छ । आन्तरिक कलह र विदेशी हस्तक्षेप त्यसको मुख्य कारण रहेको डायरीबाट प्रस्ट हुन्छ । ठूल्दाजु अर्थात् मातृकाप्रसाद कोइरालासँगको राजनैतिक घर्षण, एक अनुदार राजाको रूपमा महेन्द्रको उदय तथा नेपालको मामलामा भारतको अतिशय चासोलाई बीपीले निर्बन्ध पोखेका छन् । मातृकाप्रसादसँगको उनको मुख्य विमत्ति भनेको जसरी पनि सत्तामा जाने, र सबै प्रकारका सम्झौता गरेर भए पनि त्यहाँ टिकिरहने प्रवृत्तिका सम्बन्धमा थियो । बीपी यस्ता लोभहरूबाट मुक्त थिए, र नैतिक मूल्य र राष्ट्रहितमाथि सम्झौता गरेर सत्ताका जाने प्रवृत्तिका उनी घोर विरोधी थिए । भर्खरै जहानियाँ राणा शासनबाट मुक्त भएको र आफ्नो सार्वभौम अस्तित्व स्थिर नभइसकेको सन्दर्भमा आन्तरिक कलह र कमजोरीले देशमा विदेशी हस्तक्षेप निम्त्याउन सक्छ भन्नेमा बीपी सचेत थिए । त्यसैले परामर्श मण्डलको सरकार अथवा राजाको प्रत्यक्ष निगरानीमा कतिपय मन्त्रिमण्डल चलाउने व्यवस्थासहित गठन गरिएको सरकारहरूमा सामेल हुनुहुन्न भन्ने कुरामा बीपी सचेत थिए, र मातृका थिएनन् । मातृकासँगजस्तै बीपीमा थुप्रै विमतिहरू भद्रकाली मिश्र, के.आई.सिंह तथा टङ्कप्रसाद आचार्यसँग पनि थिए । त्यसको साक्ष्य पनि यही डायरी हो ।

कूटनीतिक जगतमा यस बेला चीन पहिलोपल्ट नेपालसँग औपचारिक सम्बन्ध गाँस्न आइपुगेको समय थियो यो । देशभित्र परामर्श मण्डलको कमजोर सरकार तथा राजाको स्वेच्छाचारी शासन रहेको समयमा यस्तो कूटनीतिक सम्बन्ध जननिर्वाचित र बलियो सरकारले स्थापित गर्नुपर्छ भन्ने बीपीको मत थियो । तर त्यो पूरा हुन सकेन । यस्तै भूलका कारण नेपालमा विदेशी चासो र हस्तक्षेपको ढोका खुलेको हुनसक्ने बीपीको अनुमान थियो । राजनीतिक विश्लेषकहरू बीपीको यस आशंका सत्यको निकट रहेको ठान्छन् । तर त्यो बेला बीपीले उठाएका आवाजको पक्षमा उनले निकै कम समर्थन पाएका थिए । फलस्वरूप, कूटनीतिक सम्बन्धहरूमा नेपाल कहिल्यै पनि बलियो बनेर उभिनै सकेन । यो आजको पनि यथार्थ हो ।

बीपीले आफ्नो समयमा विविध पार्टीहरूको जन्म, विलय र विग्रह भएको देखे । तर यिनै राजनीतिक घटनाहरूका बीच उनले नेतृत्व गरेको नेपाली कांग्रेसले एउटा राष्ट्रिय पार्टीको रूपमा ठोस स्वरूप ग्रहण गरिरहेको थियो । कांग्रेसलाई एउटा ठोस आकार दिन, आर्थिक रूपले सम्पन्न बनाउन र देशको नेतृत्व गर्न सक्षम बनाउने बीपीले काेकाेसँग सम्पर्क गरे, कसरी भारतका सहर सहर चहारे, हिँडेर कति लामालामा दूरी तय गरे, राजासँग कतिपटक जोखिमपूर्ण मतभिन्नताको आँट देखाए यसै डायरीले बोलेको छ । कलकत्ता, पटना, बनारस र दिल्लीका संघर्षपूर्ण दिनहरू, दिनदयाल उपाध्यायको सङ्गत र समाजवादको प्रभाव, नेहरूसँगको पटकपटकको खिचातानी, युरोपको यात्रा र अर्थ सङ्कलन, भारतीय दूतावासको वक्रदृष्टि, नेपालभित्र गाउँगाउँको भ्रमण, अनेक ठाउँमा गोर्खा परिषद्को अवरोध र साङ्घातिक आक्रमण एवं पार्टीभित्र मातृकाप्रसाद र भद्रकाली मिश्रहरूको असयोगी तेवर— उनले सहेका प्रतिकूलताहरू हुन् ।

