सुन्दरबजारमा नमुना मतदानः आठ प्रतिशत मत बदर

सुन्दरबजारमा नमुना मतदानः आठ प्रतिशत मत बदर


जिल्ला निर्वाचन कार्यालयले सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीमा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाका आठबटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार सुन्दरबजार नगरपालिकामा भएको बताइएको छ ।

मतदानको क्रममा नगरपालिकाको वडा नं. ६ खत्रीठाँटीस्थित शान्ति निकेतन प्राथमिक विद्यालयको छेउछाउमा प्रहरीहरु राखिएका थिए । म्यादी प्रहरीहरुले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमूना गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो। लाईनमा केही मानिसहरुलाई राखेर मतदान गर्न लगाइएको थियो । पालैपालो उनीहरुले डोरी टाँगिएको लाईनको घेराबाट गएर मतपेटिकामा मत खसालेका थिए ।

नमुना मतदानमा मतदान कसरी गरिन्छ भन्ने समेत जानकारी गराइएको थियो । उक्त कार्यक्रममा मतदान प्रक्रियाको लागि ३४ जना महिला र ४१ जना पुरुष गरी ७५ जना सहभागी भएका थिए। उनीहरुले दिएका मतमध्ये ८ मत पूर्ण रूपमा बदर भएका थिए। मतदाताले विभिन्न चारबटा मतपत्रमा आफूले रोजेको चिन्हमा छाप लगाएर मतदान गरेका थिए । मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनावचिह्नमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन समेत सिकाइएको थियो । यसैगरी निर्वाचनको क्रममा हुने समस्या र समाधानको उपायबारे समेत जानकारी दिनुका साथै अभ्यास गराइएको थियो ।

कार्यक्रममा नगरपालिका प्रमुख कृष्ण प्रसाद कोइराला र उपप्रमुख भवानी केसी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटा, वडा नं.५ र ६ का वडा अध्यक्षहरु श्रीकाजी गुरुङ र दिनेश बाबु कोइराला, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति थियो।

स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए।

जिल्लाका आठबटै पालिकामा आज नमूना मतदान कार्यक्रम सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए। सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन्। जसमध्य सुन्दरबजार नगरपालिकामा २९ मतदान केन्द्र रहेका छन् । जसमा २१ हजार १ सय ३८ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन्। लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन्।

Skip This
Logo