पुस्तक अंश : डाक्टरहरुबीच यस्तो पनि हुन्छ !
  • डा. विश्वबन्धु शर्मा

म त्यसवेला मानसिक अस्पताल लगनखेलमा जोस जाँगरका साथ काम गरिरहेको थिएँ । विरामीलाई एकदमै केयर गर्नुपर्छ भन्ने भावना प्रवल थियो ।
पाटनको एकजना नेताको छोरालाई बाइपोलार (कहिले उग्र सम्हाल्नै नसक्ने हुने कहिले झोक्राएर वस्ने) केस रहेछ । बाबुसँग मेरो चिनजान राम्रो थियो । मलाई वेलावेलामा भेट्थे पनि ।

उनको छोरालाई सम्हाल्नै नसक्ने अवस्थामा मानसिक अस्पताल ल्याएर भर्ना ग¥यौँ । अस्पतालमा खासै साधन सुविधा, ल्याव थिएन । अरु सम्भाव्य औषधि प्रयोग गरेर हे¥यौँ प्रभाव देखिएन, विरामी उस्तै । त्यसपछि सामान्य परीक्षण गरेर विशेष खालको औषधि शुरु ग¥यौँ । सो औषधि दिन नमिल्ने अवस्था चाहिँ थिएन ।

एउटा निश्चित मात्रा नभइकन त्यो औाषधिले काम गर्दैन, फेरि अलि बढी भयो कि विषले जस्तो काम गर्छ । त्यसैले मात्रा अलिअलि गर्दै बढाउँदै लानुपर्ने हुन्छ । मात्रा उही दिए पनि कहिलेकहीँ आन्तरिक कारणले बढी हुनपुग्छ ।

जस्तोः पखाला, बान्ता भयो भने शरीरबाट पानीको मात्रा धेरै जान्छ र रगतमा त्यो औषधिको मात्रा बढी हुन पुग्छ । त्यो केटालाई दिएको उक्त औषधि सेवन गर्दा किड्नी, थाइराइड परीक्षण गर्नुपर्ने र रगतमा त्यो औषधिको मात्रा पनि परीक्षण गर्न जरुरी थियो । मैले, ‘अहिलेसम्म ठिक छ तर पछि यो परीक्षण गर्नुपर्छ भनेको थिएँ । उसको रोग कम भइरहेको थियो ।

अस्पतालमा भर्ना भएको विरामीलाई रोग अलि कम भए पछि केही दिन छुट्टीमा पठाउने चलन थियो । परिवारको रेखदेखमा रहने गरी जिम्मा लगाएर पठाइन्थ्यो । तर मलाई चाहिँ उसलाई छुट्टीमा पठाउने इच्छा थिएन । अलि खतरा थियो । परिचित नेताको छोरो, परिवारले जान्नेलाई देखाउन खोजेजस्तो लाग्यो, कर पनि गरे । हामीले एक हप्ताको छुट्टीमा पठाइदियौँ ।

विरामीको दिदी नर्स थिइन् । धेरै ज्वरो आयो, वान्ता, पखाला भयो भने औषधि बन्दै गरिदिनु भनेको थिएँ । नुनिलो खानेकुरा मन पराएन, दही चिनीसँग भात खान खोज्यो भने औषधिको मात्र बढी भएको लक्षण हो, ख्याल गर्नु । यस्तो अवस्थामा औाष्धि रोकिदिनु र अस्पताल ल्याउनु भनेको थिएँ ।

