अमनलाल मोदीको घरदैलोमा महेश आचार्य पनि

अमनलाल मोदीको घरदैलोमा महेश आचार्य पनि


नेपाली कांग्रेसका नेता महेश आचार्य मोरङ- ४ बाट प्रतिनिधिभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा हिँडेका छन् ।

गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीलाई मत मागेका हुन् ।

२०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका पूर्वमन्त्री आचार्य मोरङ- ४ बाट प्रतिनिधिसभा सदस्य टिकटको दाबेदार थिए । तर, सत्तारुढ गठबन्धनमा भागवण्डा हुँदा मोरङ- ४ माओवादी केन्द्रले पायो ।

माओवादी केन्द्रले टिकट पाएपछि आचार्य चुनावी सभाहरूमा देखिएका थिएनन् । बिहीबारबाट भने उनी चुनावी अभियानमा हिँडेका हुन् । विराटनगर-८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको  रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।

मोदीलाई जिताउने अभियानमा आचार्य पनि सक्रिय सहभागी भएसँगै उनको पक्षमा अझ मजबुत रूपमा चुनावी माहोल बनेको माओवादीका नेता-कार्यकर्ताहरूले जनाएका छन् ।

मोरङ- ४ मा एमालेबाट उम्मेदवार बनेका विनाद ढकालले पनि घरदैलो अभियान गरिरहेका छन् ।

Logo