इक्यानले दियो संस्थाका नयाँ सदस्यहरूलाई अभिमुखीकरण तालिम

काठमाडौं । शैक्षिक परामर्श संघ (इक्यान) ले २३ औं वर्षगाँठको अवसरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । स्थापना कालदेखि नै नेपालमा शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित एवम् पारदर्शी बनाउँदै आएको इक्यानले संस्थाका नयाँ सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

सोही अवसरमा नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई सम्मान गर्ने कार्यक्रम थियो । तर आइजीपी खनालको व्यस्तताको कारण सम्मान कार्यक्रम स्थगित गरिएको छ । कार्यक्रममा इक्यान अध्यक्ष विष्णुहरि पाण्डे, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पूर्व अध्यक्ष दिपक गुरुङ,मादमे खोला हाइड्रोपावरका अध्यक्ष सुसान कर्माचार्य, कार्यकारी निर्देशन तमबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा इक्यानका सल्लाहकार देवीदास भट्टराईले कार्यक्रम तथा इक्यानबारे प्रकाश पारेका थिए । एक वर्षको अवधिमा नयाँ सदस्य बन्न चाहनेहरूको संख्या बढिरहेको उनको भनाइ छ । इक्यानले करियर कन्सिलर, भाषा सम्बन्धीतालिम, विदेशी कलेजबारे जानकारी दिनेजस्ता काम गर्दै उनले बताए । इक्यान सदस्यहरूले गल्ती गरेमा कुनै माफी नदिइने उनको भनाइ छ ।

सुनिता था श्रेष्ठले कार्यक्रममा सहभागीहरूलाई अभिमुखीकरण दिएकी थिइन् । विश्वका २१ लाख बढी विद्यार्थीहरू एक देशबाट अर्कोदेखिमा अध्ययन गर्न जाने गरेको एक तथ्यांकले देखाएको छ । नेपालबाट पनि विदेश पढ्न जाने विद्यार्थीको संख्या वर्षेनी बढ्दै गएको छ ।

नेपालबाट सबैभन्दा बढी विद्यार्थी अस्टे«लिया पढ्न जाने गरेका छन् । सबैभन्दा बढी नेपाली विद्यार्थी पढ्न जाने देशहरूको सूचीमा दोस्रोमा भारत, तेस्रोमा अमेरिका, चौथौमा जापान, पाचौंमा फिनल्याण्ड, छैठौंमा यूके, सातौंमा न्यूजिल्याण्ड, आठौंमा दक्षिण कोरिया, नवौंमा साउदी अरब र दशौंमा नर्बे रहेका छन् ।

कार्यक्रममा बोल्दै इक्यान अध्यक्ष विष्णहरि पाण्डेले कन्सल्टेन्सीहरूको बदमासीका कारण इक्यानमाथि थुप्रै च्यालेन्ज आउने गरेको बताए । कन्सलटेन्सीहरूले गैरकानुनी प्रक्रियाबाट विदेश अध्ययनको लागि लैजाने र समस्या पर्दा इक्यानले समाधान गर्दै आएको उनको भनाइ छ । कन्सल्टेन्सी व्यवसाय नेपाली नागरिकहरूले मात्र गर्न पाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो । यस व्यवसायमा थुप्रै च्यालेन्जहरू रहेको भन्दै अध्यक्ष पाण्डेले त्यसको सामना गर्दै अघि बढिरहेको बताए ।