घर गएको भोलिपल्टै निकै ज्वरो आएछ तर औषधि कम गरेनछन् । मैले राम्रोसँग बुझाउन सकिन या बुझेनन् वा उनीहरुले यसतर्फ त्यति ध्यान दिएनन् त्यो भन्न सक्तिन । तर एक्कासी उसको स्नायु प्रणालीमा आघात पुग्यो, हात खुट्टा नै नचल्ने भयो । त्यसपछि मात्र अस्पतालमा खवर गरे । मैले,‘ औाषधि तुरुन्तै बन्द गर, लगनखेल अस्पतालमा राम्रो सुविधा नभएकोले शिक्षण अस्पताल लैजाउ, त्यहाँ साइकियाट्रिष्ट पनि छन् आइसियु पनि छ, डायलसिस सुविधा पनि छ’ भनेँ ।
त्यहाँ लगेर भर्ना गरेछन् । नर्स दिदीले, ‘किन यस्तो भयो ?’ भनेर डाक्टरलाई सोधिछन् जुन अस्वभाविक होइन । त्यहाँका सिनियर साइकियाट्रिष्टले, ‘डा विश्वबन्धुले दिएको गलत औषधिका कारण रियाक्सन भएको’ भनेछन् ।

खासगरी म काठमाडौ बाहिर गएका वेला मलाई नभेट्दा विरामीहरु ति डाक्टरकहाँ जाने गर्थे । कहिलेकहिँ चाहिँ विरामीलाई थप सेवा चाहिने भयो र म कार्यरत मानसिक अस्पतालमा त्यो सुविधा नहुँदा, वेड अभाव हुँदा शिक्षण अस्पताल रिफर गर्थेँ । त्यस्ता विरामी जाँदा पनि उनले मेरो विरुद्धमा विरामीसँग कुरा गर्ने गरेको विरामीहरुले सुनाउँथे । त्यहाँ गएका मेरा पुराना विरामी फेरि फर्किएर मलाई भेट्दा भन्ने गर्थे ।

हामीले चलाएको औाषधिले उक्त केटाको अरु अङ्गमा त केही क्षती गरेन, तर स्नायु प्रणालीमा चाहिँ नराम्ररी असर ग¥यो, हिड्नै नसक्ने भए । यस्तो अवस्थामा स्नायु प्रणाली विग्रिएपछि बोली लर्वरिन्छ, हातले राम्ररी काम गर्दैन, हिड्न पनि गाह्रो हुन्छ । उनको अवस्था पनि त्यस्तै भयो । पछि सम्म सायद त्यस्तै रह्यो ।
उपचार गर्दा क्षती भएको र अस्पतालमा मैले नै हेरेकोले नैतिक रुपमा जिम्मेवारी लिनुपर्छ । शतर्क भएर उनीहरुलाई सचेत गराउँदा पनि यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण हो ।

अरु औषधिले छोएन, शक लगाउन उहाँहरु मान्नु भएन । त्यसपछि उक्त औषधि चलाएको हो । रोग धेरै कम भएको थियो । अस्पतालमै राखेको भए ज्वरो आउनासाथ हामी औषधि बन्द गरिहाल्थ्यिौँ । घरमा उहाँहरुले त्यसको ख्याल गर्नुभएन । त्यसपछि त्यो परिवार मसँग केही भन्न आएन । अहिले भए विरामीहरु झगडा गर्न पनि आउँथे होलान् । मसँग चाहिँ उहाँहरुको सम्पर्क छुट्यो ।

पछि तीनै नेताका आफन्त मानसिक अस्पतालका अध्यक्ष भएछन् । मलाई थाहा थिएन । बोर्ड गठन गर्ने वेलामा डा शुरेन्द्रले सदस्यमा मेरो नाम पनि सिफारिस गरेछन् । तर अध्यक्षले मेरो नाम झिकिदिएछन् । त्यो त राम्रै गरे म मिटिङमा उपस्थित हुन पनि भ्याउने थिइन । तर पुरानो कुराले निर्णय गरेको सुन्दा नमज्जा भयो ।

मानिसमा इष्र्याको भावना हुन्छ । अल्फ्रेड नोवलले डाइनामाइट आविष्कार गरे । धेरै ठूलो उपलब्धी मानियो । तर यसले एकैचोटी धेरै मानिस मार्न सक्ने भएकाले उनी पछुताए । उनलाई अपराध बोध भयो ।

पछि उनले शान्तिका लागि पुरस्कार राखे । अरु विभिन्न विधामा पुरस्कार राखे । तर गणितको विषयमा राखेनन् । यसको कारण इष्र्या नै हो भनेर व्याख्या गर्नेहरु पनि छन् । अहिले पनि छैन गणितमा नोवल पुरस्कार ।

