समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा, भुर्तेल एक्लैले लिए ५ विकेट

समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा, भुर्तेल एक्लैले लिए ५ विकेट


प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो ।

खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् । जितसँगै पुलिस समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । खेलमा जितको लागि पुलिसले मधेश प्रदेशलाई २७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मधेश प्रदेश २९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।
    
मधेश प्रदेशका लागि मोहमद आदिल आलमले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी रत्न रौनकले ११ तथा कप्तान हरिसङ्कर शाहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । 

मधेश प्रदेशलाई सस्तैमा समेट्ने क्रममा पुलिसका कुलश भुर्तेल एक्लैले ५ विकेट लिए भने करण केसीले  ३ तथा राशिद खानले २ विकेट झारे ।  
    
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २७३ रनको योगफल बनाएको थियो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिहं ऐरीले अर्धसतक प्रहार गरे । आरिफले सर्वाधिक ७३ रनको योगदान दिए भने अमितले ६५ रनको योगदान दिए । 

त्यसैगरी  दीपेन्द्रले ५१ रन जोड्दा दीलीप नाथले ४० तथा सुनिल धमलाले ११ रन बनाए । बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंह र राजेश यादवले समान ३/३ विकेट लिए भने आदील आलमले २ विकेट झारे । 

जितसँगै पुलिसले चार खेलमा अपराजित रहँदै ८ अङक जोड्यो भने समान चार खेल खेलको मधेश प्रदेशले पाँच अङ्क बनायो । 

Logo