पूर्णिमाको पौराणिक महत्व र मानवमा यसको प्रभाव

वैदिक सनातन संस्कृतिको चान्द्रमान अनुसारको पञ्चाङ्गमा सबै तिथिहरू देवीदेवताहरूप्रति समर्पित छन् र तिनका फरकफरक महत्व छन् । यी तिथिहरूमा कुनै तिथिका खास महत्व छन् र यी तिथिहरूमा व्रत, उपवास एवं आराधना गर्नाले मानिसका सम्पूर्ण कामना पूरा हुने बताइएको छ । यस्तै एक तिथि हो पूर्णिमा ।

पञ्चाङ्गमा तिथिहरूको निर्धारण चन्द्रमाको घटबढ हुने कलाका आधारमा गरिएको छ । पूर्णिमा तिथिमा चन्द्रमा आफ्नो पूरा आकारमा देखा पर्दछ भने औंसी तिथिमा चन्द्रमा कत्ति पनि देखिँदैन । औंसीको भोलिपल्ट अर्थात् परेवाको चन्द्रदर्शनका दिनदेखि पूर्णिमासम्मको समयलाई शुक्ल पक्ष भनिन्छ । यो तिथिको एउटा विशेषता के छ भने यसै दिनबाट महिनाको समाप्ति हुन्छ । किनभने महिनाको सुरुमा कृष्ण पक्ष र अन्तमा शुक्ल पक्ष पर्दछ ।

ज्योतिष र विज्ञान दुवैमा पूर्णिमा तिथिको खास महत्व बताइएको छ । यसै दिन चन्द्रमा आफ्नो पूरा प्रभावका साथ देखा पर्दछ यसकारण मानव मनमा पनि यसको प्रभाव पर्दछ । यसै तिथिमा समुद्रमा ज्वारभाटा आउँछ । पानी चन्द्रमाको आकर्षणमा खिचिएर मास्तिर उठ्छ । मानव शरीर पनि ७० प्रतिशतभन्दा बढी पानीले बनेको छ यसकारण यस दिन मानिसको स्वभावमा परिवर्तन देखा पर्दछ । चन्द्रमाको प्रभावले शरीरभित्र रगतका न्युरोन सेल्स क्रियाशील हुन्छन् र यस्तो स्थितिमा मानिस उत्तेजित वा भावुक हुन्छ ।

एक वर्षमा १२ महिना हुन्छ । यस हिसाबले एक वर्षमा १२ वटै पूर्णिमा हुन्छन् । वर्षका सबै पूर्णिमामा भक्तजनले व्रत वा उपवास राख्छन् । यी सबै पूर्णिमामा कुन न कुनै व्रत, जात्रा वा पर्व मनाइन्छन् ।

पूर्णिमाका दिन मनाइने पर्व

चैत्र पूर्णिमाका दिन हनुमान जयन्ती पर्दछ । चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ।

वैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती पर्दछ ।

ज्येष्ठ पूर्णिमाका दिन वट सावित्री व्रत पर्दछ ।

आषाढ पूर्णिमाका दिन गुरु पूर्णिमा एवं व्यास जयन्ती पर्दछ । यस दिन गोपद्म व्रत राखिन्छ र भगवान् विष्णुकाे पूजा गरिन्छ ।

श्रावण पूर्णिमा जनै पूर्णिमाका नामले चिनिन्छ यस दिन रक्षाबन्धन पर्दछ ।

भाद्र पूर्णिमाका दिन उमामहेश्वर व्रत पर्दछ ।

आश्विन पूर्णिमा कोजाग्रत पूर्णिमाका नामले प्रसिद्ध छ यस दिन शारदीय उत्सव मनाइन्छ ।

कार्तिक पूर्णिमाका दिन गुरु नानक जयन्ती पर्दछ । यस दिन पुष्कर मेला पनि लाग्छ ।

मार्गशीर्ष पूर्णिमाका दिन दत्तात्रेय जयन्ती पर्दछ । याे धान्य पूर्णिमाका नामले प्रसिद्ध छ । याे दिन पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान छ। किरात समुदायको उँधौली पर्व पनि आजै मनाइन्छ। नेवारहरूले याे पूर्णिमालाई योमरी पुन्ही भन्दछन् ।

पौष पूर्णिमाका दिन शाकम्भरी जयन्ती पर्दछ । यस दिनदेखि माघस्नान, स्वस्थानी व्रत एवं शालीनदीमा मेला सुरु हुन्छ । पाैष सूर्यकाे महिना मानिन्छ र पूर्णिमा चन्द्रमाकाे तिथि । यसरी याे दिन सूर्य र चन्द्रकाे दुर्लभ मिलन देख्न सकिन्छ ।

माघ पूर्णिमाका दिन सन्त रविदास एवं भैरव जयन्ती पर्दछ ।

फाल्गुन पूर्णिमा फागु पूर्णिमाका नामले चर्चित छ, यस दिन होली मनाइन्छ ।  होली वसन्त ऋतुको सुरुवाती चरणमा मनाइने पर्व हो ।