उनी स्वीडेनका हुन् । उनका समकक्षी स्वीडेनका प्रसिद्ध गणितज्ञ थिए । उनलाई जहिले पनि डाहा हुने । अलफ्रेड नोवलसँग कुरा नमिल्ने । मैले गणितमा राखेँ भने पहिले उसले नै पाउँछ भनेर यो विषयमा उनले पुरस्कार नै राखेनन् । नोवल पुरस्कार राख्नेको मनमा त त्यस्तो हुन्छ भने हाम्रो के कुरा गर्नु ? इष्र्या त भइहाल्दो रहेछ । मैले पनि पटकपटक अरुको त्यस्तो इष्र्याको अनुभव गरेको छु ।

छात्रबृत्तिमा सधैँ आफैँ

त्यसवेला निजी अस्पताल, निजी मेडिकल कलेज थिएनन्, अलिअलि क्लिनिकहरु चलेका थिए । विदेशबाट पढेर आएकाहरु अधिकांस सरकारी जागिर खाएर एक दुई वर्ष दुर्गममा वस्थे । तीन वर्ष पुगेपछि सरकारी कोटाको छात्रबृत्तिमा थप पढ्नका लागि विदेश जान योग्य हुन्थे ।

त्यसवेला धेरैजसो वेलायतमा जान्थे । पछि जर्मनी, भारत लगायत अन्य विभिन्न मुलुकहरुमा पनि जान थाले । लामो समयसम्म वेलायत र भारतमा नै धेरै पढ्न जान्थे । सरकारी छात्रबृत्तिमा पढ्न जाँदा तलव सहितको विदा पाइन्थ्यो । विश्व स्वास्थ्य संघको कोटामा परियो भने छात्रबृत्तिमा धेरै पैसा हुन्थ्यो ।

मानसिक अस्पतालमा काम थालेको तीन वर्ष पछि मैले पनि सुविधा पाउँथेँ, तर उपयोग गरिन । डा वि पी शर्मा भएका वेला म योग्य भइसकेको थिइन । पछि उहाँ रिटायर्ड भइसके पछिका निर्देशक जहाँ जे सिट आए पनि आफैँ जाने, कहिल्यै कसैलाई कतै पठाएनन्, सिफारिस पनि गरेनन् ।

त्यसपछिका निर्देशक पनि त्यस्तै, पाएसम्म आफँै जाने । जुनियर लाई पनि पठाउनुपर्छ भन्ने उनको दिमागमै नआउने । काम सवै जुनियरले धानेकै छन्, पाएसम्म एक दिनको तालिममा पनि आफैँ जाने ।

यस्तोसम्म भयो कि अघिल्लो दिन अष्ट्रेलियाको प्रोग्रामबाट आएर एक दिन नेपाल वस्ने तर अस्पताल नआई भोलिपल्ट नै जापान जाने । वार्ड ओपिडी चाहिँ अरुले धानदिनुपर्ने । मैले मानसिक अस्पतालमा १२ वर्ष जति जागिर खाँए, त्यसमा ९ वर्ष स्थायी रुपमा । तर सरकारी जागिरेका नाताले विदेशका नाममा मैले रक्सोल पनि टेकिन ।

मेडिकल एसोसिएसनमा काम गर्दा डाक्टर विजयलाल गुरुवाचार्यसँग सम्बन्ध भयो । उहाँ अलि रसिक टाइपको मानिस हुनुहुन्थ्यो । उमेर अन्तर भए पनि विचार मिल्थ्यो, उहाँले मलाई मायाँ गर्नुहुन्थ्यो ।