राजनैतिक कुरा एकातिर होलान्, यस डायरीका अन्य दुई पाटा महत्वपूर्ण छन् । पहिलो, बीपीले यसमा घरपरिवार, श्रीमती सुशीलासँगको सम्बन्ध र आफ्ना सन्तानहरूका बारेमा कतिपय प्रसङ्ग्रमा कारुणिक अभिव्यक्तिहरू दिएका छन् । परिवारको गरिबीको चित्रणले कुनै पनि पाठकको हृदय संवेदनाले भरिदिन सक्छ । कतिपय प्रसङ्गमा परिवारलाई गरिबीको दलदलमा छोडेर आफू राजनीतिकै पछि लागेको कुराले आफूलाई निकै पिरेलेको कुरा बीपीले लेखेका छन् । यो सब छोडेर पैसा कमाउने कुनै जागिरमा लागौँ कि भन्ने विकल्प पनि उनको मनमा नआएको होइन । तर उनले त्यसो गरेनन् । खण्डहरजस्तो बनिसकेको घर, आमाको जीर्ण शरीर र जवान सुशीलाका अनेकन अतृप्त अभिलाषाहरूले पटकपटक उनको मन नहल्लाएको होइन । कतिपय सन्दर्भमा, यात्राका क्रममा आफूले एक्लै देखेका सुन्दर दृश्यहरू प्रेयसीसँग बाँड्न नपाएको तिक्तता पनि पोखेका छन् । तर राष्ट्रयज्ञको बलिवेदीमा समर्पित बीपीले आफूलाई यसरी संवेदित हुन कहिल्यै दिएनन् ।

अर्को पाटो भनेको बीपीको पठन र कलासाहित्यप्रतिको अभिरुचि हो । एउटा कोरा राजनेता मात्र नभएर बीपी साहित्यकार र दार्शनिक हुनुका पछाडि उनको अध्ययन एक कारक हो भन्ने अनुमान पाठकले स्वतः लगाउन सक्छन् । डायरीमा उनले धेरै ठाउँमा आफूले पढ्दै गरेका पुस्तकको चर्चा मात्रै गरेका छैनन्, तिनमाथि समालोचकीय र पाठकीय टिप्पणीसमेत गरेका छन् । देशविदेशका भ्रमणमा देखेका विभिन्न मूर्तिकला र चित्रकलाका बारेमा उर्लने उनका अभिव्यक्तिले पाठकलाई आश्चर्यमा पार्न सक्तछ । विश्वप्रसिद्ध चित्रकार भिन्ची, माइकल एन्जेलो, रेम्ब्रान्ट, भान घोघ आदिका कलाकृतिका बारेमा उनले दिएका टिप्पणीहरूमा कलाको प्रविधिको उच्च ज्ञान रहेको प्रमाणित हुन्छ । कला र साहित्यको यस चर्चाले एउटा सामान्य मान्छेको असामान्य चिन्तनका पछाडि अध्ययनको कति अहम भूमिका रहेको हुन्छ भन्ने कुरा पाठकमाझ छर्लङ्ग पारेको छ ।

अङ्ग्रेजीमा लेखिएको यस डायरीलाई नेपालीमा अनुवाद गरेर नेपाली पाठकहरूका बीच प्रस्तुत गर्न पाउँदा म ज्यादै हर्षित छु ।