नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ: राष्ट्रपति

नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ: राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रूपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छिन् ।

गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा बुधबार आयोजित रेक्याभिक ग्लोबल फोरम (वुमन लिडर्स) मा विशेष सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक, राजनीतिक प्रबन्धमा लगानी गरिरहेको जनाएकी हुन् । उनले नेपालदेखि आइसल्याण्डसम्मको यात्राले ‘तेस्रो ध्रुव’देखि उत्तरी ध्रुवसम्म जोडेको बताइन् । 

उनले गौतम बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सद्भाव लिएर आएको जनाइन् । राष्ट्रपति भण्डारीले नेपालमा जलवायु परिवर्तनको असर हरेक वर्ष बढ्दो र झन् विनाशकारी हुँदै गएको अनुभव गरेको सुनाइन् । उनले जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गइरहेको तथा हिमालयमा सधैँ महिना जमिरहने हिउँ पग्लिरहेका कारण लाखौँ मानिसको जनजीविका जोखिममा परेको बताइन् । 

सम्मेलनमा विभिन्न पुस्ताका नेपाली विराङ्गनाको प्रतिनिधित्व गर्न पाउँदा आफूले गौरवान्वित महशुस गरेको भन्दै उनले महिला र पुरुषबीचको समान हैसियत हुने समावेशी समाज निर्माण गरी विश्वका चुनौती सामना गर्ने  सामूहिक अभियानमा सम्मिलित हुन पाउँदा सम्मानित महशुस गरेको बताइन् ।
 

Logo