४६ सालको आन्दोलन सकिएपछिको अवस्थामा एड्सका केसहरु फाट्टफुट्ट देखिन थालेको थिए । उहाँ एड्स कन्ट्रोल प्रोजेक्टको निर्देशक हुनुभएको थियो । विश्व स्वास्थ्य संघको सहयोगमा स्थापित थियो । सो संस्थामा एउटा राम्रो डाक्टर लिन खोज्दै हुनुहुन्थ्यो । भविष्यमा सो संस्थामा काम लाग्ने मानिस भनेर उहाँले मलाई विचार गर्नुभएको रहेछ । म एकदम व्यस्त प्राक्टिसनर भइसकेको थिएँ भन्ने उहाँलाई थाहा रहेनछ ।

एक दिन उहाँले फोन गरेर बोलाउनु भयो । ‘तिमीलाई मैले एउटा छुट्टै क्यारियरका वारेमा सोचेको छु । एड्स भर्खरै शुरु भएको समस्या हो । नेपालमा भोली यो बढ्दै जान्छ, राम्रो मान्छेको हातमा यसको जिम्मेवारी जानुपर्छ, मैले तिमीलाई रोजेको छु । शुरुमा म तिमीलाई चार दिनको लागि एउटा उच्च स्तरको तालिममा पठाउँदै छु, मद्रासमा हुँदै छ,’ भन्नु भयो । ‘पाँच वर्ष काम गरेको, मेडिकल ग्राजुयट हुनुपर्ने र काउन्सिलिङ, साइको थेरापी, जनचेतना बढाउन सक्ने हुनुपर्ने भनेकाले तिमी एकदम उपयुक्त उमेद्वार हौे । यो तालिम एकदम राम्रो छ, दिनको पाँच सय डलर पनि आउँछ,’ भन्नु भयो ।

अर्को एक जना छालाको डाक्टर पनि छानिएका रहेछन् ।
म व्यक्तिगत विदा लिएर मद्रास गएँ । कार्यक्रम राम्रो रहेछ । मलेसिया, थाइलैण्ड श्रीलंकाबाट उच्च स्तरका सहभागीहरु आएका थिए ।
फर्केर आएपछि विहानैको भेटघाटमा अस्पतालमा मलाई ‘कहाँ जानु भएको थियो ?’ भनेर अस्पतालका बरिष्ठहरुले सोधे । ‘म एड्स सम्बन्धी गोष्ठिमा भाग लिन मद्रास गएको थिएँ’ भनेँ । ‘राम्रो थियो ?’ भने । मैले ‘म त यस्तो प्रोग्राममा पहिलोपटक गएको, राम्रो थियो,पैसा धेरै थियो, प्रति दिन पाँच सय डलर’ भनेँ ।

उनीहरुले यस वारेमा थप बुझेछन् । त्यही दिन उनीहरु दुवैजना मन्त्रालयमा झगडा गर्न गएछन् । एक दिन अस्पताल जाँदा उनीहरु दुवैजाना छलफल गर्दै रहेछन । हामी हुँदा हुँदै मन्त्रालयले किन जुनियरलाई पठायो भनेर विवाद गरिरहेको सुने ।
उनीहरु पटकपटक लामो समयका लागि विदेश गएका, दुई दुई पटक विश्व स्वास्थ्य संघको छात्रबृत्ति खाएको । त्यस्ता मानिसले एउटा सानो तालिममा आप्mनो जुनियर गएकोमा मन्त्रालयमा रडाको मच्चाए । यस्ता व्यक्तिले कहिँ अस्पतालको विकास गर्छन् ?

वास्तवमा मलाई मन्त्रालयले पठाएको पनि थिएन । मन्त्रालयले हामीले पठाएको होइन, हामीलाई पत्र आयो भने त सिधै तपाईँहरुकहाँ पठाइहाल्छौँ नि भनेछन् । तै पनि उनीहरुले निकै झगडा गरेको कुरा पछि मन्त्रालयका पदाधिकारीले मलाई सुनाएका थिए ।

डा गुरुवाचार्यले सहानुभूति राखेर मलाई तालिममा पठाउनु भयो तर आप्mनै सिनियरहरुले विरोध गरे । उहाँले पठाएको तालिममा भाग लिएर आए पछि विविध कारणले मैले सो क्षेत्रमा काम गर्न नसकेकोमा डा गुरुवाचार्यसँग माफी मागेँ । यो कुरालाई उहाँले पछि पनि सकारात्मक रुपमा स्मरण गर्ने गर्नु भएको थियो ।

जागिर छोड्ने निर्णय

२०४२ सालको अन्त्यतिर म लोकसेवा पास गरेर स्थायी भएँ । मानसिक अस्पताल लगनखेलमा नै नियुक्ती भयो । तीन वर्ष पुगेपछि अध्ययन विदा पाइन्थ्यो । मैले त्यो पनि लिइन । अहिलेको जस्तो सोच पनि थिएन । सरकारी सेवामा भएबापत कुनै पनि देश भ्रमण गर्ने अवसर भएन । वर्षमा तीन दिनभन्दा बढी विदा पनि लिएको सम्झिन्न । अरु कुनै सरकारी सुविधा पनि लिइन । स्थायी भएको चार वर्ष पछि २०४६ सालतिर सहायक सचिवमा बढुवा भयो । दरबन्दी त्यहीँ भएकाले मानसिक अस्पतालमा नै बसेँ ।

२०४९ सालतिर उपसचिवमा बढुवा भएपछि दरबन्दि त्यहाँ थिएन । पदस्थापनाका लागि अन्यत्र धेरै विकल्पहरु थिए । काठमाडौ बाहिर चाहिँ धेरैतिर दरबन्दि थियो । डा वि पी शर्माले पाँचवटा क्षेत्रीय अस्पतालमा प्रथम श्रेणीको र १४ वटा अञ्चल अस्पतालमा उपसचिव स्तरको दरबन्दिको व्यवस्था गराउनु भएको थियो । सवै खाली थिए ।

भरतपुर जिल्ला अस्पतालले विरामी चापको हिसावले अञ्चल अस्पतालस्तरको भूमिका निर्वाह गरिरहेको थियो । त्यहाँ पनि साइकियाट्रिष्टको दरबन्दी थियो । स्थानीय मानिसहरु र अस्पतालसँग मेरो राम्रो व्यक्तिगत सम्बन्ध भएकोले यसै अस्पतालमा म राम्रोसँग मानसिक सेवा चलाउन सक्छु भन्ने लाग्यो, त्यसैले म त्यहाँ जाने निर्णय गरेँ । अस्पतालको जग्गा पनि प्रसस्त भएकाले स्थानीय श्रोत र सरकारी बजेट जुटाएर मानसिक विभागको लागि छुट्टै भवन बनाउँछु, आफैँ पूरा समय खट्छु र मानसिक स्वास्थ्य सेवा राम्रो रुपमा चलाउँछु भन्ने लाग्यो । । मैले मन्त्रालयमा गएर ‘प्राइभेट प्राक्टिस नगरी दुई वर्ष पुरै अस्पतालको काम गर्छु, मलाई भरतपुर नियुक्ति दिनुस्’ भनेँ ।

मन्त्रालयका प्रशासकले ‘ठीक छ, धेरैतिर दरबन्दि खाली छ, जहाँ जानु भए पनि हुन्छ’ भने । म एक हप्ता पछि जान्छु एक हप्ता पछिको रवाना पत्र बनाइदिनु भनँे, उनले हुन्छ भने । भरतपुरतिर आप्mना साथीहरु र परिचि स्थानीयहरुलाई फोन गरेर आउँदैछु है भनेँ र म आप्mनो तयारीमा लागेँ ।

दुई तीन दिनपछि विहान सवा नौ बजेतिर लगनखेल अस्पताल पुग्दा मन्त्रालयको कार्यालय सहयोगी पर्खिरहेको देखेँ । अफिस खुलेको थिएन । ‘रवाना पत्र लिएर आएको’ भन्यो । ‘मैले आफैँ अर्को हप्ता आउँछु’ भनेको थिएँ । किन ल्याएको ? भनेँ । ‘मलाई आइतवार विहानै बुझाएर आउनु भनेर दिएको छ’ भन्यो ।

मैले पत्र बुझेँ र बाहिरै बसेर हेरेँ । मलाई धनगढी पो नियुक्ति गरिएको रहेछ । तुरुन्तै मन्त्रालय जाउँ जस्तो लाग्यो । डा धु्रबमान डाइरेक्टर भएकाले कुरा गरेर मात्र जान्छु भन्ने विचारले पर्खेँ । सवै विवरण बताएँ, कुनै वास्ता गरेनन् । मैले एकपटक फोन गरिदिनु न मन्त्रालयमा यो के भएको हो ? भनेँ । फोन गर्दा ‘यो मन्त्रीस्तरीय निर्णय हो परिवर्तन गर्न मिल्दैन’, जानै पर्छ भनेछन् । मलाई एउटा कुरा भनेर निर्णय अर्कै गरेकोले एकदमै चित्त बुझेन ।

पञ्चायत ढलेपछि प्रजातन्त्र आयो भनिएको थियो तर स्वतन्त्र भएर काम गर्न चाहने कर्मचारीलाई बातावरण सहज थिएन । म रसियामा १० वर्ष कम्युनिष्ट विचारधारका बीच वसेर आए पनि कुनै पार्टीको सदस्य बनेर सक्रिय बन्ने मेरो चाहना थिएन । कसले तयसरी निर्णय बदलेर मलाई अप्ठेरो पार्ने काम ग¥यो पछि सम्म थाहा पाउन सकिन ।

पञ्चायतकालको कर्मचारीतन्त्र अहिलेको भन्दा सहज थियो । अराष्ट्रिय तत्वको सूचिमा नपरेको कर्मचारीले आप्mनो विवेक प्रयोग गरेर काम गर्न सक्थ्यो । राजनीतिक कारणले जेल परेका नेताका छोराछोरीहरु पनि सरकारी जागिर पाएर, ठूलो पदमा पुगेर काम गरिरहेका थिए । जागिर खानकै लागि पञ्चायतमा लाग्नुपर्ने थिएन । आप्mनो आस्थालाई जोगाएर खुरुखुरु काम गरेमा पञ्चायतमा दुःख दिदैनथे । बरु बहुदलीय व्यवस्था आएपछि गाह्रो भयो । एउटा पार्टीतिर लाग्नुपर्ने, नेताको पछि लाग्नुपर्ने । लागेन भने पेल्ने, अवसरहरु नदिने स्थिति सिर्जना भयो ।
म सिनियर भइसकेकोले मकहाँ विरामीहरु बढी आउन थालेका थिए । यो अवस्थामा मलाई टाढा सरुवा गर्नुको मतलव अरु डाक्टरहरुको स्वार्थ पनि गाँसिएको हो कि जस्तो लाग्यो । म अरुको अधिनमा नवस्ने, खुरुखुरु काम गर्ने मानिस, सरकारी सेवामा टिक्न गाह्रो होला जस्तो भएपछि आफैँ केही गर्छु भेनर राजिनामा दिने निर्णयमा पुगेँ ।

सरकारी जागिर भनेको म र सरकारका वीच सम्झौता हो, सरकारले एकोहोरो लादेको निर्णय म किन मान्ने ? भन्ने भयो । छात्रबृत्ति पढेको नाताले पाँच वर्ष काम गर्नुपर्ने हो, गरिसकेको थिएँ । मैले त्यही दिन राजिनामा पठाईदिएँ । मेरो राजिनामा स्वीकृत नै भएन । लामो समय त्यसै रह्यो, म पनि गइन ।

म धनगढीमा हाजिरै नभई वीरगञ्ज सरुवा गरिदिएछन् । तर त्यहाँ पनि गइन । पछि डा भरत प्रधान स्वास्थ्य राज्यमन्त्री भएका वेला उनले जागिर थमाएर काठमाडौ सारिदिन्छु भनेका थिए, तर मैले चाहिन,राजिनामा स्वीकृत गरिदेऊ भनेँ । स्वीकृत भयो ।

(लेखक वरिष्ठ मनोरोग विज्ञ हुन् । यो अंश हामीले उनको नयाँ पुस्तक ‘मान्छेको मन’बाट लिएका हौँ । )